अस्ति मङ्सिर १ गते, नेपाल स्रष्टा समाजले आयोजना गरेको एउटा साहित्यिक कार्यक्रममा उक्त समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ एक सर्वेक्षणको हवाला दिएर भन्दै थिए— ‘नेपाली साहित्यमा बर्सेनि बिस हजार किताब छापिन्छन्। यसमा लगभग पाँच हजार जति किताब विदेशमा बस्ने नेपाली साहित्यका साधकहरू आउँछन् र छपाउँछन्। लगभग त्यति नै किताब ग्रामीण क्षेत्रमा बसोबास गर्ने साहित्य साधकहरूले गाउँपालिकाका अध्यक्ष वा स्थानीय स्कुलका हेडमास्टरको अगुवाइमा सहर बजारमा आएर छपाउँछन्। यसरी बर्सेनि थपिने लगभग बिस हजार किताबहरूमा लगभग असी–नब्बे वटा किताबहरू स्तरीय हुन्छन्; पठनीय हुन्छन्।’
हिजो अस्ति मात्र कुनै लेखकको पोस्ट फेसबुकमा पढ्न पाइयो— ‘हालसम्म मेरा बाह्र वटा किताब प्रकाशित भएका छन्। ती किताबमध्ये ककसले कुन कुन किताब पूरै पढेर सक्नु भएको छ? कमेन्टमा लेख्नोस् त।’ यो रोचक पोस्टमा आएका कमेन्ट पनि हेर्न मन लाग्यो; किताब पढेरै कमेन्ट गरे जस्ता लाग्ने कुनै कमेन्ट देखिएनन्।
लगभग दुई वर्ष जति भयो होला; कवाडी वालाको बोराको जुइनो फुकेर बोरामा रहेका नेपाली साहित्यका किताबहरू सडकमा असरल्ल भएछन्। सामान्यतया ललितकलाका सामग्रीहरू संग्रहणीय मानिन्छन्। सङ्ग्रहकर्ताहरू साहित्यिक कृतिहरूको सङ्ग्रह गर्नुलाई उच्च प्राथमिकतामा राख्छन्। पैसा तिरेर किन्छन् र घरमा सजाउँछन्। आफ्नो घरमा समुन्नत पुस्तकालय रहेको कुरामा कतिपय भावहरू सन्तोष व्यक्त गर्दछन्।
आफ्नो घरमा साहित्य सङ्ग्रहको भण्डार भर्नका लागि लागि कतिपय पाठकले लामो यात्रा, ठुलो धनराशि, महँगा फर्निचर र भाडामा जान सक्ने महँगा कोठाहरू खर्च गरेका हुन्छन्; धन, श्रम र समय लगाएका हुन्छन्। यसरी साहित्यिक कृतिहरूको खोजी र सङ्ग्रह गर्ने साधकहरू प्रशस्त छन् र उस्तै उत्साहका साथ आफ्नो काममा जुटिरहेका छन्। तर फेरि साहित्यका किताबहरू पाठकहरूले किन कवाडी वालालाई बेच्न थालेका छन्?
त्यही कार्यक्रममा ‘रोदन’ भन्दै थिए— ‘बजारमा ‘बेस्ट सेलर’ भनेर प्रचारमा आउने साहित्यिक कृतिहरूका सम्बन्धमा प्रकाशकहरूसँग आआफ्नै भित्री कथा हुन्छ। कुन साहित्यिक कृतिलाई बेस्ट सेलरका रूपमा कसरी प्रचारमा लैजाँदा पाठकहरूले पत्याउलान् र राम्रो व्यापार हुन सक्ला भन्ने कुरा प्रकाशक, वितरक र बिक्रेताहरूको व्यापार रणनीतिमा निर्भर गर्दछ।’
नेपाली साहित्यका क्षेत्रमा नयाँ किताबहरू थपिइरहनुलाई नेपाली साहित्यप्रति चासो राख्ने मानिसहरूले उपलब्धिका रूपमा बुझ्दै आएका छन्। आफूले सिर्जना गरेका साहित्यिक किताबहरू कुनै प्रकाशन गृहले छाप्नु, बजारमा राम्रोसँग बिक्नु, पाठकले राम्रो रेस्पोन्स गर्नु र सङ्ग्रहयोग्य सामग्रीका रूपमा ग्रहण गर्नु लेखक/साहित्यकारहरूका लागि सुखद पक्ष हुन सक्ला। साहित्य साधनामा उत्साहका साथ नयाँ साहित्यकारहरू देखिनु, चिनिएका साहित्यकारहरूमा सिर्जनात्मक उत्साह नघट्नु र भटाभट साहित्यिक कृतिहरू प्रकाशित हुनु साहित्यप्रति चासो राख्ने नागरिकहरूका लागि सामान्य हेराइमा उत्साहजनक अवस्था हो। यो एउटा पक्ष भयो।
भाषा साहित्यको उन्नयनको भूमिकामा देखिएका साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरूले साहित्यिक कृतिहरू कमै प्रकाशित गरेका छन्। किताब के, साझा प्रकाशनको नियमित प्रकाशन ‘गरीमा’ स्तरीय साहित्यिक पत्रिका थियो; बन्द भयो। केही वर्षपछि फेरि प्रकाशन प्रारम्भ भयो र केही अङ्क निस्केर बन्द भयो। नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘प्रज्ञा’ ‘कविता’ ‘समकालीन साहित्य’ जस्ता पत्रिका नियमित प्रकाशनका रूपमा देखिएका हुन्। तर यी पनि जसोतसो निस्किएझैँ देखिएका छन्।
निजी क्षेत्रका रत्न पुस्तक भण्डार जस्ता केही पुराना प्रकाशन गृहहरू नयाँ साहित्यिक कृतिहरूको प्रकाशनका सन्दर्भमा कमै उत्साहित देखिन्छ।
यी संस्थाहरू सक्रिय रहेको अवस्थामा कृतिको परख हुन्थ्यो र छानिएका कृतिको सम्पादन हुन्थ्यो तथा कृति प्रकाशित हुन्थ्यो। सम्पादनको चरणबाट गुज्रिनु पर्ने भएकाले छापिएका कृतिहरू केही स्तरीय हुन्थे, भाषिक दृष्टिबाट शुद्धाशुद्धिलाई ख्याल गरिएका हुन्थे र पठनीय लाग्दथे। अब त्यो अवस्था कमजोर बन्यो र ‘किताब छाप्नु पर्छ भने जसले लेख्छ; उसैले गोजीबाट पैसा हालेर छाप्छ’ हाबी भयो। आफैले पैसा हालेर छाप्नु पर्ने भएपछि कृतिको संरचनागत र भाषागत सम्पादनको महँगो/अतिरिक्त खर्चतिर किन लाग्ने भन्ने पक्षमा कृतिको सम्पादनको महत्त्व नबुझ्ने लेखक/साहित्यकारहरू कृति प्रकाशनको हतारोमा देखिन थाले।
कथा, कविता, निबन्ध, एकाङ्की जस्ता फुटकर रचनाहरू सङ्ग्रहका रूपमा प्रकाशित हुने गर्दछन्। यस्ता रचनाहरू साहित्यिक पत्रिकामा प्रकाशित हुन् भने तिनले सम्पादनको एक तह पार गरेका हुन्छ। सामान्यतया साहित्यिक सर्जकलाई स्थापित गराउने सवालमा साहित्यिक पत्रिकाहरूको योगदानलाई स्वीकार गरिन्छ। तर अब साहित्यिक पत्रिकाहरू पनि बजारमा कमै देखिन्छन्।
‘रूपरेखा’का बालमुकुन्ददेव पाण्डे, उत्तम कुँवर जस्ता, ‘मधुपर्क’का भैरव अर्याल, कृष्णभक्त श्रेष्ठ, कपिल घिमिरे जस्ता, ‘गरीमा’का कृष्णचन्द्रसिंह प्रधान, विष्णुविभु घिमिरे जस्ता, ‘रचना’का रोचक घिमिरे जस्ता र ‘अभिव्यक्ति’का नगेन्द्रराज शर्मा जस्ता सम्पादकका नजरमा प्रकाशनयोग्य ठहरिई प्रकाशित भएका फुटकर रचनाहरूको सङ्ग्रहले बजारमा राम्रो स्थान प्राप्त गर्दथ्यो। कवि श्यामल अधिकारी केही दिनअघि एक अनलाइन–वार्तामा भन्दै थिए— ‘वर्तमान अवस्थामा साहित्यिक पत्रिकाका सम्पादकहरू सम्पादकभन्दा बढी सङ्कलक हुन्।’
नेपाल राष्ट्र बैङ्कको साहित्यिक प्रकाशन ‘मिर्मिरे’को सम्पादनमा रहिसकेका केदारप्रसाद आचार्यले एक प्रसङ्गमा भनेका थिए— ‘साहित्यिक पत्रिकाहरूका सम्पादकले साहित्यकारहरूसङ रचना माग्नु पर्ने अवस्था भयो भने सही स्तरमा रचनाको सम्पादन हुन सक्दैन। साहित्यिक पत्रिकाका कार्यालयमा रचना प्रशस्त पुग्नु पर्छ, सम्पादकले ती रचनाहरूबाट प्रकाशन योग्य रचना छान्न र तिनको सम्पादन गर्न पाउनु पर्छ। तब मात्र साहित्यिक पत्रिकामा स्तरीय रचना छापिन सम्भव हुन्छ।’
पछिल्लो छिमलका धेरैजसो कवि/साहित्यकारहरू आफ्नो रचनाहरू साहित्यिक पत्रिकामा प्रकाशित गर्नेतर्फ लाग्दैनन्। यी आफ्ना रचना प्रथमतः आफ्नो फेसबुक पेजमा पोस्ट गर्छन्; त्यसमा आउने लाइक र स्टिकरका रूपमा देखिने ‘वाह! वाह!’ मा दङ्ग पर्छन् र एउटा सङ्कलनका लागि आफ्ना सामग्रीहरू पर्याप्त भएपछि प्रकाशन गर्न हतारिन्छन्। नवसर्जकहरूको यस्तो प्रवृत्तिलाई निकास दिन साहित्य केन्द्रित केही अनलाइन प्रकाशनहरू प्रयत्नरत छन्।
केही साहित्य केन्द्रित अनलाइन पोर्टलहरू साहित्यका सबै विद्या समेट्ने किसिमले र केही खास विधामा केन्द्रित देखिएका छन्। यहाँ सर्जकहरूका बिच लाइक र कमेन्टको ‘ऐँचो पैँचो’ हुन्छ। लाइक र कमेन्टको सङ्ख्या कम भयो भनेर कतिपय साहित्यिक जमघटमा नवसर्जकहरूलाई जङ्गिइरहेको अवस्थामा भेट्न पनि सकिन्छ।
प्रकाशनका लागि रचना छनोटको यो रुट र रचना सम्पादनको यस्तो अवस्थामा स्तरीय र पठनीय नेपाली साहित्यिक कृति बजार उपलब्ध नहुनु अस्वाभाविक होइन।