रूपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन्।
नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हिरा खत्रीलाई १६२० मत अन्तरले हराएका हुन्।
खरेलले १२ हजार ९४३ मत पाउदा केसीले ११ हजार ३२३ मत प्राप्त गरे।
खरेलसँग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरि नगरप्रमुख निर्वाचित भएका थिए।
त्यसैगरी नगर उपप्रमुखमा पनि नेकपा एमालेकै विद्यालक्ष्मी गुरूङ निर्वाचित भएकी छन्। गुरूङ पनि २०७४ सालमा उपप्रमुख निर्वाचित भएकी थिईन्। गुरूङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी छन्।
४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरूङले १३ हजार ७८४ मत पाउँदा गिरीले ७ हजार २९० मत पाईन्।
नगरप्रमुखमा निर्वाचित खरेल सामाजिक र राजनीतिक रूपमा देवदहमा सक्रिय मानिन्छन्। लामो समयदेखि रूपन्देहीको राजनीतिमा सक्रिय खरेल २०२२ साल वैशाख २१ गते गुल्मीको आँपचौरमा जन्मेका हुन्।
२०३६ सालदेखि वर्गीय मुक्ति र परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा लागेका खरेल विभिन्न जनवर्गीय सङ्गठन र पार्टी कमिटीमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
२०५३ सालमा गुल्मीबाट बसाई सरेर रूपन्देहीको देवदहमा बसोवास गर्न थालेका खरेल त्यस यता देवदहमा राजनीतिक रूपमा सक्रिय रहँदै आए। उनी हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन्।
राजनीतिमा सक्रियतासँगै खरेलको विद्यालय र सहकारी जस्ता सामाजिक संघ संस्थाहरुमा समेत नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव छ।
उनले कोलीय देवदह साकोसको संस्थापक सदस्य, लुम्बिनी सामुदायिक टेलिभिजनको सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, मायादेवी इन्भेस्टमेन्ट कम्पनीको अध्यक्ष र देवदह आदर्श वहुमुखी क्याम्पसको अध्यक्ष रही जिम्मेवारी निर्वाह गरिसकेका छन्।