बालाकोटको पश्चिम र बेउलिबासको सिधै माथि एउटा ठुलो चउर थियो। तल बेउलिबास र पारि टकलाकबाट हेर्दा तालु खुइलिएको टाउको जस्तो देखिने डाँडोको त्यो चउर वर्षा मासमा सयौँ रङ्गीबिरङ्गी फूलले ढकमक्क हुन्थ्यो। भुईँ घाँसले हरियो हुन्थ्यो। चउरको वरिपरि पैयूँका रुखको जङ्गलजस्तै थियो। पैयुँ फूलेको बेलाको त्यो भूगोलको सौन्दर्यता अद्वितीय हुन्थ्यो। मानौँ स्वर्गको बगैँचा सुटुक्क ओर्लेर त्यहाँ आएको छ र अडिएको छ त्यतै कतै।
पैयूँका फूलसँगै भोजपत्रका बोक्राको सुगन्धले हावा नै लट्टिन्थ्यो। डाँडैभरि फूलेका पैयूँ र लालीगुराँस, सुगन्ध फैलाएका भोजपत्र, रंग फिँजाएका फूल र आँखै बिछ्याइदिने हरिया चउरमा नाचेका पुतली, गीत गाउँदै गरेका चरा र नाच्दै गरेका कस्तुरीका बथान देखेर माथि आकाशबाट घाम जूनले पनि डाँडामाथि आइपुगेपछि एकछिन टक्क रोकिन्थे र घुटुक्क थुक निल्थे। संसारको सुन्दरताको पूर्ण पर्याय थियो त्यो डाँडाको चउर। त्यही चउरलाई गाउँलेले नाम राखेका थिए– पैयूँ डाँडा।
त्यहाँबाट देखिन्थ्यो– सेतिबेनी, चर्काङ, टकलाक, उराम, बेउलिवास, भूर्तेलथोक, काभ्रे, हुल्काङ, चिसापानी, सरौँखोला, भोर्ले, बालाकोट, पाखापानी, अर्जुनचौपारी, भीरकोट, लुँखु, फलामखानी, अर्गौँदी र होश्राङ्ग्दी। अर्थात् पैयूँ क्षेत्रको लगभग सबै गाउँ त्यहाँबाट एकै पटक देखिन्थ्यो। तल सरौँ खोला, गेडी खोला, मर्दी खोला र सिउदी खोलामा बगेको नीलो पानी देखिन्थ्यो। खोलाको आसपासका फाँटमा तरेली परेका खेतका गरा देखिन्थे। अनि अलि टाढा देखिन्थ्यो– तामेकोट राज्य।
बलिहाङ राज्यको एउटा सुन्दर भूभाग थियो पैयूँ क्षेत्र। मगरहरूको गाउँले शासनमा चलेको। हुन त बलिहाङ राज्य नै मगरात राज्य थियो र यसका लगभग सबै क्षेत्रका गाउँमा मगरहरूलाई मुख्य जिम्मा दिइएको थियो। पैयूँ यसको अपवाद थिएन।
जिम्मावाल बुढा र द्वारेबाहेक पैयूँमा अलि जान्ने बुझ्ने कहिलएकामा शेरु चितौरे र बदल थापा मगर थिए। मगरहरूको भुरे शासनजस्तै थियो। जिम्मावाल गञ्जु आलेले डाँडाको बालाकोटतिर, द्वारे पिउर रानाले सरौँखोला तिर, शेरु चितौरेले बेउलिबासतिर र बदल थापा मगरले टकलाकतिर बसेर पैयूँ क्षेत्रमा रखवाली गर्ने जिम्मा पाएका थिए। बलिहाङ राज्यको उत्तरतर्फको पैयूँ क्षेत्र यिनै चार मगरहरूले चलाएका थिए।
बलिहाङ राजाको शासनकालमा अत्यन्त शक्तिशाली राज्य उनको मृत्यु भएपछि बिस्तारै कमजोर बन्दै गयो। उनीपछि राजा भएका अभय रानाको शासनकालसम्म बलियै थियो। तर त्यसपछिका राजाहरूको पालामा बल्ढेङगढी नजिकका केही गाउँहरू छुट्टै राज्यका रूपमा रहन थाले। इस्मा, खाँची, अर्घा जस्ता छुट्टै राज्य बन्न लागेपछि त्यसको बाछिटा पैयूँसम्म आइपुग्यो। मुनिखाँबो कमजोर भएपछि डाँडाभाटाले पनि किन अडिन मान्छन् र छानामा?
पैयूँ गाउँमा बिस्तारै राजा बिनाको शासन चल्न थालेजस्तो भयो। गाउँ-गाउँका बिचमा मित्रता हराउन थाल्यो। एक गाउँले अर्को गाउँसँग निहुँ खोज्न थाले। बालाकोट, सरौँखोला, बेउलिवास र टकलाकका चार भुरे शासक आफैँमा म ठुलो भन्ने प्रतिस्पर्धा गर्न थाले। बलियो र सुन्दर पैयूँ बिस्तारै नमिलेको, कमजोर र टुक्रिएको क्षेत्रजस्तो बन्न थाल्यो।
वि.सं. १५०१ को फागु पूर्णिमाको दिन। टकलाकका बदल थापा मगरले सेतिबेनीमा मेलाको आयोजना गरेर त्यसमा गञ्जु आले, पिउर राना र शेरु चितौरेलाई पनि निम्ता पठाए। आफ्ना मितमार्फत उनीहरूलाई निम्ता पठाउँदा भोजपत्रको बोक्राले बेरेर राखेका घ्यूका एक-एक वटा डल्ला समेत सँगै पठाएको थिए। त्यति बेला घ्यूको डल्लो दिनु भनेको पवित्र सल्लाह गर्नु भन्ने अर्थ लाग्थ्यो। तर दलसिंहले निम्तो भनिरहँदा एक सर्त राखेका थिए– गञ्जु, पिउर र शेरु एकै साथ सेतिबेनी जानु नहुने।
त्यसमा उनले तर्साउन भनेका थिए– यहाँ पैयूँका तिमी मगरहरू आपसमा मिलेका छैनौ, तिमीहरू एक अर्कालाई अलग्याएर यो क्षेत्रको एक्लो शासन गर्ने मनसुबा बोकेका छौँ। एकैसाथ जाँदा आपसमा कलह होला। त्यसैले छुट्टाछुट्टै जानू, सेतिबेनीको दोभानमा मेरा मित चार वटा घोडा लिएर तिमीहरूलाई कुरिरहेका हुनेछन्। तिमीहरू घोडा लिएर पनि नजानू। बरु गाउँका अरू भलाद्मी लिएर जानू।
छुट्टाछुट्टै खबर पाए पनि उनीहरू तिनै जनाको मनमा उस्तै चिसो पस्यो र उस्तै गरी मन न्यानो भयो पनि। छुट्टाछुट्टै जानुपर्ने सर्त सुन्दा आफूमाथि हमलाको डर थियो तर गाउँका अरू भलाद्मी लिएर जान हुने र सेतिबेनी दोभानमा चार वटा घोडा लिएर बदल थापा मगर कुरेर बस्ने भन्ने कुराले कुनै ठुलै विषयमा छलफल गर्न बोलाएको भन्ने लख काटे।
फागु पूर्णिमाको दिन। बदल थापा मगरले टकलाक, चर्काङ, विहादी र रानीपानीका मान्छेहरूलाई सेतिबेनीमा आपसी भोजभतेर गर्न उर्दी जारी गरेका थिए। सबैका घरबाट दूध, चामल, तरकारी, खुदो जे जे छ लिएर सेतिबेनीको बगरमा जाने र सबै मिलेर खिर खाने गरी उनले प्रबन्ध मिलाएका थिए। हनुमानडाँडाका षडानन्द जैसी, कुमालगाउँका बलिराम रिज्याल, चर्काङका तुल्सीराम पाध्या र टकलाकका लक्षुमन घलेले सेतिबेनीको बगरमा भान्सेको जिम्मा लिए।
जोगिमाराबाट बोलाइएका कत्ले दमैले अलि पर अग्लो तर फराकिलो परेको ढुङ्गामाथि बसेर दमाहा बजाए। आइमाईहरू तरकारी काट्न थाले। अलि भरखरका जवान ठिटाहरूले दाउरा खोजेर ल्याउने जिम्मा लिए। खस्री बुढी, मंगली माइली र धाइनी बज्यैले भाडा माझ्ने जुठेल्नुमा खरानी र मोसो लिएर टुक्रुक्क बसे। कारीकोटबाट दाइजोमा पाएको गाग्री लिएर आएकी लिंसियाली मगर्नी कान्छीले सेती खोलाबाट पानी बोकेर पुर्याउन लागि।
कोही अलि पर बर-पिपल समीको फेदमुनि बसेर समीका पात बजाउँदै सुसेल्न थाले। कोही ब्रह्माका दाह्री भन्दै बरका लामा लामा हाँगे जरामा पिङ खेल्न थाले। केही बाहुनहरू शिला शालिग्राममा पूजा गर्न लागे। बाहुनीहरू र युवतीहरू लाखबत्ती बाल्न थाले। बदलले लिएर आएका चार ओटा सेता घोडा अलि परको घाँसे चउरमा चरिरहेका थिए। माहौल रमाइलो बन्यो। सेतिबेनीमा पहिलो चोटि मेला लाग्यो। यो सबै कुराको तारतम्य मिलाउन कसिएका थिए– बदल थापा मगरका मित पूर्तिघाटका दल सिं राना मगर।
घाम जलुकेको लेकभन्दा धेरै माथि आइसकेको थियो। बुढा बदल थापाले अरू तिन मगर नाइके आउने पारिको बाटो हेरिरहेका थिए। उनीहरूलाई सेती खोलो तार्न टुनीको डुंगा पारिपट्टिको बगरमा बिहानैदेखि कुरिरहेको थियो। अरू सबै फड्के तरेर सेती खोला र काली नदीको बिचको बगरमा आएका भए पनि बदल बुढाले उनीहरूको सम्मानका लागि डुंगा तैनाथ गरेका थिए। र डुंगा कुरेर बसेको थियो– काभ्राङको मुरली बोटे।
सबैभन्दा पहिले बालाकोटे गञ्जु आले आफ्ना कान्छा बाउ रुइसे मगरलाई साथमा लिएर पुगे। क्रमैसँग सरौँखोले पिउर राना र बेउलीबासे शेरु चितौरे पनि पुगे।
चार पाला मगरका नाइके चारै जना भेट भएपछि बदलले सबैलाई लहरै बगरमा बस्न लगायो। लहरको सुरुमा बालाकोटे अनि क्रमैसँग सरौँखोले र बेउलीबासे मगर नाइके बुढालाई राखेपछि आफैँले टपरीमा खिर लिएर उनीहरूको अगाडि सत्कार गरे। मेला भर्न आएका सबै जनालाई आफ्नै हातले खिर थमाए। अनि भान्से षडानन्द जैसीसँग मागेर आफू पनि त्यही लहरको अन्तिममा बसे।
खिर खाँदाखाँदै शेरु चितौरेका आँखा एक विधवाका आँखामा गएर ठोक्किए। विधवाका आँखाले पनि उसैलाई हेरिरहेका थिए। हातले खिर समाएर मुखमा लगेको थियो तर विधवाका आँखाले चितौरेका आँखामा चौपारी देखेका थिए। ज्यान चितौरेभन्दा अलि पर थियो तर मन हुत्त्याएर सँगै पुर्याएकी थिई। चितौरे बुढा उमेरले बुढो भए पनि ज्यान खाइलाग्दो थियो। चउर जत्रो ठुलो निधार, मगर भए पनि बाहुनका जस्ता आँखा, कुस्तीबाजका जस्ता पाखुरा, बाघको जस्तो ज्यान, पिपलका हाँगाजस्ता बलिया देखिने खुट्टा। उसको त्यो जीउडालले अरू कुन कुन आइमाईका मनमा आँधी-हुरी ल्याएको थियो थाहा भएन, तर ती विधवा आइमाईको मनमा रहरको भुमरी नाच्न थालेको थियो।
भोज सकियो। सबै जना बगरका ढुङ्गासँग, दोभानका लहरसँग, बर-पिपल समीका चौपारीसँग रमाउन थाले। यसै बेला दल सिं रानाले चारै जना मगर नाइकेहरूलाई लिएर खोला पारिको शिला शालिग्राममा लिएर गयो।
शिला शालिग्रामको छेउमा ढुंगामा बसे पाँचै जना। बदल थापाको त योजना नै थियो तर अरू तीन जना मगर नाइके बुढाहरू आपसमा आँखा जुधाउन थाले। आँखामा बोलिरहेका थिए– किन बदलले यसो गरिरहेछ?
कुरा उही दल सिं रानाले सुरु गर्यो।
म कालीपारको मगर आएर पैयूँका तिमीहरूलाई यसरी भगवानको छेउमा बसाल्ने अधिकार त थिएन। तर मेरा मित बदलको योजनाअनुसार यी सबै कामको चाँजोपाँजो मिलाएको हुँ। भोजभतेर मेलाको निहुँ पारेर तिमी चार भाइ नाइकेलाई मिलाउन बोलाइएको हो।
त्यसपछि बदल थापा मगरले बोले– खासमा हाम्रा राजालाई अरू राज्यहरूले कमजोर बनाएपछि बल्ढेङगढीको ध्यान हामीसम्म आइपुग्नै सकेन। हामी राज्यविहीनजस्ता भयौँ, राजा विहीनजस्ता भयौँ। मिलेर बसेका हामी चार पाला मगर नाइकेहरूको गाउँ आपसमा मिल्न छाडे। हामी कमजोर भयौँ। बाउ मरेका टुहुरा केटाकेटीजस्ता भयौँ हामी। गह्रौँसुरे राजा, भीरकोटे राजा र यता तामेकोटका राजाले पनि हामीलाई गुप्त रूपमा प्रस्तावहरू पठाइरहे, फकाइरहे। तिमीहरूलाई पनि कुन राजाको प्रस्ताव मानूँ भन्ने द्विविधा रहिरह्यो र मलाई पनि कहिलेकाहीँ ती राजाका बक्सिस र लोभले लोभ्याइरहे। तर हामी त्यसो गर्नुहुन्न। पैयूँ खोले भनेर चिनिएका हामी हाम्रै स्वाभिमानमा बाँच्नुपर्छ। त्यसैले हाम्रो छुट्टै राज्य बनाउन र राजा खोज्न भनेर तिमीहरूलाई यहाँ बोलाएको हुँ। आगे तिमीहरूको जो मर्जी।
यति भनेर बदल बुढाले शेरुतिर फर्किए।
शेरु चितौरे बुढाको ज्यान त्यहाँ भए पनि ध्यान भने अघि आँखा जुधाएकी विधवा तिरै थियो। आफ्नो कुरा चितौरे बुढाको मनमा नपसेको जस्तो मानेपछि एउटा सानो ढुङ्गा टिपेर कालीको पानीमा फाल्यो अनि पुर्लुक्क बालाकोटे गञ्जु आलेतिर फर्कियो।
आले बुढाको मनमा पनि यही कुरा खेलिरहेको थियो। कसैलाई राजा बनाएर पैयूँलाई छुट्टै राज्य बनाउने उनको पनि रहर थियो। आफ्नै मनकै कुरा बदलले गरेपछि उनी खुसी भए। तमाखुले पहेँला भएका दाँत देखाउँदै माथि आकाशतिर फर्केर आँखा चिम्लिए। अनि बदलको कुरामा राजी जनाए।
आपसमा नमिले पनि गञ्जु आलेको कुरामा नाईँनास्ती गर्न अरूले सक्थेनन्। उनी राजी भएपछि शेरु र पिउरले पनि राजी जनाए। अनि निचोडमा पुगे– राजा खोजेर ल्याएर पैयूँलाई छुट्टै राज्य बनाउने।
तर राजा कहाँ खोज्ने भन्ने कसैले भन्न सकेनन्। कुनै राज्यका राजकुमारलाई राजा बनाएर ल्याउँदा पैयूँ उतै विलय गराउलान् कि भन्ने बिचार गरे। चार पाला मगरबिचकै कसैलाई राजा बनाउँदा राजा बन्न नपाउने गाउँतिरका रिसाउलान् भन्ने पर्यो। आफूहरू नै राजा बन्ने प्रस्ताव राख्न पनि कसैले सकेनन्।
राजा खोज्ने ठाउँ मनमनमा बिचार गर्दा शान्त बन्यो ठाउँ। कालीगंगा र सेती खोला सुसाएको अनि चौपारीमा चरा कराएको बाहेक अरू केही सुनिएन। भोजभतेर सकेका अरू लोग्ने आइमाईहरू पनि अलि परतिर सुस्ताएका थिए। पहिलो चोटि सेतिबेनी पुगेकाहरू आँखाभरि पारी अर्बेनी र स्यालबास, जोगिमारातिरको पाखो हेर्दै रमाउन थाले।
यत्तिकैमा बेउलिबासे शेरु बुढा बोले– हामीमध्येको सबैभन्दा जान्ने यही गञ्जु बुढा हुन्। पैयूँको जिम्मावाल भएर बल्ढेङगढीसम्म पुगेका यिनले हामीले भन्दा धेरै जानेका छन्। राजा खोज्ने जिम्मा यिनैलाई दिऊँ।
उनको त्यो प्रस्तावमा सबै सहमत भए।
अनि गञ्जु बोले– तिमीहरूले मलाई पत्याएर राजा खोज्ने जिम्मा दियौ। तर मैले पनि हामी नजिकका राज्यका कुनै राजकुमारलाई ल्याउने मन गर्दिनँ। बरु आउँदो चैते दसैँको दिन सबैले एक-एक जना बलिया, बोल्नमा सिपालु, खाइलाग्दो ज्यान भएका केटाहरूलाई लिएर सेती खोला र मर्दी खोलाको दोभानमा आउनु। त्यहीँ सल्लाह गरेर तिनै केटाहरूलाई राजा खोज्न पठाऔँला।
उनको यो प्रस्ताव पारित भयो र उनीहरू त्यहाँबाट उठे।
घाम अर्बेनीमाथि पुग्न लागेको थियो। नदी खोलाको छेउको चिसो बतास अलि बेसरी चल्न थालेको थियो। दल सिं रानाले मेलामा आएका सबैलाई फेरि एकै ठाउँमा बोलाए। सबैलाई धन्यवाद दिए। अनि हरेक वर्ष फागु पूर्णिमाका दिन सेतिबेनीमा मेला लगाउने र त्यो मेलामा चारै भाइ मगर नाइकेका गाउँका सबै जना सहभागी हुने प्रस्ताव राखे।
सेतिबेनीको इतिहासको पहिलो मेला सकियो। सबै जना आआफ्नो घरतिर लागे।
फर्कँदै गर्दा चितौरे बुढा, आले बुढा र राना बुढा सँगै फर्के। सेतिबेनीबाट पूर्वउत्तर तिरको उकालो बाटोमा उनीहरू चर्काङतिर लागे। मौवाको जङ्गलको बाटो हुँदै चर्काङ र टकलाक हुँदै सिउदी खोलासम्म सँगसँगै हिँडे। बाटोभरि दिउसोको मेलाको कुरा गरिरहे। बदल र बदलको पूर्तिघाटे मितको कुरा गरिरहे।
शेरु चितौारेको मन भने वैशाख जेठको आकाशजस्तो भएको थियो। कुनै बेला छ्याङ्ग खुला हुन्थ्यो, कुनै बेला बादल लागेजस्तो हुन्थ्यो त कुनै बेला चट्याङ्ग पर्थ्यो मनमा। र मनलाई त्यस्तो बनाएकी थिई दिउँसो आँखा जुधाएकी उही आइमाईले।
सिउदी खोलाबाट शेरु चितौरे बेउलीबासतिर उकालो लागेपछि गञ्जु र पिउर भएर सरौँखोलातिर लागे। सेती खोलाको देब्रेतिरका बाँझा खेत हेर्दै हिँडे, पैयूँको नाङ्गो डाँडो हेर्दे हिँडे, चिसापानीको डाँडामा लागेको आगोको मालाजस्तो हार हेर्दै हिँडे। सबैभन्दा बढी कस्तो राजा खोज्ने भन्ने कुरा गर्दै हिँडे।
बोके खोला, मर्दी खोला, गेडी खोला र सरौँ खोला तरेर उकालो उक्लिएपछि पिउर रानाको गाउँ आइपुग्यो। घाम माथि पैयूँको डाँडामा मात्रै देखिन्थ्यो। साँझ पर्न लागिसकेको थियो। पिउर रानाले उनैकोमा बस्न गरेको आग्रहलाई गञ्जु बुढाले भयो भने र माथि बालाकोटतिर उकालो लागे।