जुम्लाको चन्दननाथ नगरपालिकामा अहिले मेयरको विजय जुलुस चलिरहेको छ। २०७४ को चुनावमा चन्दननाथमा कांग्रेसकी कान्तिका सेजुलवालले मेयर जितेकी थिइन्। त्यतिबेला विजय जुलुसमा सहभागी कांग्रेसीहरू यसपालि सहभागी हुन पाएका छैनन्। किनकी मेयर जितेका राजुसिंह कठायत कांग्रेका बागी उम्मेदवार हुन्।
उनले कांग्रेसलाई नै हराएर मेयर जितेका छन्। यसपालिको चुनावमा कांग्रेसको आधिकारिक उम्मेदवारलाई हराएर चुनाव जित्ने उनी पहिलो व्यक्ति हुन्।
अन्तिम मतपरिणाम अनुसार धारो चुनाव चिन्ह पाएका कठायतले २४०३ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी कांग्रेसका पदमबहादुर शाहीले २३४१ मत पाएका छन्। उपमेयरमा भने कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन्।
कठायत पञ्चायतकालीन मन्त्री अदनसिंह कठायतका छोरा हुन्। नागरिक उड्ययन मन्त्री बनेका अदनसिंहले जुम्लामा विमानस्थल बनाउन आफ्नै जग्गा उपलब्ध गराएका थिए। अस्पतालदेखि रंगशाला बनाउनसम्म कठायत परिवारले योगदान गरेको छ। त्यसैले चन्दनाथको राजनीतिमा कठायत परिवारको आफ्नै हैसियत छ।
ठेक्कापट्टाको काम पनि गर्ने राजुसिंह स्वतन्त्र बनेर चुनाव जितेको भने यो पहिलो पटक होइन। २०४६ सालमा बहुदल आएपछि उनको परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीमा लाग्यो। २०५४ को स्थानीय चुनाव राजुसिंह वडाध्यक्ष लड्न चाहन्थे तर पार्टीले उनलाई टिकट दिएन।
‘त्यसपछि उहाँ स्वतन्त्रबाट लड्नुभयो र चुनाव जित्नुभयो,’ राजुसिंहका भतिजा महेशसिंह कठायतले सेतोपाटीसँग भने।
वडाध्यक्ष बनेको केही वर्षपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरे। २०७४ को चुनावमै राजुसिंह चन्दननाथको मेयर उठ्न चाहन्थे। त्यतिबेला पार्टीले उनलाई टिकट दिएन। कान्तिका सेजुवाल उम्मेदवार बनिन् र निर्वाचित भइन्। उनी स्वर्गीय नेता मानव सेजुवालकी श्रीमती हुन्।
यसपालि पनि जिल्ला कार्यसमितिले चन्दननाथको मेयरमा राजुसिंहको नाम पहिलो नम्बरमा थियो। प्रदेश कमिटीले राजुसिंहलाई टिकट दिएन। कर्णाली प्रदेश सभापति ललितजंग शाहीनिकट पदमबहादुर शाहीले टिकट पाए।
‘उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभयो,’ महेशसिंहले भने,‘ उम्मेदवारी दर्तापछि उहाँलाई पार्टीका नेताहरूले फकाउन खोज्नुभयो तर उहाँले यसपालि मेरो जनमत देखाइदिन्छु भनेर छोड्नुभएन।’
पारिवारिक विरासतसँगै आफ्नो मेहनतका भरमा राजुसिंहले चुनावी अभियान थाले। चन्दननाथमा एमाले र माओवादी पनि मेयरमा उठेका थिए। नेकपा (एकीकृत समाजवादी) ले राजुसिंहलाई साथ दियो।
उपमेयरमा एकीकृत समाजवादीका भीमबहादुर थापा भने पराजित भएका छन्।