कञ्चनपुर-१ मा पाँच वर्षअघि वाम गठबन्धनकी साझा उम्मेदवार थिइन्, विना मगर। अहिले सत्ता गठबन्धनले पनि उनैलाई प्रतिस्पर्धामा उतारेको छ।
कञ्चनपुर-१ मा मगरको तेस्रो प्रतिस्पर्धा हो। २०७० सालमा एमाले उम्मेदवारसँग हारेकी उनी २०७४ सालमा एमालेकै साथ पाएर जित हात पारेकी थिइन्। माओवादी अध्यक्ष प्रचण्डकी बुहारी समेत रहेकी उनी संघीय सरकारको खानेपानी मन्त्री समेत भएकी थिइन्।
अहिले भने एमालेका तारा लामासँग उनको प्रतिस्पर्धा हुँदैछ। वाम गठबन्धनबाट प्रतिनिधिसभा जितेर मगर संघीय सरकारको खानेपानी मन्त्री समेत भइन्। प्रदेशसभा जितेका लामा प्रदेश सरकारका मन्त्री भए।
२४ वर्षकै उमेरमा २०५४ सालमा तत्कालीन कालिका गाविसको अध्यक्षमा निर्वाचित भई चर्चामा आएका तामाङले एमाले कञ्चनपुरको सचिव र अध्यक्ष हुँदै लामो समय पार्टीको जिल्ला नेतृत्व गरेका थिए। एमाले विभाजनका बेला उनी नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेका थिए।
एक महिना जति सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत बने। उनी गत भदौमा फेरि एमाले फर्किए।
सत्ता गठबन्धनको साथ पाएकी उनले यो क्षेत्र जित्लिन् कि नजित्लिन् भन्ने धेरैको चासो छ।
पछिल्ला केहीदिन सेतोपाटीले यो क्षेत्रमा पर्ने पुनरवास नगरपालिका १, १० र २, लालझाडी गाउँपालिकाको १, २, ३ र ४, बेलौरी नगरपालिका २, ४, ६, ८ घुमेर १०७ मतदाता भेटेको छ। मतदातासँगको कुराकानीपछि हाम्रो निष्कर्ष छ, उनलाई यो क्षेत्रमा जित हात पार्न सकस हुनेछ।
हामीले भेटेका ४२ जनाले (३९ प्रतिशत) ले यसपालि विना मगरलाई मत दिने बताएका छन् भने ४१ मतदाता (३८ प्रतिशत) ले एमालेका लामालाई मत दिने बताएका छन्। ५ जना (४ प्रतिशत)ले स्वतन्त्र उम्मेदवारलाई दिने बताए भने १२ जना (११ प्रतिशत) मतदाताले कसलाई भोट दिने निर्णय गरिसकेका छैनन्।
हामीले कुराकानी गरेका मतदातामध्ये यसअघिको चुनावमा विना मगरलाई भोट दिएका मतदाता ६८ जना भेटिए।
यसको ठूलो हिस्सा एमालेले तान्ने देखिन्छ। ६८ मध्ये ३८ जनाले यसपालि एमालेका तारा लामालाई मत दिने बताए। यो भोट यसअघिको चुनावमा एमालेबाट विनालाई गएको हुनुपर्छ। किनभने यी ३८ जनाले नै समानुपातिकमा एमालेलाई भोट दिने बताएका छन्।
विनाले यसअघिको निर्वाचनमा पाएका बाँकी ३० भोटबाट जम्मा १३ भोट उनले पाउने छिन्।
यसअघि उनलाई भोट दिएका पाँच मतदाताले यसपालि स्वतन्त्र उम्मेदवारलाई भोट दिने निर्णय गरिसकेका छन्। अरू १२ मतदाताले यसपालि कसलाई दिने भन्ने निर्णय गरिसकेका छैनन्।
विनाले यसअघिको चुनावमा पाएको आधाभन्दा बढी मत अन्तै गए पनि यसपालि उनलाई ठूलो संख्यामा कांग्रेसबाट मत आउने देखिन्छ।
उनका प्रतिस्पर्धी तारा तामाङलाई भने एमालेको भोट र केही राप्रपाको भोटमात्र आउने देखिन्छ।
हामीले भेटेमध्ये ४१ जनाले एमालेका तारा लामालाई भोट दिने बताए। यीमध्ये ३८ परम्परागत रूपमै एमालेका मतदाता हुन्। यसअघि उनीहरूले विनालाई दिए पनि यसपालि एमालेमै फर्किएका छन्। यसअघिको चुनावमा राप्रपालाई दिएका तीन जनाले यसपालि तारा लामालाई भोट दिने बताएका छन्।
१०७ मतदातासँगको प्रत्यक्ष कुराकानीमा उनीहरूबीच प्रतिस्पर्धा देखिए पनि गएको स्थानीय चुनावको नतिजा हेर्दा एमालेभन्दा गठबन्धनकै मत यहाँ बढी देखिन्छ। स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षले १९ हजार ७ सय ७३, कांग्रेसकाले १८ हजार ६ सय ६०, माओवादीकाले १५ हजार २ सय ४९ र एकीकृत समाजवादीकाले ३ हजार ५ सय २१ मत पाएका थिए।
सय जना भनेको थोरै संख्या हो त्यसैले यसले त्यहाँको प्रतिस्पर्धाको स्पष्ट तस्बिर देखाउँदैन।
हामीले कुराकानी गरेका ४ जनाले (४ प्रतिशत)ले भने यसपालि कसैलाई पनि मत नदिने बताए। मत नदिनेहरू मध्यको बेलौरी नगरपालिका–६ का २५ वर्षीय किरण चौधरीले आफ्नो पहिलो पटक भएपनि अहिलेसम्म दिने मत दिन मन नलागेको बताए।
‘भोट के का लागि दिने ? यो निर्वाचन हो र ? यो त पार्टीका नेताहरूले मिलेर खाने योजना मात्रै गरेका हुन्, चुनाव भनेको त हरेक पार्टीबीच प्रतिस्पर्धा हुनुपर्थ्यो, पार्टी-पार्टी मिलेर खाने गठबन्धन बनाउँछन्, उनीहरूलाई खानका लागि पठाउनुभन्दा मत नदिने म त,’ उनले झोक्किँदै भने।
यसअघि जितेर गएकी विना लामो समय मन्त्री भएर पनि आफ्नो क्षेत्रमा उल्लेखनीय काम नगरेको गुनासो स्थानीयमाझ छ।
अर्कोतर्फ एमालेका तामाङमाथि पनि विभाजनका बेला एमाले छाडेको र स्वार्थ पूर्ति नभएपछि पुन: एमाले फर्किएको आरोपसमेत छ।
त्यही पनि गएको पाँचवर्षे कार्यकालमा विनाको काम कारबाहीबाट असन्तुष्टहरूले यसपालि तारालाई भोट दिने देखिन्छ।
बेलौरी नगरपालिका–६ भुराकोटका ३६ वर्षीय केशवदत्त पन्तले यो चुनावमा तामाङलाई नै भोट दिने निर्णय गरेका छन्।
‘अन्य भोट हेरेर दिने हो। पहिला विना मगरलाई जितायौं, काम केही गरेको देखेनौं, चुनावको बेला मात्रै गाउँमा आउने अरू बेला कहाँ-कहाँ, नाक-मुख नदेखाउने, त्यही भएर यो पटक भोट बदल्ने विचार हो,’ पन्तले भने।
बेलौरी नगरपालिका–४ का ६७ वर्षीय मकर बोहराले पनि पन्तको जस्तै विचार रहेको सुनाए।
‘विना मगर ज्युले चुनावमा भन्सार नाका संचालन गर्छौं, सीमा समस्या हटाउँछु, बाटोघाटो समस्या समाधान गर्छौं, कृषि, खानेपानीमा काम गर्छौं भन्नुभयो। यत्रो पाँच वर्ष केही भएको देखिएन, यहाँका जनताले खानेपानी नपाएर जाँच नगरेको नल्काको पानी खाँदा कतिलाई पत्थरीको समस्या छ। यहाँ केही काम भएको छैन,’ उनले आक्रोश पोखे।
उनले पाँच वर्षपछि भोट माग्न आएर मात्र नहुने बताए।
‘यो पटक तारा लामा तामाङलाई दिन लागेको हो। उनले काम गर्छन् कि भन्ने आश हो, हुन त सबे नेता उस्तै हुन्। जनताले भोट दिनु धर्म नै हो त्यही हिसाबले भोट हाल्ने गरेका छौं,’ उनले थपे।
स्थानीय भएकाले पनि ताराले यहाँको भोट पाउने देखिन्छ।
लालझाडी गाउँपालिका–३ का ४५ वर्षीय कमलसिंह वडायकले तामाङले स्थानीयका समस्या नजिबाट हेरेकोले काम पनि गर्ने हुँदा मत दिने बताए।
‘कम मान्छेलाई यहाँका समस्या थाहा हुन्छ, उहाँले यो ठाउँको समस्यालाई नजिकबाट हेर्नुभएको छ त्यहि भएर हामीले विना मगरलाई नभई ताराज्युलाई भोट दिन लागेको हो,’ उनले सुनाए।
विनालाई भोट दिन्छु भन्नेहरूले भने उनले काम गर्लिन् कि भन्ने आशा रहेको बताए। त्यस्तै उनी महिला र युवा भएकाले भोट दिन्छु भन्नेहरू पनि छन्।
तीमध्ये लालझाडी गाउँपालिका–२ कञ्चगाउँकी ३५ वर्षीय रामबेटी चौधरी पनि एक हुन्। उनले पाँच वर्ष अगाडि दिएको मत पुन: मगरलाई दोहोर्याउने बताइन्।
‘विना मगर महिला हुनुहुन्छ। महिलाको हृदय कमलो हुन्छ, इमान्दारी पनि हुन्छन्, महिलाहरूका समस्या उहाँले देख्नुहुन्छ, बुझ्नुहुन्छ भनेर, पहिला पनि उहाँलाई भोट दिएको हो, अहिले पनि म भोट दिने हो,’ उनले भने।
यस्तै बेलौरी नगरपालिका–२ का २८ वर्षीय मानबहादुर चौधरीले पनि मगरलाई सहयोग गर्ने बताए।
‘उहाँ युवा हुनुहुन्छ, यो ठाउँको विकासको लागि उहाँले धेरै काम गर्नुभएको छ, महिला नेतृत्व हुनुपर्छ भनेर उहाँलाई भोट दिन लागेको हो। अरूलाई दिनुभन्दा उहाँलाई दिन ठिक लाग्यो,’ उनले भने।
बेलौरी नगरपालिका–७ का २९ वर्षीय स्थानीय हिरालाल चौधरीले मगरलाई भोट दिएर जिताएपछि आफ्नो क्षेत्रका लागि काम गरिदिनुपर्ने बताए।
‘हामीले खानेपानी खान पाएका छैनौं, खेती सिजनमा मल पाएका छैनौं, बाटो छैन, धेरै समस्या छ, उहाँले भोट दिने त हो, हामीले भोट दिएअनुसार काम गरिदिनुपर्यो,’ उनले भने।
त्यसबाहेक कांग्रेसका मतदाताले उनलाई भोट दिनेछन्। लालझाडी गाउँपालिका–२ ६३ वर्षीय लस्लु राना एक हुन्। अहिले माओवादी पनि कांग्रेससँग मिलेकोले विना मगरलाई भोट दिने उनको भनाई छ।
‘कांग्रेसको उम्मेदवार छैन केन्द्रमा उहाँलाई त दिनैपर्या नि। जितेपछि हाम्रो ठाउँमा नदिको समस्या छ तटबन्ध लगाइदिनुपर्छ, छाडा पशुचौपायाको समस्या छ, बाटो छैन, बनाउइदिनुपर्यो,’ उनले भने।
उनका अनुसार स्थानीयहरूले कयौं वर्षदेखि जग्गाको लालपुर्जा पाउन सकेका छैनन्। उनले अब जित्नेहरूले लालपुर्जा दिलाउने काम पनि गर्नुपर्ने बताए।
यी पनि:
पढ्नुहोस् सेतोपाटी निर्वाचन विश्लेषण शृंखलाका स्टोरी