स्थानीय सरकारको चुनाव हुन अब २० दिन बाँकी छ। दलहरूले उम्मेदवार अझै छानिसकेका छैनन्।
मतदाताले यतिखेर गएको पाँच वर्षमा जनप्रतिनिधिले गरेका कामको मूल्यांकन गर्न थालेका छन्। यसैबीच हामीले धनगढीका केही मतदातासँग जनप्रतिनिधिले पाँच वर्षमा गरेका काम र आउने चुनावमा उठ्ने उम्मेदवारसँगको अपेक्षाबारे कुराकानी गरेका छौँ।
२०४० सालमा डोटीको विपिनगरबाट प्रविन सार्कीको परिवार धनगढी १५ उर्माको शान्तिकटानमा बसाई सरेर आएको थियो। सुरूआततिर बस्तीमा खानेपानीको सुविधा थिएन। उनीसँगै बस्तीका मान्छे नदीको पानीले काम चलाउँदै आएका थिए।
आठ वर्षअघि मात्र उनको बस्तीमा सार्वजनिक नल्का (धारा) जडान भए। यो सँगै खानेपानीका लागि नदीको भर पर्नुपर्ने समस्या हट्यो।
प्रविन र उनको बस्तीका बासिन्दा अहिले सार्वजनिक नल्काबाटै आउने पानी खान र पकाउन प्रयोग गर्छन्। लुगा धुन नुहाउन भने अझै पनि उनीहरू नदीको भर पर्नुपर्छ।
प्रविन र उनका गाउँले चाहन्छन्- घरघरमै नल्का होस्। नुहाउन लुगाधुन नदीतिर हिँड्न नपरोस्।
यसअघिको चुनावमा उठेका सबै पार्टीका सबैजसो उम्मेदवार भोट माग्न आउँदा उनीहरूको यो चाहना पुरा गर्ने बाचा गरेका थिए। मौखिक बाचा मात्र होइन यो बस्तीका प्रत्येक घरघरमा नल्का जडान भन्दै घोषणपत्रमासमेत उल्लेख गरेका थिए।
वर्षौंदेखि पानीको समस्या भोग्दै आएका उनीहरू घरघरमा नल्का जडान गर्ने नेताको बचा सुनेरै खुसी भए। तर अफसोच पाँच वर्ष बित्यो जनप्रतिनिधिले गरेका बाचा पुरा भएनन्।
‘प्रत्येक पटक नल्काका लागि वडा कार्यालय, नगरपालिका गयौं, कहिले यो, कहिले त्यो भन्दै काम भएन,’ प्रविनले सेतोपाटीसँग भने, ‘तीस वर्ष भयो यहाँ आएको तर हामीलाई पानी दिन कुनै सरकारको पनि मन भएन। दु:ख लाग्छ सम्झेर।’
बाचा गरेर भाग्ने नेता चुनाव आएपछि फेरि पुरानै बाचा लिएर आउँछन् भन्ने उनलाई लागिरहेको छ। झण्डै ८० घरपरिवार रहेको यो बस्तीमा खानेपानीको मात्र होइन अरू धेरै समस्या छन्। जसको समाधान गर्छु भन्ने बाचा बनाएर नेताहरू अब आइपुग्ने बेला भएको छ।
स्थानीय बिर्खे कामीले अझै बिर्सेका छैनन्, यसअघिको चुनावमा लालपुर्जा दिने, नजिकैको नदीमा तटबन्ध गर्ने, पुल बनाउने, बाटो बनाउने, केटाकेटीका लागि नि:शुल्क शिक्षा र युवाहरूका लागि रोजगारीको सुविधा दिने जस्ता बाचा नेताले गरेका थिए।
‘यी वाचामध्ये बस्तीको बीचमा बाटो बन्यो,’ उनले भने, ‘अरू काम भएनन्।’
नदीमा तटबन्ध नहुँदा बिर्खेको खेत हरेक बर्खामा बाढीले कटान गरेर लैजान्छ। यो कुरा सम्झेर उनी वर्षभरी हैरान हुन्छन्। छिमेकीको पनि उनको जस्तै समस्या छ। कमाई खाने खेत यसरी हरेक वर्ष नदीले कटान गरेर लगेपछि भोलिको दिनमा के खाने भन्ने समस्या हुने भन्दै उनीहरू चिन्तामा छन्।
अर्को समस्या हो, उनको टोलबाट अर्को गाउँ जान शिवगंगा नदीमा पुल छैन।
‘वडा कार्यालय पनि नदी पारी छ, किनेमल, कुटानी पिसानी गर्न, औषधि उपचार गर्न पारीनै जानुपर्छ। पुल नहुँदा बर्खामा धेरै समस्या हुन्छ,’ उनले भने।
पैसा नभएर कोरोनाकालमा कक्षा ७ मा पढ्ने प्रविनका छोरा स्कुल छोडेर कमाई गर्न भारत गए।
‘नि:शुल्क शिक्षा भने पनि विद्यालयमा कहिले भर्ना, कहिले पेपर फिस, कापीकलम, ड्रेस किन्ने पैसा नहुँदा झन्झट मानेर छोराले स्कुल छोडेका हो,’ उनले भने।
प्रविनकी छोरी शारीरिकरूपमा अपांग छिन्। पिठ्युँको पछि ठूलो दाना आएकोले उनलाई हिँडडुल गर्न गाह्रो पर्छ। राज्यको सेवा सुविधा उपभोग गर्न छोरीको अपांगता परिचय पत्र समेत बनाउनुपर्छ भन्ने उनलाई थाहा छैन।
‘आजसम्म नेताका गफ मात्रै सुनियो, अब सुख दिने नेता चाहेका छौं, हाम्रो दुःख बुझ्ने,अहिलेसम्मका नेताले त काम कम, गफ बढी लगाए,’ उनले भने, ‘अब भने म विचार गरेर भोट हाल्छु। पार्टीले गतिलो उम्मेदवार छानुन् जसले काम गरोस् गफ नदेओस्।’
शान्तिकटानका बासिन्दा जस्तै उपमहानगरपालिकाका अन्य वडाका स्थानीय पनि काम गरेर देखाउने नेतालाई मत दिने तयारीमा छन्।
धनगढी–उपमहानगरपालिका–२ सन्तोषी टोलकी स्थानीय बिस्ना ताम्राकार पनि अबको निर्वाचन काम गर्ने नेतालाई मत दिने बताउँछिन्।
‘पाँच वर्षमा हामीले देख्नेगरि, बुझ्नेगरि काम भएनन्, केही त भए होलान् तर, ती कामले जनतालाई फाइदा हुनुपर्यो,’ उनले भनिन्,‘ जनताको फाइदाका लागि नेता चुनावमा उठून्।’
वर्षौंदेखि धनगढीमा बाटाघाटो राम्रो नभएको उनले बताइन्।
‘धुलो धुवाँले आवतजावत गर्न गाह्रो हुन्छ। कर चाँही नगरपालिकाले लिन्छ, काम समयमै हुँदैन। विकास गर्ने, उद्योगधन्दा खोल्ने, पूर्वाधार र समाजिक क्षेत्रको विकास गर्ने नेता छानेर भोट हाल्ने हो,’ उनले भनिन्।
धनगढीको बजार क्षेत्रमा डुवानको समस्या पनि एक हो।
धनगढी–उपमहानगरपालिका–३ का बिनोद बिष्ट बस्तीमा डुवानको समस्या नियन्त्रण गर्ने नेतालाई यस पटक मत दिने तयारीमा रहेको बताउँछन्।
‘सबैले मत दिने बेला मैले जस्तै निर्णय गरे विकास गर्न नेतालाई करै लाग्थ्यो, काम अलपत्र हुन्थेन,’ उनले भने।
पार्टीको लोभलालच नसुनेर काम गरेर देखाउनेलाई मत दिन पनि उनले अन्य मतदातालाई आग्रह गरे।
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका मतदाता अघिल्लो चुनावबाट केही नयाँ कुरा सिकेकाले चनाखो भएको र आगामी निर्वाचनमा त्यो देखिने उनको बुझाइ छ।
‘मतदाता चनाखो भइसकेका छन् दलहरूले गतिला उम्मेदवार छानून्,’ बिष्टले भने।
प्रदेशको राजधानीसमेत रहेको यो उपमहानगरमा अहिलेसम्म बाटोबाटो, पुलपुलेसा, खानेपानी, विद्युतीकरणबाट समेत बञ्चित हुनु लज्जास्पद कुरा रहेको नागरिकको भनाई छ।
‘बजारको फोहर व्यवस्थापन गर्ने, आफ्नो गाउँठाउँको माया गर्ने नेतालाई मत दिने हो,’ वडा नम्वर ५ का स्थानीय लोकराज खड्काले भने। उनले स्वदेशी उत्पादनको महत्व बुझ्नेलाई पनि मत दिन आवश्यक रहेको बताए।
उपमहानगरपालिकाका १९ वटै वडाका स्थानीयले विगतमा गरेको गल्ती नगर्ने उनको अनुमान छ।
निर्वाचनमा अपेक्षा नगरेको नेताले चुनाव जित्ने गरेकाले आफ्नो मतको सदुपयोग नभएको धनगढी–१६ का स्थानीय जानकी चौधरीले बताइन्।
