नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको उपमेयरमा सावित्रादेवी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
केही बेरअघि सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्य सावित्रा अर्याललाई उपप्रमुखमा उठाउने निर्णय गरेको हो। एमालेले मेयरमा भने प्रदेश कमिटी सदस्य बाबुराम भट्टराईलाई उम्मेदवार बनाएको छ।
नेत्रप्रसाद आचार्य र दिलकुमारी आचार्यकी छोरी अर्याल पाल्पाको कुशुमखोलामा जन्मिएकी हुन्। उनको बिहे विष्णुप्रसाद अर्यालसँग भएपछि बुटवलमा बस्दै आएकी थिइन्। एक छोरा र एक छोरीकी आमा अर्यालले प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन्।
२०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन्। हाल नेकपा एमाले केन्द्रीय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएकी थिइन्। २०५४ सालमा निर्वाचित वडा सदस्य भएर उनले जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएकी थिइन्।
२०६२/६३ को जनआन्दोलनमा घाइतेसमेत भएकी अर्याल बुटवल महिला जेसिजबाट 'लेडी अफ द इयर २००८' बाट सम्मानित भएकी थिइन्।
बुटवलमा महिला समाजसेवीको पहिचान बनाएकी अर्यालले बाल्यकालमा विद्यालय जान नपाएका आमाहरूका लागि महिला विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा अभियान चलाएकी थिइन्। उनकै अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिले पनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका एक सयभन्दा बढी महिलाहरू अध्ययनरत छन्। शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषित समेत भइसकेकी छन्।
अर्याल शिक्षासँगै सञ्चार क्षेत्रमा पनि निरन्तर क्रियाशील छन्। बुटवलमा महिलाहरू मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पूर्व अध्यक्ष, रेडियो मदनपोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य रहेकी उनले जीवन आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षय कोषकी पनि संस्थापक सदस्य रहेर काम गर्दै आएकी थिइन्।
पाँच दलीय गठबन्धनबाट बुटवलमा नगरप्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेदवार घोषणा भएको अवस्थामा अर्याल उपप्रमुखको उम्मेदवार हुने भएपछि महिलाहरू उत्साहित बनेका छन्। यसअघिको निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र दुवै दलबाट नगरप्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार बनेपछि एमालेकी गोमादेवी आचार्य झण्डै १० हजार मतअन्तरले निर्वाचित भएकी थिइन्।
यो पनि पढ्नुहोस्ः एमालेबाट बुटवलका मेयर उम्मेदवार प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई