'दसैँ आयो घरैमा बसौँला
चौबीस घण्टा मोबाइल खेलाउँला।'
माथिका लयात्मक हरफ मेरो होइन, 'बच्चालाई दसैँ बिदामा के गर्छौ?' भनी प्रश्न गर्दा बच्चाबाट पाएको उत्तर हो जुन समाजको लागि चुनौती हो। मोबाइल खेल्ने मात्र होइन सिक्ने पनि कुरा हो। हामी वयस्क नै 'यो मोबाइल के भयो हेर त बाबु नानी तिमीलाई आउँछ कि बनाउन' भन्छौँ।
काहलिल गिबरानका अनुसार 'तिम्रो बच्चा तिम्रो होइन, त्यो बच्चाको बायोलोजिकल फादर र मदर हौ तिमी तर बच्चा त्यो हो जो उसको सोच विचार छ।'
यो विषय सबै बाबुआमाले बुझ्न जरुरी छ। किनभने बच्चा के बनाउने पहिलो जिम्मा अभिभावककै हो। विद्यालय, शिक्षक, समाज, सरकार र राष्ट्र अन्य दोस्रो पक्ष हुन्। हामी पहिलो पक्षको जिम्मेवारी छाडेर दोस्रो र तेस्रो पक्षलाई पन्छाउँदै छौँ। तब हामी बच्चाको भविष्यमा खेल्दै छौँ।
यहाँहरूलाई लाग्ला यो स्तम्भकार कति मोबाइलको पछि लागेको भनेर तर विषय मोबाइलको होइन, कुरा बच्चाको भविष्यको हो। पैसा तिरेर मात्र बच्चाको भविष्य उज्ज्वल हुँदैन। यसका लागि त चाहिने भनेको सञ्चार तथा समय व्यवस्थापन हो। हामी अभिभावकहरू दुवै कुरामा चुकेका छौँ।
'खाली दिमाग सैतानको घर' भनेझैँ बच्चालाई पनि केही न केही गर्न दिइराख्नु पर्छ। उनीहरूको इच्छा, रोजाइ, मागलाई इज्जत गर्नुपर्छ। मैले जन्माएको हो मैले भनेको मान्नै पर्छ, मजस्तै हुनुपर्छ भन्ने सोच अभिभावकको कमजोरी हो। यसबाट बच्चा डिप्रेसनमा जान्छ।
मेरो बच्चाको होस् वा अरूको, समस्या उही सबैको; मात्र मोबाइलको। केही समयअघि कास्की जिल्ला अदालतमा एउटा १५ वर्षको बच्चालाई प्रहरीले ल्याएको थियो। प्रहरीसँग बुझ्दा त्यो बच्चाले हजुरबाले मोबाइल नदिएको झोकमा हजुरबाको मोबाइल खोसेर टाउको फुटाइदिएको घटना सुनेँ। यो त प्रतिनिधि पात्र हो। आजकल यस्ता अनेकन् घटना छन्।
बच्चालाई 'तीजको बिदामा के गर्यौ तिमीले?' भनेर सोधेको 'ममीले कति-कति फोटो खिच्न लगाउनुभयो, धेरै बिजी भइयो सर' भन्यो। कम्तीमा फोटो खिच्न त सिक्यो नि बच्चाले। यसरी बच्चालाई काम लगाउँदा बच्चा खारिँदै जान्छ। सबै कुरा स्कुलबाट सिक्न सम्भव छैन।
यो त मोबाइलको कथा भयो, अब यो कुरासँग किन बिदा जोडिएर आयो त? दसैँमा घर परिवारका वयस्क काममा, पकाइ खुवाइ, घर सरसफाइ, किनमेलमा व्यस्त हुन्छन्। यस बेला बच्चालाई मोबाइल खेलाउने सही मौका हुन्छ। यस कारण अभिभावकले पनि सेयरिङ अनि केयरिङ बुझ्नुपर्छ। काम सिकाउनु, लगाउनु, अह्राउनु सहभागी गराउनु पर्छ। एक/दुई पटक बिगार्छ पछि सिक्दै जान्छ नि। तर सबै अभिभावकले दिने उत्तर- 'बच्चाले मान्दैन, गर्दैन, सुन्दैन बिगार्छ, कसले उसलाई सिकाएर बसोस् फुर्सद छैन' हो।