‘जनताले खान नपाएर भोकभोकै मर्नुपरेको छ, हामीले धेरै चाहेका होइनौं, किसानी काम गरेर खानेलाई सुविधा दिनुहोस् भनेका हौं, स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कामगरे किसानलाई सहज हुन्छ,’ उनले भनिन्।
नागरिकले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने खालका कामहरू नभएको भन्दै असन्तुष्टि जनाइरहेका बेला जनप्रतिनिधि भने घोषणा पत्रका अधिकांश काम गरेको दाबी गर्छन्।
धनगढी– उपमहानगरपालिका–१५ का वडाअध्यक्ष फुलराम चौधरीले चुनावका बेला आफूले घोषणपत्रमा जाहेर गरेकामध्ये अहिलेसम्म ७५ प्रतिशत काम पुरा भएको दाबी गरे।
उनका अनुसार वडामा पाँच वर्षमा चारदेखि पाँच किलोमिटर नयाँ बाटो बिस्तार भएको छ। जसमा तीन किलोमिटर सडक कालोपत्रे भएको छ। यस्तै, वडामा माविस्तरको एक विद्यालय सञ्चालनमा आएको छ र केही विद्यालय भवनहरू पनि निर्माण भएका छन्।
यस्तै, वडाको वस्तुस्थिति झल्किने गरे तथ्यांक संकलन, एक किलोमिटर नदीमा तटबन्ध लगायतका काम भएको चौधरीले बताए।
वडाको शान्तिकटान बस्ती जोड्ने शिवगंगा नदीमा चुनावमा झुलुङ्गे पुल बनाउने भनिएको उनी स्वीकारर्छन्। यसअघि विविध प्रक्रिया गर्न पुल बनाउन ढिलाई भएको र अहिले निर्माण गर्ने काम सुरू हुने तयारीमा रहेको उनी बताउँछन्।
‘सुरूका वर्ष कानून नबन्दा काम गर्न सकिएन, पछिल्लो दुई वर्ष महामारीले असर गर्यो, काम कति पनि नभएको भन्ने चाहीँ होइन, लालपुर्जा दिने काम कानूनी प्रक्रियामा छ,’ उनले भने।
यस्तै धनगढी–उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले पाँच वर्षमा जनताले चाहेका कामहरू पूरा गर्न जनप्रतिनिधिलाई चुनौती भएको बताए।
पूर्वाधारका क्षेत्रमा काम भएको छ, संघीयतामा नयाँ अनुभव भएकोले हामीले चाहेअनुसार काम गर्न चुनौती भयो, दुई वर्ष फेरि कोरोना महामारीले पनि काममा बाधा गर्यो, सकेजति चुनौतीका बाफजुत हामीले काम गरेका छौं,` उनले भने।
२०७८ सालको जनगणना अनुसार धनगढी–उपमहानगरपालिकामा २ लाख बढी जनसंख्या छ।
पछिल्लो पाँच वर्षमा धनगढी उपमहानगरपालिकामा झण्डै १७ हजार मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनयता धनगढी उपमहानगरपालिकामा १६ हजार ७२१ मतदाता थप भई ९६ हजार १५१ पुगेका छन्।
आगामी निर्वाचनका लागि उपमहानगरपालिकामा ४५ हजार ९२४ महिला, ४७ हजार २२४ पुरुष र तीन जना तेस्रोलिंगी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
२०७४ को निर्वाचनमा ३८ हजार पाँच सय ६१ महिला, ३७ हजार ८८६ पुरूष र तीन जना तेस्रोलिंगी गरी ७६ हजार ४३० मतदाता थिए। त्यसमध्ये उपमहानगरपालिकामा कुल मतदाताको ८७ दशमलव ११ प्रतिशत मत खसेको थियो। खसेको कुल मतमध्ये दुई दशमलव १९ प्रतिशत बदर भएको थियो।
निर्वाचन कार्यालयमा २३ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।
धनगढी उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा ३३ वटा मतदानस्थल र ८६ वटा मतदान केन्द्र रहेकोमा आगामी निर्वाचनमा ३४ मतदानस्थल र १०४ केन्द्र रहने आयोगले जनाएको छ।