नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। केही बेरअघि सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका पूर्व केन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका भट्टराईलाई मेयर र पार्टी केन्द्रीय सदस्य सावित्रा अर्याललाई उपमेयर उठाउने निर्णय गरेको हो।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं. ४ विर्घामा जन्मिएर बुटवल बसोबास गर्दै आएका भट्टराई भूमिगत काल, २०३२ साल सेरोफेरोबाट राजनीतिमा संलग्न हुन्। औषधि व्यवसायीसमेत रहेका भट्टराई एमालेका पुराना कार्यकर्ता र उद्योगी व्यवसायी, युवा विद्यार्थी सबैका माझमा लोकप्रिय मानिन्छन्।
उनी भूमिगत कालदेखि नै कम्युनिसंट नेता तथा कार्यकर्ताहरूको उपचार गर्दै कम्युनिस्ट पार्टीमा संलग्न छन्। पार्टीका नेताहरू भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने-जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गएको हो। सोही क्रममा २०३६ सालदेखि उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए।
भट्टराईले तत्कालीन लुम्बिनी अञ्चल अस्पतालको अध्यक्ष समेत भएर काम गरेका थिए। लामो समय उनले उद्योग, व्यवसाय क्षेत्रमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य छन्।
नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए।
२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए। त्यस्तै उनले बुद्धिजिवी परिषदमा रहेर पनि काम गरे।
भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए। विपक्षीको मत तान्न सक्ने क्षमता उनमा भएको पार्टीका कतिपय नेताहरू बताउँछन्।
२०५४ सालदेखि निरन्तर नेकपा एमालेले नेतृत्व गरेको बुटवल उपमहानगरपालिकाको अबको नगर प्रमुखको उम्मेदवार को बन्छ भन्ने एमाले कार्यकर्ताहरूको जिज्ञासा मेटिएको छ। अब बुटवलको प्रमुख पदका लागि भट्टराई र नेपाली कांग्रेसका खेलराज पाण्डेका बीचमा प्रतिस्पर्धा हुने छ।
यसअघिको निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए। यसअघि पनि नेपाली कांग्रेसबाट पाण्डे नै उम्मेदवार थिए। सुवेदीले पाण्डेलाई २४ सय मतान्तरले पराजित गरेका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो। गत निर्वाचनमा नेपाली कांग्रेसलाई भने माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको साथ थियो।
यसपटक नेपाली कांग्रेसको साथमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ भने एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग मिलेर निर्वाचनमा जाने गरी शनिबार मात्रै सहमति गरेको छ।
एक हजार ५ सय मत रहेको बताउने जनमुक्ति पार्टीले बुटवलमा आफूलाई तेश्रो शक्तिका रूपमा दाबी गर्दै आएको छ। यसले पनि एमालेले यसअघिको निर्वाचनमा भन्दा धेरै मत ल्याउने एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी दाबी गर्छन्।
बुटवलमा २०७४ सालको निर्वाचनयता २४ हजारभन्दा बढी मतदाता थपिएका छन्। ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ। यसपटकको निर्वाचनमा बुटवलमा ९० हजार ६५ मतदाता छन्।
यो पनि पढ्नुहोस्ः को हुन् बुटवलको एमाले उपमेयर उम्मेदवार सावित्रा अर्याल?