किन अभिभावकले भनेको बच्चाले सुन्दैन त? एक त हामी अभिभावकले आफ्नो जमानाको मोडलमा बच्चालाई हेर्छौँ जब कि समय फेरियो, हामी फेरियौँ। त्यही गलत छ। अर्को तत्काल बच्चासँग आक्रोशमा आउँछौँ, हात नै हाल्छौँ। हामीसँग बच्चाको कुरा सुन्ने धैर्यता नै हुँदैन। हामी सिधै आक्रामक हुन्छौँ।
अर्को विषय हामी बच्चालाई समय के हो? समयले के गर्छ? समय कति बलवान छ? भन्ने अर्थ्याउँदैनौँ र बुझाउँदैनौँ। यस कारण पनि बच्चाले मोबाइलमा खेलेर बस्छ। मोबाइलमा हेर्छ। हामीमध्ये कतिले बच्चालाई सोधेर 'बाबु-नानी, तिमीहरूलाई के कस्तो कार्यक्रम फिल्म मन पर्छ? हामी सँगै बसेर हेरौँ' भन्ने सामर्थ्य राख्दैनौँ। न त त्यो सोच्ने हामीलाई फुर्सद नै हुन्छ। बरु हामी घन्टौँ राजनीतिको कुरा गरेर बस्छौँ जुन हाम्रो बसमा छैन।
एक जना गाउँको दाइ थिए, पैसाका खातिर अरब काम गर्न गए। झन्डै २० वर्ष काम गरे। आउने जाने त गर्दथे। मैले उता अरब जाने बेलामा उनलाई भनेँ- 'दाइ आमा बुढी, बच्चा बढ्दो उमेरका छन्। धेरै हेरचाह निगरानी गर्ने बेला हो। बिस वर्ष बस्नु भयो अरबमा, अब नजानुस् पछुतो होला नि।'
उनी गएको एक केही वर्षमा आमा बितिन्। छोरी लभ गरेर भागी। छोराले पनि लाइन लिन सकेन। आखिर त्यो दाइले कमाएको पैसा के काम भयो त?
समयले कसैलाई पर्खन्न। समय आफूले बुझ्ने सन्तानलाई पनि बुझाउनपर्छ। जब समय बुझिन्छ, सबै कुरा बुझिन्छ। हामी हाम्रो बच्चालाई त्यो बुझाउन सकेका छैनौँ।
हाम्रा पालामा पनि गाउँमा बस्दा हातमा घडी लगाउन एसएलसी पासको सर्त हुन्थ्यो बाआमाको। अहिले हामी कम्तीमा पनि बिस हजारको फोन केटाकेटीलाई जिम्मा लगाउँछौँ। समय फेरियो म मान्छु तर आय बढेन, श्रोत बढेन, बढ्यो मात्र खर्चको माध्यम। यस कारण बच्चा मात्र होइन, सिङ्गै देश नै बिग्रने गतिमा छ।
एकाध बच्चा बाहेक अधिकांश बच्चा बिग्रेका कारण समय र सही सञ्चारको कमीले; मोबाइल सञ्चार पनि त हो नि तर बच्चाले गलत सञ्चार गर्यो। सञ्चारको सदुपयोग भएमा बच्चामा ज्ञानको लागि मोबाइलमा आउने सामग्री लाभदायी हुन्छन् तर यहाँ बच्चाले मोबाइलमा के हेर्दै छ भन्ने निगरानी गर्ने फुर्सद अभिभावकलाई कहाँ छ र!
स्कुलले अतिरिक्त क्रियाकलापमा वेभ डिजाइन गराएको थियो। मेरो बच्चा र उसको साथीको टिमले वेभ डिजाइनमा राम्रो गर्यो अनि भन्दै थियो- 'बाबा, मोबाइलमा सिकेको वेभ पेज।' यस कारण मोबाइलबाट नराम्रो मात्र हुँदैन। मेरो ब्राउज हिष्ट्री हेर्नुस्।
बिदामा बच्चालाई मोबाइलबाट छुटाउन अभिभावक स्वयम पनि मोबाइलबाट टाढा बस्नु पर्छ। यहाँ मैले चिनेको देशकै नाम चलेका व्यक्तित्वहरू पनि कहिल्यै मोबाइल बोक्नु हुन्न, काम चलेकै छ। बिदामा गृहकार्य दिने र नदिने कुरा सामान्य हो। दिए पनि भयो नदिँदा पनि भयो। गृहकार्यको सिस्टम स्कुलअनुसार फरक हुन्छ। यसमा बिदाको दिन कति लामो छोटो कति छ भन्ने पनि हुन्छ।
कतिपय विद्यालयले गृहकार्य दिँदैनन्। कतिले दिन्छन्। अभिभावक विद्यालयले होमवर्क दिनुपर्छ भन्ने मान्यता राख्छन्। विद्यालयले धेरै किसिमका अभिभावक झेल्नुपर्छ। लामो दसैँ बिदा बच्चाको लागि पनि हो। रमाइलो उनीहरूले पनि गर्न पाउनुपर्छ। प्रायः खानदानी धनाढ्यका घरमा बुबा आमा तास खेल्छन्, चुस्की लिन्छन्। बच्चाले होमवर्क गरेर बस्न मान्दैनन् पनि अनि भिडिओ गेम थमाएर आफू मस्ती गर्छन्।
बिदामा बच्चालाई जेठो पुस्ता घरमा हुनुहुन्छ भने केही व्यस्त गराउन सजिलो हुन्छ तर बाक्लो दालको चक्करमा सबै घरमा जेठो पुस्ता भेटिनु हुन्न किनकि पुस्ताहरू बिच मत मिल्दैन। अब त पुरानो पुस्ता भेट्न वृद्धाश्रम जानुपर्छ। यस कारण बच्चाले पुरानो ज्ञान शिक्षा संस्कार पुरानो पुस्ताबाट पाउन वञ्चित हुन्छन्।
अन्त्यमा, दसैँको लामो बिदामा बच्चालाई कसरी भुलाउने, रमाउने र सामाजिक सञ्जालबाट भगाउने विषयमा अधिकांशको चिन्ता छ। ठ्याकै यो फर्मुला भन्ने छैन तर केही कुरा जुन आवश्यक छ। जसमा आफू सकेसम्म सामाजिक सञ्जाल तथा मोबाइल नचलाउने, बच्चालाई समेत घर, चोटा, करेसाबारी, सरसफाइ र सजावटमा लगाउने, बच्चालाई लामो बिदामा पुस्तक पसल लगेर उनीहरूको रोजाइको पुस्तक किनिदिने, सपिङ लैजाने, मन्दिर तीर्थस्थल लैजाने, आफन्तको घर लैजाने, आफू सँगसँगै बसेर उनीहरूको रोजाइका सिनेमा, वृत्तचित्र, कार्यक्रम गीत कथा आदि हेर्ने, भान्सामा उनीहरूलाई पकाउन लगाउने सिकाउने, घरमा पूजा स्थानमा उनीहरूलाई लगेर पूजा गर्न दिने सिकाउने, आइरन लगाउन, चिया पकाउन, फूल गमला सिँगार्न, लुगा पट्याउन पनि लगाउन सकिन्छ।
यति गर्न सकियो भने दसैँ बिदा र बच्चाको तनाव सकिन्छ। बच्चा हाम्रो, जिम्मेवारी हाम्रो, चाड हाम्रो, खुसी हाम्रो।