‘नेताहरू त के-के भन्छन् के-के! हाम्रो मनमा कुरा फरक छ।’ यति भनेर हरिदास रानाले लामो सुस्केरा हाले।
उमेरले ५० वर्ष काटिसकेका हरिदासले धेरै चुनाव देखिसके, भोगिसके। धेरै नेताका भाषण सुनिसके, पत्याइसके। नेताहरूका वाचा सुनेर आफ्नो जीवन सुध्रिएला कि भन्ने सपना पनि देखिसके। तर मोहोना नदीमा पानी बगेजत्तिकै चुनावको मुखमा नेताहरूबाट आउने आश्वासनको भेल-बाढीले आफ्नो जीवनको दशा भने कहिल्यै नफेरिएको अनुभव साँचेका छन् हरिदासले।
धनगढी उपमहानगरपालिका-३ का हरिदासलाई त्यही भएर चुनाव आयो कि विरक्त लाग्छ। चुनावका नाममा फेरि नेताहरूले आश्वासनको पोका फाल्ने र ती आश्वासन पत्याइदिनुपर्ने निरीह जीवन बाँचिरहेको उनलाई अनुभव हुन्छ।
यहाँ नदीको अर्को किनार पनि छ। कम्तीमा चुनावकै लागि भए पनि नेताहरू जनताको घरदैलोमा आउने र उनीहरूलाई नै जनार्दन मानेर आफ्ना कुरा सुनाउने र उनीहरूका कुरा सुन्ने हुँदा एक नागरिक र मतदाताका रूपमा आफू शक्तिसम्पन्न भएको अनुभव हुने उनी बताउँछन्।
हामीले हरिदासलाई धनगढी बजारबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको ग्रामीण बस्ती चडकपुरस्थित उनकै घरमा भेटेका थियौं। उनी माटोको सानो झुपडीबाहिर आँगनमा खटिया बिछ्याएर त्यसैमाथि ढोलक बजाउँदै थिए। हरिदासले भारतको एक संस्थाबाट ढोलक बजाउने अनलाइन तालिम लिइरहेका रहेछन्। त्यही तालिमबीच अगाडि मोबाइल राखेर उताबाट जसरी भन्यो, त्यसरी नै बाजा बजाउँदै थिए उनी।
जसै उनको कक्षा सकियो, हामीले आसन्न स्थानीय चुनावको प्रसंग झिक्यौं।
‘चुनाव आएर के गर्नु, नेताहरू त के-के भन्छन् के-के! हाम्रो मनमा कुरा फरक छ,’ उनले भने, ‘नेताहरू बजार सिँगार्ने, बजारमा सुविधा ल्याउने कुरा गर्छन्, हामी गाउँका मान्छेलाई बजार बनेर केही काम लाग्दैन। हाम्रा लागि त गाउँघर बनाइदिने मान्छे पो चाहियो।’
उनले अगाडि भने, ‘हामी गाउँघरमा बस्ने मान्छे बजार जाने कहिलेकाहीँ मात्र हो। हाम्रा लागि गाउँको विकास हुनुपर्यो, गाउँमै बाटो बन्नुपर्यो, गाउँमै ढलनिकास पुग्नुपर्यो।’
उनले जनप्रतिनिधिहरूबाट पूरा होलान् कि भनेर साँचेर राखेका केही व्यक्तिगत आवश्यकता पनि सुनाए, ‘हामी ऐलानीमा बसेकालाई लालपुर्जा दिने मान्छे भए राम्रो हुन्थ्यो। हाम्रोमा डुबानको समस्या छ। त्यसैले डुबान कम हुने व्यवस्था गर्नुपर्यो।’
उनले यति भनिसकेपछि हामीले सोध्यौं, ‘यसपालि कसलाई भोट हाल्ने त?’
प्रश्न भुइँमा झर्न नपाउँदै हरिदासले भने, ‘जसले हात हालिसकेको छ, उसलाई नै फेरि एक टक काम गर्न दिऊँ भन्ने विचार छ।’
उनको संकेत अघिल्लोचोटि मेयर भएका र यसपालि फेरि चुनावमा उठेका नेपाली कांग्रेसका उम्मेदवार नृप वडतर्फ थियो।
हामीले अघिल्लो मेयरलाई नै दोहोर्याउन चाहनुको कारण सोध्यौं।
जवाफमा उनले भने, ‘नयाँ आउनेलाई त सिक्नै धेरै दिन लाग्ला। हात हालेको मान्छेलाई काम गर्न दिए अधुरा काम बन्छन्।’
धनगढीका सबै मतदाताको धारणा हरिदास रानाको जस्तो छैन।
धनगढी-१ का दुर्गा सेवाले अघिल्लो चुनावमा कांग्रेसका नृप वडलाई भोट हालेकी थिइन्। आफू मात्र होइन, आफ्नो पूरा परिवार र टोलका सबैले नृपलाई भोट दिएको उनी बताउँछन्। यसपालि भने उनी र उनको टोलको धारणा बदलिएको छ।
‘अघिल्लो निर्वाचनमा मलाई केही थाहा थिएन। हाम्रो टोलका सबैले कांग्रेसलाई भोट हाले। अंकल, दाजुहरूले भनेपछि मैले पनि कांग्रेसलाई नै भोट दिएँ,’ २३ वर्षीया दुर्गाले भनिन्, ‘हाम्रो समुदायका नेता मेयरमा उठेका छन् भनेर टोलका सबैले नृप वडलाई भोट दियौं। तर यो पाँच वर्षमा उहाँले गरेको कामबाट हामी सन्तुष्ट छैनौं।’
नृपले धनगढीको विकास गर्लान् र समुदायको हित गर्लान् भन्ने सोचेर भोट दिएको तर सन्तोषजनक काम हुन नसकेको दुर्गाले बताइन्।
‘जति सोचेका थियौं, त्यति काम भएजस्तो लागेन। गर्नुभयो पनि होला, सबै नराम्रो भयो भन्ने होइन तर हाम्रो वडामा केही पनि विकास भएन,’ उनले भनिन्, ‘त्यसैले यसपालि गोपाल (गोपी) हमाल सरलाई भोट दिने तयारी गरेका छौं।’
हमाललाई भोट हाल्नुको कारण उनी यसरी सुनाउँछिन्, ‘उहाँ एक व्यवसायी हो। पदमा नहुँदा पनि उहाँले समुदायका लागि राम्रो काम गर्नुभएको छ। उहाँले थप केही उद्योग खोल्न सक्नुहुन्छ। रोजगार पाइएला, देशको विकास होला भन्ने सोचेर भोट दिने विचार गरेको हो।’
उनले यो पनि भनिन्, ‘पहिलेका जनता चुनावमा मासुभात र पैसाले बिक्थे, अहिले त्यस्तो छैन। अहिलेका जनतालाई काम गर्ने मान्छेको खाँचो छ। कुन उम्मेदवारले कस्तो काम गर्न सक्छ भन्ने जाँचेर, तौलेर भोट हाल्छन्। त्यसै आधारमा हामीले पनि नृप वडले भन्दा गोपी सरले नै राम्रो काम गर्नुहोला भन्ने सोचेर उहाँलाई भोट दिने निर्णय गरेका हौं।’
स्थानीय चुनावको दिन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीका मतदाताले यसपालि कसलाई भोट हाल्ने भनेर निधो गर्न थालिसकेका छन्। गाउँ-सहरलाई चुनावी सरगर्मीले छपक्कै छोपेको यो घडीमा हामीले मतदाताको रूझान कतातिर छ भन्नेबारे उनीहरूको प्रतिक्रिया बुझ्ने प्रयास गर्यौं। यसका लागि धनगढीका १९ वटै वडामा गएर हामीले त्यहाँका एक सय जना मतदातासँग कुराकानी गरेका छौं।
हामीले मुख्य दुइटा प्रश्न सोधेका थियौं- अघिल्लो चुनावमा कसलाई भोट हाल्नुभएको थियो? यसपालि कसलाई हाल्ने सोच्दै हुनुहुन्छ?
हामीले कुराकानी गरेका सय जना मतदातामध्ये ३९ जनाको राय दुर्गासँग मिल्दो छ। उनीहरूले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाललाई भोट हाल्ने बताएका छन्।
हरिदासले जस्तै कांग्रेसका नृप वडलाई भोट हाल्छु भन्नेहरू ३१ जना छन्।
बाह्र जनाले भने नेकपा एमालेका मेयर उम्मेदवार रणबहादुर चन्दलाई भोट हाल्ने बताए।
बाँकी १८ मध्ये १४ जनाले कुनै पनि उम्मेदवारप्रति विश्वास छैन भन्दै कसैलाई भोट नहाल्ने बताए। चार जना मतदाता भने कसलाई भोट हाल्ने भनेर खुल्न चाहेनन्।
यी सय जना मतदातासँगको कुराकानीलाई आधार मान्ने हो भने धनगढीमा अघिल्लो चुनावबाट मेयर निर्वाचित कांग्रेसका नृप वड र अघिल्लोचोटि दोस्रो भएका गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
२०७४ को चुनावमा वड १४,३२४ मत ल्याएर विजयी भएका थिए भने दोस्रोमा रहेका हमालले ११,५२७ मत पाएका थिए। त्यस्तै, माओवादीका रामसमझ राना र एमालेका दुर्गाप्रसाद जोशीले पनि राम्रो मत ल्याएका थिए। तेस्रोमा रहेका रानाले १०,२०९ र चौथो भएका जोशीले ९,९४६ मत ल्याएका थिए।
यसपालि भने धनगढीमा हावा धेरै मात्रामा हमालतिर बहेको छ। वडले एकपटक मौका पाइसकेका र धेरै राम्रो काम गरेको भनेर खासै प्रशंसा पनि नभएकाले कतिपय मतदातामा हमालतिर आकर्षण देखिन्छ। हामीले कुरा गरेकामध्ये पहिले कांग्रेसलाई भोट दिएका कतिपय मतदाताले यसपालि हमाललाई दिने बताए। त्यस्तै, माओवादी केन्द्र र एमालेलाई मत दिएका कतिपय मतदाताले पनि यसपालि हमाललाई मत दिने बताए।
धनगढी-३, वीरेन्द्रनगर टोलका जीवन अछामीले अघिल्लो चुनावमा एमालेलाई भोट हालेका थिए। उनले वडाध्यक्षमा पनि एमालेलाई नै भोट दिए। यसपालि भने उनको मन फेरिएको छ।
‘केही गर्छन् कि भन्ने आसले एमालेलाई मतदान गरेका थियौं तर उनीहरूले चुनाव जितेनन्। यसपालि मेयरमा स्वतन्त्रबाट उठेका गोपाल हमाललाई भोट दिने हो,’ २७ वर्षीय जीवनले भने, ‘नृप वडले केही गर्न सकेनन्। गोपालले केही गर्छन् कि भन्ने आस छ।’
कांग्रेसका कतिपय मतदाता यसपालि असन्तुष्ट भएर मत नहाल्ने भन्दै बसेका पनि छन्। हामीले कुरा गरेकामध्ये १४ जना यस्ता मतदाता भेटिए जसले पहिले वडलाई भोट हालेका थिए। यसपालि उनीहरू कसैलाई मत दिने पक्षमा छैनन्।
यसरी कतिपय आफ्ना परम्परागत मतदाता हमालको पक्षमा गए र अरू केही मत हाल्नै आएनन् भने कांग्रेसलाई धनगढीमा ठूलो दबाब हुनेछ। त्यसबाट पार पाउन उसलाई गठबन्धन दल माओवादी केन्द्रको भोट आवश्यक हुन्छ।
धनगढीमा सत्तारूढ पाँच दलले गठबन्धन गरेका छन्। मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार छन्। अघिल्लो चुनावमा तेस्रो धेरै मत ल्याएको माओवादीका बहुसंख्यक मत कांग्रेसलाई आयो भने मात्रै वडले जित्न सक्छन्।
अघिल्लोपटक माओवादी र एमालेलाई भोट दिएका कतिपय मतदाताले पनि यसपालि हमाललाई दिने बताएका छन्। त्यसैले धनगढी उपमहानगरमा चलेको हावाले स्वतन्त्र उम्मेदवार हमाललाई मेयरको कुर्सीसम्म पुर्याउन सक्छ।
एमाले उम्मेदवार भने यसपालि पनि धनगढीमा कमजोर नै देखिन्छन्। अघिल्लोचोटि एमालेलाई मत दिएका कतिपयले हमाललाई मत दिने भएपछि एमाले थप कमजोर हुने सम्भावना छ।
अघिल्लोपटक अरू पार्टीलाई मत दिएका दुई जनाले मात्र यसपालि एमालेलाई दिने बताए।
धनगढी- १२ का विष्णुप्रसाद जोशी तिनै दुई जनामध्ये एक हुन्। उनी वडको कामबाट सन्तुष्ट छन् तर यसपालि एमालेको काम हेर्न मन लागेको बताउँछन्।
‘खाल्डाखुल्डी परेका बाटोमा कालोपत्रे पुगेको छ। पहिला टुकी बाल्थ्यौं, अहिले बिजुली छ। तै पनि यसपालि एमालेलाई भोट हाल्ने हो,’ ४५ वर्षीय विष्णुले भने, ‘अघिल्लोपटक नृपलाई हेरिसक्यौं, अब एमालेका नेताले काम गरेको हेर्ने मन छ।’
धनगढी- १२ कै आशिषराजा जोशी भने पछिल्लो समय एमालेले लिएको नीति र एजेन्डाबाट प्रभावित भएर रणबहादुर चन्दलाई भोट हाल्न लागेको बताउँछन्।
‘यसपटक एमालेलाई भोट दिन मन छ,’ ४८ वर्षीय आशिषले भने, ‘एमालेले सामाजिक सुरक्षा भत्ता बढाएको छ। उसको एजेन्डा राम्रो छ। पहिला कांग्रेसलाई जितायौं केही भएन, अब एमालेलाई जिताउने हो।’
उनको पनि एउटा धारणा हरिदास रानाको जस्तै छ।
चुनावपिच्छे नेताहरूको आश्वासन सुन्दै र त्यसैका भरमा सपना देख्दै आएका मतदाताले अबचाहिँ जो आए पनि आनका तान परिवर्तन ल्याउँदैनन् भन्ने बुझिसकेको आशिष बताउँछन्।
'सारमा सबै उस्तै हुन्, त्यसैले कसले के काम गर्छ वा गर्न सक्छ भनेर जाँच्दै, परीक्षण गर्दै हिँड्ने हो,' उनले भने।
आखिर चुनावले मतदातालाई दिने अधिकार भनेको पनि यही त हो!
यी पनि पढ्नुस्: