स्थलगत
ठूलो पुलमुनि बगर मात्रै थियो।
'खै खोला?'
'सुक्यो'
'खै त किनार?'
'बस्तीले खायो'
हामी एकछिन प्रश्नोत्तर खेलेझैं भयौं।
बुटवल बजारको बीचबाट बग्ने तिनाउ खोला सुकेकै त रहेनछ। माथि चुरेबाट बगेर आएका ढुंगागिटी निकाल्न नपाएपछि खोलाभन्दा माथि आइपुगेका रहेछन्। सरकारले रोकेकाले निकाल्न नमिलेको यहाँका अधिकारीहरू बताउँछन्।
अहिले सुके पनि तिनाउ खोला बर्खामा गडगडाउँदै आउँछ। किनारमा रहेका बस्तीतिर पस्न पनि बेर लगाउँदैन।
खोलालाई बग्न नपाएर सास्ती, मान्छेलाई खोलाले डुबाउँछ कि भन्ने पिर!
यो बुटवलको एउटा मुख्य समस्या हो।
अर्को समस्या पनि छ। खोलाका दुवै किनारमा सुकुम्बासी बस्ती छन्। कतै कतै त खोलाको बीचबाटै बस्ती उठेको भनेर हामीले नै कयौंपटक समाचार लेखिसक्यौं। ती बस्तीमा विभिन्न ठाउँबाट आएर वर्षौंदेखि बसोबास गरेका मानिसहरू छन्।
गत साता स्थानीय चुनावको माहोल हेर्न गएका बेला हामी यहाँका स्थानीयसँग कुरा गर्न चाहन्थ्यौं। पुल कट्नेबित्तिकै बुद्धनगर आयो। पुलछेवै वरपिपल चौतारी, बाटोभरि अटो रिक्सा र किनारमा फलफूल अनि पानीपुरी पसल चलाइरहेका महिला, पुरूष थिए।
हामी चौतारीमा उक्लियौं। बायाँपट्टि दुई वृद्ध पुरूष र दायाँपट्टि ४० वर्ष हाराहारीका महिलाबीच बसेर चुनावी गफ सुरू गरियो।
चुनावी रौनकले उनीहरूलाई छोइसकेजस्तो लागेन। चौतारीमा शितल खोज्दै आएकी ज्ञानु यो चुनावमा त्यति बढी उत्साही छैनन्। यसअघिको चुनावमा त यतिञ्जेल उनी र्यालीमा हुन्थिन्। यसपालि भने उनका केही साथीहरू कांग्रेसतिर लागे, उनलाई चाहिँ न कांग्रेसमा जान मन लाग्यो न साथीहरूबिनाको एमाले र्यालीमा।
'हामी त एमाले भएर हिँडियो जवानीदेखि। झन्डा कम्ता बोकेनम्। भोट पनि यताउता नगरी सातै छाप सूर्यमै हालेको हो। यसपालि अब पुग्यो भनेर झन्डा बोक्न छाडियो। सधैं पार्टीको झन्डा बोकेर हिँड्ने वरिपरिका साथीभाइले कांग्रेसलाई दिनुपर्छ भनेका छन्,' उनले भनिन्, 'मेरो मनले भने अहिलेसम्म कांग्रेसलाई भोट हाल्न मानेको छैन। तै पनि पछि के हुन्छ हेरौं।'
छेउमा बसेकी उनकी साथी भने म त हलोलाई दिने हो भन्दै उठिन्।
यति कुरा गरेर उनीहरू दुवै गए। त्यसपछि हामीले चौतारीमा सुस्ताइरहेका पुरकबहादुर क्षत्रीलाई सोध्यौं, 'भोट हाल्न जाने होइन त? कसलाई हो भोट दिने?'
पुरकबहादुर स्याङ्जाबाट बुटवल झरेको २० वर्षभन्दा बढी भइसकेछ। बुद्धनगरमा उनको घर छ, तर जग्गाको लालपुर्जा छैन। उनको सपना नै मर्नुअघि आफ्नो नाममा जग्गाको लालपुर्जा होस् भन्ने छ। स्थानीय होस् कि संसदीय निर्वाचन, उनको यही सपनासँग खेल्दै भोट आइपुग्छन् नेताहरू।
पुरकबहादुरले पनि एक टुक्रा लालपुर्जाको सपनासँग भोट साटेको कयौं वर्ष भइसक्यो। यसअघिको चुनावमा लालपुर्जा बनाइदिन्छौं भन्दै एमाले मेयरले भोट लगेको उनी बताउँछन्। अहिले भने उनले मन फेरेका छन्।
'अघिल्लोचोटि भोट माग्दा सुकुम्बासी बस्तीमा बसोबास गर्नेलाई लालपुर्जा बनाइदिन्छौं भन्यो, अहिलेसम्म बनाइदिएको छैन। बाटो बनाइदिन्छौं भन्यो, देखिहाल्नुभयो बाटो कस्तो छ। पहिला त उसका कुरा पत्याएर भोट हालियो। अब उसलाई नदिने। यसपालि कांग्रेसलाई भोट दिने हो,' उनले भने।
बुटवलको सुकुम्बासी बस्ती। तस्बिर: भगवती पाण्डे/सेतोपाटीउनको छेवैमा बक्का बालकृष्ण थापाले पनि कांग्रेसलाई भोट हाल्ने मन बनाएका रहेछन्। खासमा उनी माओवादी हुन् तर उनले भोट हाल्ने गरेको दल माओवादीले यसपालि कांग्रेसको मेयरसँग गठबन्धन गर्यो।
'पहिला आफूले भोट हाल्ने पार्टीले गठबन्धन गरेपछि कांग्रेसलाई नै भोट दिनुपर्यो,' उनले भने।
पार्टीले गठबन्धन गरेकोमा उनी खासै रिसाएका भने छैनन्।
चौतारीछेउ पानीपुरी पसल थापेर बसेकी कुन्ता अर्याल पहिल्यैदेखि एमाले हुन्। एमालेले बाटो र पुल बनाउँछ, विकास गर्छ भन्ने उनलाई विश्वास छ।
'मैले आजसम्म चारचोटि भोट हालेँ। चारैचोटि एमालेलाई। अहिले पनि अन्त भोट हाल्दिनँ,' उनले भनिन्, 'हुन त राजनीति गर्नेहरूले चुनाव बेला ठूल्ठूला कुरा गरिहाल्छन् तर पछि बिर्सिन्छन्। एमालेले भने बाटो बनाउँछ, पुल बनाउँछ। सानातिना काम त गरिरहेकै छ। त्यसैले यसपालि पनि भोट दिने उसैलाई हो।'
बुटवलको चुनावी मैदानमा यसपालि सत्तारूढ गठबन्धनका पाँच दल मिलेका छन् भने एमाले एक्लै भिडिरहेको छ। सेती अस्पतालका अध्यक्ष भएर काम गरेका बाबुराम भट्टराई यहाँ एमालेबाट मेयर उम्मेदवार बनेका छन्।
यसअघि यहाँ एमालेका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत ल्याएर मेयर जितेका थिए। अहिले मेयरमा जित्न एमालेले अझ बढी भोट ल्याउनुपर्ने देखिन्छ। एक त मतदाता बढेका छन्। अर्कातर्फ, सत्तारूढ पाँचदल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेका छन्।
गठबन्धनबाट नेपाली कांग्रेसले यसअघि नै बुटवलको मेयर पदमा पराजित खेलराज पाण्डेलाई फेरि मौका दिएको छ। त्यति बेला उनले २० हजार ८ सय ५१ मत ल्याएका थिए। उनी २ हजार ३ सय ९८ मतले सुवेदीसँग पराजित भए।
बुटवलवासीहरू यी दुईबीच कडा टक्कर हुने बताउँछन्।
गत साता हामीले बुटवल उपमहानगरका ८० जना मतदातासँग गरेको कुराकानीले पनि उनीहरूबीच नै प्रतिस्पर्धा हुने देखाउँछ। हामीसँगको कुराकानीमा २५ जना अर्थात ३१ प्रतिशतले कांग्रेस र २१ जना अर्थात २६ प्रतिशतले एमाले उम्मेदवारलाई भोट दिने बताएका थिए। यी दुवै प्रतिस्पर्धीलाई दबाबमा राख्ने छन्, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले। हामीसँगको कुराकानीमा उनलाई भोट दिन्छु भन्नेहरू १७ जना अर्थात २१ प्रतिशत थिए।
बाँकीले भने निर्णय गरिसकेका थिएनन्। यी अनिर्णित भोट कता जान्छन् भन्नेले उम्मेदवारको जितहार निर्धारण गर्नेछ।
एमालेले पाँच वर्ष अवधिमा मतदाताहरूलाई सन्तुष्ट बनाउन सकेको देखिन्न। बाटो नबन्नु, सुकुम्बासी समस्या हल नहुनु र कोभिड बेला भेदभावपूर्ण व्यवहार भएको मतदाताहरूले गुनासो गरे।
बुटवल-११, बुद्धनगरका सोम रोका सशस्त्र युद्धमा लागेर तीन वर्ष भूमिगत भएका थिए। शान्ति प्रक्रियापछि भएका निर्वाचनमा उनले माओवादी र एमालेलाई भोट हालेका छन्। यसअघिको मेयरमा एमालेलाई भोट दिएका उनले यसपालि मन फेरिसके।
'अध्यक्ष प्रचण्डले देखाएको सपनाको पछाडि लागियो। २०६४ र २०७० सालमा माओवादी केन्द्रलाई नै भोट हालियो। तर चुनाव जितेपछि प्रचण्डले पनि सबै कुरा बिर्सिए। जनयुद्धको समयमा देखाएका सपना सबै झूट रहेछन्,' उनले भने, '२०७४ सालमा एमालेलाई दिएँ, उसले पनि केही गरेन। अहिले त कांग्रेसलाई दिने हो।'
तीनकुनेकी कमला ज्ञवालीले भने एमालेलाई भोट दिने बताइन्। तर उनी यसअघिको कार्यकालबाट सन्तुष्ट छैनन्।
'पहिलेदेखि सूर्यलाई दिँदै आएको हो, २०७४ मा पनि उसैलाई दिएँ। उसको कामबाट सन्तुष्ट छैन। त्यसैले अहिले भोट बाँडेर दिने हो,' उनले भनिन्, 'राम्रो काम गर्ला भनेको राम्रो गरेन। हामीले भोट दिएर जिताए पनि हामीलाई के भयो र! बाटो बढाउने भनेर घर भत्काएर छाड्यो। कोरोना बेला कति समस्या भयो, वास्तै गरेनन्।'
चिया पसलमा बसेर चुनावी चर्चा गर्दै स्थानीय। तस्बिर: भगवती पाण्डे/सेतोपाटीएमाले मेयरले गरेका काममा सन्तुष्ट नभए पनि अध्यक्ष केपी ओलीको विचार र व्यक्तित्व हेरेर एमालेलाई नै भोट दिन चाहन्छन् वडा नम्बर ९ का श्याम बस्याल।
'यसअघि शिवराजलाई भोट दिएको हो। उनको कामबाट त्यति खुसी छैन। तर अहिले पनि एमालेका बाबुरामले केही गर्छन् कि भनेर उनैलाई दिने हो। उनले पनि गतिलो काम गरेनन् भने अर्कोपालि अरूलाई नै रोजिन्छ,' उनले भने, 'एमालेलाई भोट दिने त यसको विचारधारा मन परेर पनि हो। केपी ओलीले नाकाबन्दीमा अडान लिए। राष्ट्रियता जोगाउने भएकाले मलाई एमाले मन पर्छ। यसपालि त झन् ओलीले लिम्पियाधुरा समेटेर नक्सा बनाए। कसैले बोल्न आँट नगरेको कुरा उनले गरेर देखाए। ओलीले तीन वर्षमा कति गर्न सके, कति सकेनन्। त्यही पनि उनकै नाममा फेरि दिन मन छ।'
नेपाली कांग्रेससँग भने कार्यकर्ता धेरै रिसाएका छन्। माओवादीसँग गठबन्धन गरेकोमा उनीहरूलाई चित्त बुझेको छैन। तिनाउ खोलामा बुटवलको सबभन्दा माथिल्लो पुलछेउ पर्ने वडा नम्बर ३ का पुरेन्द्र कायस्थ कांग्रेसको नेतृत्वसँग रूष्ट छन्।
'म त कांग्रेसकै मान्छे। पहिले त यति बेला चुनाव प्रचारका लागि कहाँ पुगिसकेको हुन्थेँ। यसपालि ढुक्कले यहाँ चिया खाएर बस्या छु,' चौतारीमा बसेका उनले भने, 'मलाई कांग्रेसले माओवादीसँग गठबन्धन गरेको मन परेको छैन। हामी ज्यान फालेर हिँडेका मान्छेलाई हँसिया हतौडामा भोट हाल्न लगाउने?'
त्यही झोँकमा उनले वडामा राप्रपालाई भोट दिने भएका छन्। मेयरमा भने आफ्नै पार्टीलाई दिनुपर्यो भन्दै थिए।
प्रविन जोशीले भने यसअघि कांग्रेसलाई भोट दिएका थिए। अब भने हलोमा भोट हाल्ने योजनामा छन्। राप्रपाबाट उठेका उम्मेदवार शेरचन उनलाई मन परेको छ।
पहिले पहिलेका चुनावमा कांग्रेसलाई नै भोट दिँदै आएका वडा नम्बर ३ कै प्रकाश श्रेष्ठले पनि मेयरमा कांग्रेसलाई नदिने भएका छन्। उनी पनि शेरचनकै पक्षमा छन्।
'राप्रपाबाट मेयरमा उठेको मान्छे राम्रो छ, पैसाको लोभ गर्दैन। लकडाउनमा आफ्नो घरभाडामा बस्ने मान्छेहरूलाई तीन महिनाको भाडा छुट दियो,' उनले भने।
कांग्रेस र एमालेका आफ्नै परम्परागत मतदाता छन्। तर यसपालि आममतदाताको मन जित्नु त छँदै छ, उनीहरूले राप्रपाबाट आफ्ना भोट कति बचाउँछन् भन्नेले पनि जितहारमा ठूलो अर्थ राख्छ। अधिकांश पहाडी क्षेत्रका मानिस बसाइ सरेर आएर बनेको बुटवलमा राष्ट्रियता, धर्म र राजा फर्काउने एजेन्डाले धेरैको ध्यान तानेको देखिन्छ। राप्रपा उम्मेदवार शेरचनको व्यक्तित्वलाई नै पनि मानिसहरूले मन पराएको पाइयो।
अघिल्लो निर्वाचनमा भन्दा यसपटक बुटवलमा १३ हजार ३ सय ४५ मतदाता थपिएका छन्। २०७४ को निर्वाचनमा ७६ हजार ७ सय २० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६५ मतदाता पुगेका छन्। थपिएका मतदाताले पहिलोपटक मतदान गर्दै छन्। तीमध्ये वडा नम्बर १० की दृश्या रेग्मी एक हुन्। उनी यो चुनावलाई लिएर उत्साहित छिन्। उनले सबै पार्टीका घोषणापत्र पढ्ने र राम्रो मान्छे छानेर भोट दिने बताइन्।
'मैले कांग्रेसको घोषणापत्र पढेर भ्याएँ। सामुदायिक स्कुलमा प्रोजेक्टरबाट पढाउने भनेर लेख्या रैछ। यो त अहिले नै लागू भएको कुरा हो। किन अब गर्छु भनेर लेख्या होला भनेर छक्क परेँ। मानसिक स्वास्थ्यको कुरै रहेनछ। अरू त कार्यान्वयन गर्न सकिने नै कुरा रहेछन्। अब म अरू पनि दलका घोषणापत्र पढ्छु। अनि उनीहरूका कुरा ध्यान दिएर सुन्छु। मेरो भोट खेर नफाल्ने मान्छेलाई दिने हो। म निकै उत्साहित छु,' उनले भनिन्।
यी पनि पढ्नुस्: