पश्चिम क्षेत्रको प्रमुख व्यापार केन्द्र बुटवलमा नेपाली कांग्रेसले ३० वर्षअघिको सम्झना दिलाउने गरी मतपरिणाम ल्याइरहेको छ।
यसअघि २०४९ सालमा कांग्रेसले सूर्यप्रसाद प्रधानको नेतृत्वमा मेयर र उपमेयरसहित १२ वटा वडा जितेको थियो। १५ वटा वडा रहेको बुटवलमा त्यो बेला एमालेले तीन वटा वडा मात्रै जितेको थियो।
२०५४ सालमा भोजप्रसाद श्रेष्ठको नेतृत्वमा एमालेले कांग्रेसको स्थानीय सत्ता उल्ट्याइदियो र १२ वटा वडा जित्यो।
त्यसपछि २० वर्षसम्म स्थानीय निर्वाचन भएन।
२०५६ को संसदीय निर्वाचनमा बुटवल क्षेत्रबाट कांग्रेस निर्वाचित भयो। त्यसपछिका संसदीय निर्वाचनमा भने एमालेले सधैं जित्यो र बुटवललाई 'लालकिल्ला' बनायो।
२०६४ र २०७० सालका संविधानसभा निर्वाचन तथा २०७४ का स्थानीय, प्रदेश र संघीय तीनैवटा निर्वाचनमा एमालेले बुटवलमा विजय हासिल गर्यो।
त्यो लालकिल्ला २० वर्षपछि यसपालि कांग्रेसले तोड्ने सम्भावना प्रबल देखिएको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर नगरप्रमुख बनेका थिए। नेपाली कांग्रेसका खेलराज पाण्डे २ हजार ३ सय ९८ मतले पराजित भए। उनले त्यतिखेर २० हजार ८ सय ५१ मत ल्याएका थिए।
यसपालि पनि कांग्रेसबाट पाण्डेले नै बुटवलको मेयर टिकट पाए। अहिलेसम्मको गणना हेर्दा पाण्डेले ठूलो मतान्तरसाथ अग्रता लिइरहेका छन्। एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराईभन्दा उनी ५ हजार मतले अगाडि छन्।
दुई दशकदेखिको लालकिल्लामा यसपालि एमाले किन कमजोर परेको छ? पाण्डे कसरी कांग्रेसलाई ठूलो अग्रता दिलाउन सफल भए? यहाँको निर्वाचन परिणामलाई के-के फ्याक्टरले प्रभाव पारेको छ?
यिनै प्रश्नको उत्तर खोज्न सबभन्दा पहिले मतगणना सम्पन्न भएका वडाहरूको परिणाम हेरौं।
जम्मा १९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १२ वटा वडा (१, २, ३, ४, ५, ६, ७, १५, १६, १७, १८ र १९) को गणना सकिएको छ। वडा नम्बर १४ को गणना भइरहे पनि अन्तिम परिणाम आउन बाँकी छ। अब मतगणना हुन बाँकी वडा ८, ९, १०, ११, १२ र १३ छन्।
कुल ९० हजार ६५ मतदाता रहेको बुटवलमा ६२ हजार ९ सय ७५ मत खसेको थियो।
गणना सम्पन्न भएका १२ वटा वडाहरूको २७ हजार ५ सय ५७ मतगणना हुँदा नेपाली कांग्रेसका पाण्डे १५ हजार ५ सय ५८ मत ल्याएर अगाडि छन्। एमालेका भट्टराई ५ हजार १३ मतले पछाडि छन्। भट्टराईले १० हजार ५ सय ६७ मत पाएका छन्। जबकि एमालेकी उपमेयर उम्मेदवार सावित्रा अर्यालले ११ हजार ७ सय २५ मत ल्याएकी छन्।
मतगणना सकिएका वडाहरूबाट २०७४ को चुनावमा मेयर चुनिएका एमालेका शिवराज सुवेदीले १२ हजार ४ सय ३७ मत पाएका थिए। यी वडामा सुवेदीले भन्दा अहिलेका एमाले उम्मेदवार भट्टराईले दुई हजार भोट कम ल्याएका छन्।
यिनै वडामा अघिल्लोपटक पाण्डेले १२ हजार २ सय ९४ मत पाएका थिए। अघिल्लोपटकको तुलनामा यसपालि उनले यहाँ ३ हजार २ सयभन्दा बढी मत बढाएको देखिन्छ।
कतिपय वडामा दुवै पार्टीको मत घटेको पनि छ।
वडा नम्बर १ मा एमाले पहिलेदेखि नै कमजोर मानिन्थ्यो। अघिल्लो निर्वाचनमा ५ सय ९४ मत मात्रै ल्याएको थियो। यसपालि झनै कम ३ सय ४० ल्यायो। पाण्डेले पनि यो वडामा कम मत ल्याए। पहिला ९ सय ७७ मत पाएका उनले यसपटक ८ सय ४३ मात्र पाए।
वडा नम्बर १ मा मतपरिणाम घटाएको एमालेले वडा नम्बर २ बाट मतसंख्या थपिने आशा गरेको थियो। तर त्यहाँबाट पनि अघिल्लो निर्वाचनभन्दा धेरै कम मत आयो।
त्यो बेला २ हजार १७ मत प्राप्त गरेकोमा यसपटक जम्मा ७ सय ५१ मत प्राप्त गर्यो। यो वडामा पाँच वर्षअघि कांग्रेसले १ हजार ६ सय १० मत ल्याएको थियो। अहिले १ हजार २ सय १८ मत आएको छ।
यसरी दुवै प्रमुख पार्टीले कतिपय वडामा कम मत ल्याउनुको प्रमुख कारण हो, बुटवलमा यसपालि राप्रपाको उपस्थिति।
राप्रपाका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले अहिलेसम्म २ हजार ६ सय ४० मत प्राप्त गरेका छन्। उनले कांग्रेस र एमाले दुवै प्रमुख दलबाट मत तानेका छन्। कांग्रेसको तुलनामा उनले एमालेको मत धेरै काटेको देखिन्छ।
चुनावको दस दिनअघि सेतोपाटीले बुटवलका विभिन्न ठाउँका ८० जना मतदातासँग कुरा गरेको थियो। ती मतदातामध्ये राप्रपालाई मत दिन्छु भन्ने ७ जनाले गएको स्थानीय चुनावमा एमालेलाई मत दिएको बताएका थिए। त्यस्तै ६ जनाले कांग्रेस र ४ जनाले अघिल्लोपटक पनि राप्रपालाई नै मत दिएको भनेका थिए।
हामीले कुराकानी गरेकामध्ये सबभन्दा धेरै अर्थात ३१ प्रतिशतले कांग्रेसलाई मत दिने बताएका थिए भने २६ प्रतिशतले एमाले उम्मेदवारलाई भोट दिने बताएका थिए। २१ प्रतिशतले राप्रपा उम्मेदवार शेरचनलाई मत दिने बताएका थिए।
हामीसँगको कुराकानीमा अघिल्लोपटक एमालेलाई मत दिएका केही मतदाताले यसपालि कांग्रेसलाई दिन्छु भनेका थिए। जबकि २०७४ मा कांग्रेसलाई मत दिएका एकदमै थोरै मतदाताले मात्र यसपालि एमालेलाई दिने बताएका थिए।
यसरी अघिल्लोपटक एमालेलाई गएको मतको ठूलो अंश यसपालि कांग्रेस र राप्रपालाई गएपछि एमालेको 'लालकिल्ला' भत्किने सम्भावना प्रबल बनेको हो।
मतदाताले एमालेबाट टाढिने निर्णय किन गरे त?
पहिले एमालेलाई दिएर अहिले कांग्रेसलाई भोट दिन्छु भन्ने एक मतदाता वडा नम्बर ११ का पुरकबहादुर क्षत्री हुन्।
उनी स्याङ्जाबाट बुटवल झरेको २० वर्षभन्दा बढी भइसकेछ। बुद्धनगरमा उनको घर छ तर जग्गाको लालपुर्जा छैन। उनको सपना नै मर्नुअघि आफ्नो नाममा जग्गाको लालपुर्जा होस् भन्ने छ। स्थानीय होस् कि संसदीय निर्वाचन, उनको यही सपनासँग खेल्दै भोट माग्न आइपुग्छन् नेताहरू।
पुरकबहादुरले पनि एक टुक्रा लालपुर्जाको सपनासँग भोट साटेको कयौं वर्ष भइसक्यो। यसअघिको चुनावमा लालपुर्जा बनाइदिन्छौं भन्दै एमाले मेयरले भोट लगेको उनी बताउँछन्। अहिले भने उनले मन फेरेका छन्।
'अघिल्लोचोटि भोट माग्दा सुकुम्बासी बस्तीमा बसोबास गर्नेलाई लालपुर्जा बनाइदिन्छौं भन्यो, अहिलेसम्म बनाइदिएको छैन। बाटो बनाइदिन्छौं भन्यो, देखिहाल्नुभयो बाटो कस्तो छ। पहिला त उसका कुरा पत्याएर भोट हालियो। अब उसलाई नदिने। यसपालि कांग्रेसलाई भोट दिने हो,' उनले भनेका थिए।
त्यही वडाका सोम रोकाले पनि पहिले एमालेलाई भोट दिएको र अब कांग्रेसलाई दिने सोच बनाएको बताएका थिए।
'अध्यक्ष प्रचण्डले देखाएको सपनाको पछाडि लागियो। २०६४ र २०७० सालमा माओवादी केन्द्रलाई नै भोट हालियो। तर चुनाव जितेपछि प्रचण्डले पनि सबै कुरा बिर्सिए। जनयुद्धको समयमा देखाएका सपना सबै झूट रहेछन्,' उनले भने, '२०७४ सालमा एमालेलाई दिएँ, उसले पनि केही गरेन। यसपालि त कांग्रेसलाई दिने हो।'
गठबन्धनका कारण पनि आफूहरू अप्ठ्यारोमा परेको एमाले नेताहरू बताउँछन्।
यसअघिको स्थानीय चुनावमा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो।
त्यतिखेर माओवादीले उपमेयर पाएको थियो। त्यतिखेर माओवादीका उपमेयर उम्मेदवार जगतबहादुर पोखरेलले १४ हजार ७ सय ९२ मत पाएका थिए। ति कतिपय कांग्रेसकै मत पनि हुन सक्छन्। त्यही पनि कांग्रेसका मेयर र माओवादीका उपमेयरले पाएको मत जोड्ने हो भनेपनि ३५ हजार ६ सय ४३ हुन्छ। त्यसमाथि बुटवलमा अहिले सत्तारूढ गठबन्धनका पाँचदलको तालमेल हुने भयो। त्यसले एमालेलाई अप्ठ्यारोमा पार्ने पक्कै थियो। त्यसमाथि एमाले फुटको असर पनि यहाँ थोरबहुत देखिन्छ। एमालेको एउटा पंक्ति फुटेर एकीकृत समाजवादीमा गएको छ। गठबन्धनबाट बुटवलका उपमेयर उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरूङले पछिल्लो मतपरिणाम अनुसार ८ हजार ६ सय १७ पाएका छन्।
यसरी राप्रपाले बुटवलमा बढाएको प्रभाव र गठबन्धनको संयुक्त तागतले एमालेलाई अप्ठ्यारोमा पार्यो नै, एमालेका मेयरले राम्रो काम गर्न नसकेको असर पनि अहिलेको चुनावमा पर्यो।
चुनावअघि हामीले भेटेका कतिपय मतदाताले त्यो असन्तुष्टि पोखेका थिए। उनीहरूले एमालेका मेयरले बाचाअनुसार छ लेनको बाटो नबनाएको, नगरमा धुलोधुवाँ खेप्नुपरेको, सुकुम्बासी समस्या हल नभएको, कोभिड बेला भेदभावपूर्ण व्यवहार गरेको जस्ता गुनासो गरेका थिए।
नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी भने बुटवलमा एमालेको परिणाम किन यस्तो आयो भन्नेबारे अहिले नै भन्न नसकिने बताउँछन्।
केसीले बुटवलमा अहिले पनि एमाले सबभन्दा बलियो शक्ति रहेको दाबी गर्दै निर्वाचन परिणाम किन यस्तो आयो भन्नेबारे गणना सकिएपछि गम्भीर समीक्षा गर्ने बताए।
'अहिले पनि एमाले बलियो शक्ति नै छ तर हामीले पार्टी पंक्तिलाई अझै प्रशिक्षित गर्न सकेनौं कि भन्ने लाग्छ। अरू त निर्वाचनको समग्र मतपरिणाम आएपछि समीक्षा गरेर मात्र भन्न सकिएला,' उनले भने।
एमालेकै कतिपय कार्यकर्ताले पार्टीमा मेयरको टिकट दिँदा नेतृत्वले सही निर्णय गर्न नसकेको र त्यसको प्रभाव निर्वाचनमा देखिएको तर्क गरेका छन्।
एमालेनिकट नेपाल राष्ट्रिय वाणिज्य संघका सचिव अर्जुन आचार्यले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए, 'हामी बुटवलमा हाम्रो पूर्वमेयरको लापरबाहीका कारण हार्दैछौं। प्रदेशको राजधानी सारेकाले हार्दैछौं। पार्टीका महासचिवले जनाधार नभएको उम्मेदवार सिफारिस गरेकाले हार्दैछौं।'