प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का नेता-कार्यकर्ताहरूले कांग्रेसले आफ्नो पार्टीलाई भोट नदिएको आरोप लगाइरहेका छन्।
कांग्रेसको मत ‘ट्रान्सफर’ नभएकै कारण प्रतिनिधि सभाका ४७ स्थानमा उम्मेदवारी दिएको माओवादी केन्द्रले १७ स्थानमा मात्र जितेको उनीहरूको दु:खेसो छ।
२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ३६ ठाउँमा जितेको माओवादी केन्द्र यसपटक १७ सिटमा खुम्चिएको छ। माओवादी केन्द्रको भागमा परेको दोलखामा विवादका कारण मतगणना स्थगित छ। त्यहाँ जित्यो भने उसले २०७४ को भन्दा आधा सिटमा मात्र सफलता पाउनेछ। अहिलेको मतपरिणामले विगतमा २०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गर्दाको जस्तो सफलता माओवादीलाई मिलेको छैन।
कांग्रेसको मत ट्रान्सफर नभएका कारण आफूहरूले हारेको माओवादीको दु:खेसो छ। तर मतपरिणामको तथ्यले माओवादीको गुनासोलाई भरथेग गर्दैन। स्थानीय तहको चुनावमा कांग्रेस-माओवादीबीच जसरी मत ट्रान्सफर भएको थियो, यसपालि पनि भएको देखिन्छ। स्थानीय तहमा कांग्रेसले पाएको सत प्रतिशत मत प्रतिनिधि सभाका माओवादी उम्मेदवारलाई पक्कै पनि ट्रान्सफर भएको छैन। त्यसो त कैंयन् निर्वाचन क्षेत्रमा कांग्रेसले स्थानीय तहमा पाएको मत प्रतिनिधि सभामा उसकै उम्मेदवारले पनि पाएका छैनन्।
माओवादी केन्द्रले उम्मेदवार बनाएकामध्ये जितेका र हारेका गरी हामीले २३ जनाले पाएको मत विश्लेषण गरेका छौं। हामीले ती निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत र सो दलले त्यहाँ पाएको समानुपातिक तर्फको मत हेरेका छौं। यी क्षेत्रमा गठबन्धनको अर्को मुख्य घटक नेकपा (एकीकृत समाजवादी) को मत न्यून रहेकाले माओवादीका उम्मेदवारले पाएको आफ्नो दलको मतबाहेक थपिएको मत कांग्रेसबाट ट्रान्सफर भएको अनुमान सहजै लगाउन सकिन्छ। तलको टेबल हेरौं:
यी १७ निर्वाचन क्षेत्रमा माओवादी पार्टीले समानुपातिकतर्फ पाएको मत जोड्दा जम्मा२ लाख ७० हजार ४९२ हुन्छ। जबकी यी क्षेत्रमा माओवादीका उम्मेदवारले प्रत्यक्षतर्फ पाएको सबै मत जोड्दा ५ लाख २६ हजार ७६३ हुन्छ। यसको अर्थ माओवादीका उम्मेदवारले आफ्नो दलको भन्दा करिब दोब्बर मत पाएका छन्। यो मत गठबन्धन दल, त्यसमा पनि खासगरी कांग्रेसलाई जाने मत हो।
माओवादीको सबैभन्दा ठूलो गुनासो काठमाडौंमा कांग्रेसको मत ट्रान्सफर भएन भन्ने छ। तर काठमाडौंमा गठबन्धनका तर्फबाट उठेका तीनै जना उम्मेदवारले यसकारण जित्न सकेनन् कि यहाँ माओवादीको मत नगन्य मात्र थियो।
उदाहरणका लागि सत्ता गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं ९ मा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४ सय २ भोट ल्याइन्। जबकी माओवादी केन्द्रले यो क्षेत्रमा समानुपातिकतर्फ १ हजार ५ सय १ मत मात्रै पाएको छ। अर्थात् धमलाले आफ्नो दलले समानुपातिकमा पाएको भन्दा ४ गुणा धेरै मत पाएकी छिन्। यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले समानुपातिक मत ८ हजार ५ र एकीकृत समाजवादीले ६ सय ५८ मात्रै मत ल्याएको छ। त्यसैले कांग्रेसलाई समानुपातिकमा मत दिएका धेरैले माओवादीलाई प्रत्यक्षमा मत दिएको देखिन्छ।
त्यस्तै काठमाडौं ७ की माओवादी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याइन्। जबकी माओवादी केन्द्रले यो क्षेत्रमा समानुपातिकतर्फ १ हजार ६ सय ६८ मत मात्रै पाएको छ। नेपाली कांग्रेसले समानुपातिकमा ५ हजार ४० मत ल्याएको छ भने एकीकृत समाजवादीले २ हजार २सय ७८ मत ल्याएको छ।
यहाँ पनि मानुषीले पाएको बहुसंख्यक मत कांग्रेसकै हो भन्ने प्रष्टै देखिन्छ।
अब काठमाडौं बाहिर दाङ क्षेत्र नं २ को मत हेरौं। जहाँ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेललाई हराइन्।
शर्माले २६ हजार ८ सय ८७ मत ल्याएर विजयी भइन्। जबकी यो निर्वाचन क्षेत्रमा यसपालि माओवादी केन्द्रले समानुपातिकतर्फ १० हजार ८ सय २० मत मात्रै ल्याएको छ। यसरी झन्डै १६ हजार मत कांग्रेसबाट आएकोले उनले जित सम्भव भएको देखिन्छ। यहाँ कांग्रेसले समानुपातिकतर्फ १९ हजार ५ सय ९१ मत ल्याएको छ भने एकीकृत समाजवादीले ७ सय ८२ मत मात्र ल्याएको छ।
कांग्रेस 'मास बेस्ड' पार्टी हो, त्यसैले 'क्याडर बेस्ड' पार्टीको जस्तो अर्को पार्टीमा सत प्रतिशत मत ट्रान्सफर हुँदैन। सत प्रतिशत मत त कुनै पनि दलबाट अर्को दलमा ट्रान्सफर हुन सम्भव हुँदैन।
निर्वाचन परिणामको विश्लेषण गर्दा के देखिन्छ भने माओवादी केन्द्रको सम्मानजनक मत भएको ठाउँमा कांग्रेसको भोट थपिँदा जित सहज भएको छ।
जस्तो, जाजरकोटमा माओवादीले समानुपातिकमा १४ हजार ४ सय १२ मत ल्याएको छ। तर प्रत्यक्षमा माओवादी उम्मेदवार शक्तिबहादुर बस्नेतले ३४ हजार १ सय ५१ मत ल्याएका छन्। यो क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ २२ हजार ९ सय ३४ मत ल्याएको छ। एमालेले १९ हजार ७ सय ४९ मत ल्याएको छ। बस्नेतको व्यक्तित्वले केही मत थपिन्थ्यो होला तर कांग्रेसको मत ट्रान्सफर नभएको भए जित कठिन थियो। त्रिपक्षीय प्रतिस्पर्धा भएको भए यहाँ बस्नेतलाई जित्न झनै कठिन थियो।
त्यस्तै सिन्धुपाल्चोक-१ मा माओवादीका माधव सापकोटाले ३० हजार ४ सय ल्याएर जितेका छन्। समानुपातिकमा मत भने माओवादीको १४ हजार ८ सय ८५ मात्रै छ।
एमालेले वर्षौंदेखि जितेका तर आफूले जित्न कठिन भएका क्षेत्रमा समेत कांग्रेसका मतदाताले माओवादीका उम्मेदवारलाई सहजै मत दिएको देखिन्छ। उदाहरणका लागि खोटाङलाई लिन सकिन्छ। यो क्षेत्रमा वर्षौंदेखि एमालेले जित्दै आएको थियो। यसपटक सत्ता गठबन्धनको बलमा माओवादीले जितेको छ। माओवादीका रामकुमार राईले ३१ हजार ३ सय ५१ मत ल्याएका छन्। तर माओवादीले समानुपातिकतर्फ ११ हजार ८ सय ४५ मत मात्रै पाएको छ। यो क्षेत्रमा त कांग्रेसको मत सर्लक्कै गएको देखिन्छ। उसले समानुपातिकतर्फ १८ हजार ६ सय ७२ भोट ल्याएको छ। एकीकृत समाजवादीले ३ हजार ३ सय ६३ मत ल्याएको छ।
समानुपातिकतर्फ सबैभन्दा धेरै भोट ल्याएको एमालेले २४ हजार २ सय ७१ ल्याएको छ। गठबन्धन नगरेको भए र कांग्रेसको मत ट्रान्सफर नभएको भए एमालेको जितलाई कसैले रोक्न सक्ने अवस्था थिएन।
त्यस्तै, भोजपुरमा माओवादीका सुदन किराँतीले २८ हजार ५ सय ९१ मत ल्याउँदा माओवादीले समानुपातिकमा १२ हजार ७ सय ५० मत मात्रै ल्याएको छ। यहाँ पनि कांग्रेसको मतबिना माओवादीले जित्न सम्भव थिएन।
अर्कोतिर कतिपय शहरी क्षेत्रमा कांग्रेसका परम्परागत मतदाताले यसपालि आफ्नै पार्टीलाई समेत मत दिएका छैनन्। यहाँ माओवादीलाई पनि कांग्रेसको मत कम मात्रामा ट्रान्सफर भएको छ।
आफ्नो उम्मेदवार नभएको ठाउँमा त कांग्रेसका धेरै भोट राष्ट्रिय स्वतन्त्र पार्टीलाई जाँदा त्यसको फाइदा कतिपय क्षेत्रमा एमालेलाई समेत भएको छ। तर समग्रमा गठबन्धनको लाभ माआवादीलाई पनि भएको छ।
अहिले माओवादीका कतिपय नेता-कार्यकर्ता तर्क गरिरहेका छन्- माओवादी एक्लै निर्वाचनमा गएको भए पनि कम्तीमा यति वा योभन्दा धेरै सिट ल्याउँथ्यो। के त्यो साँच्चै हो?
तथ्यले त्यसो भन्दैन।
माओवादीले रोल्पा, रूकुमपूर्व, रूकुमपश्चिम, कालीकोट र गोरखाका २ क्षेत्र गरी ६ ठाउँमा मात्रै समानुपातिक तर्फ अरू पार्टीको भन्दा धेरै मत ल्याएको छ। एक्लाएक्लै लड्दा बढीमा यति सिट जित्ने देखिन्छ। तर यी सबैमा माओवादीले जित्थ्यो भन्ने ग्यारेन्टी हुन्न।
उहारणका लागि कालीकोटमा माओवादीले समानुपातिकतर्फ १४ हजार २२९ मत ल्याएको छ। तर यहाँ एमालेका उम्मेदवार नागिन्द्र शाहीले १६ हजार ७१८ मत ल्याएका छन्।
यो पनि: