बिहानको ५ बजेको छ, छोरा आमालाई प्रश्न गर्छ, 'आमा, भात पाक्यो?'
'पाक्दै छ बाबु,' आमाको उत्तर थियो।
बिहानको जाडोमा बुढी आमा खाना बनाउँदै हुनुहुन्थ्यो। हेलमेट टिचर भने पनि टिचरसँग न हेलमेट थियो न त बाइक दुई पाङ्ग्रे नै। बिहानै घरबाट निस्केर ६ बजेको क्लास लिनुपर्ने। पुसको जाडो।
त्यति बेला अर्थात् ६० सालतिर पर्यावरण यति बिग्रेको थिएन सायद। यसर्थ पानी पर्ने बेलामा नै पानी पर्थ्यो, घाम लाग्ने बेला घाम लाग्थ्यो। त्यो बेला प्लस टु खोल्ने लहर चलेको थियो।
बिहान सखारै खाना खाएर निस्कनु, जाडोमा काम्दै बस कुर्नु, बसमा सिट नपाएर उभिनु, पढाउने टेक्स्ट बुक, रिफरेन्स बुक, नोट कालो पछाडि भिर्ने झोलामा बोकेर जानु अर्को सकस थियो। भिडमा चढ्दा र उत्रँदा बसबाट आफूबाहिर उत्रन निस्कँदासम्म पनि झोला बसभित्र अड्केर हैरान। कहिले झोलाको चेनले कसैको पछ्यौरा सल तान्ने अर्को रमाइलो थियो। तथापि अहिलेको जस्तो उत्ताउलो र भद्दा समाज थिएन। सबैमा प्रेम भाव, माया, प्रेम र दया थियो।
पिरियडको पचास रुपैयाँमा ४०–५० मिनेटको कक्षा समय थियो। सबै विद्यार्थीले किताब बोक्थे, झोला लिन्थे शिक्षकलाई टेर्थे, मर्यादा गर्दथे। कक्षामा ५० को सङ्ख्या सामान्य थियो। विद्यार्थी र शिक्षकमा अगाध प्रेम र सद्भाव थियो, मर्यादा थियो, मानौँ अहिलेको तुलनामा स्वर्ग नै थियो।
एक जना तराईका सर हुनुहुन्थ्यो। वहाँको जीवनशैली अद्भुतको थियो। वहाँ सबै कुरा झोलामै बोक्नु हुन्थ्यो, करिब ४ किलोको थियो होला झोला। कलमदेखि स्ट्यापलर, पेन्सिलदेखि पानीसम्म मानौँ लाग्थ्यो कि उहाँले नपढाउने कलेज थिएन सायद। अधिकांशमा पढाउने गर्नु हुन्थ्यो। सायद अहिले वहाँ सरकारी कलेजमा स्थायी हुनुभयो।
हेलमेट टिचरले निजी कलेज धानेका छन् चाहे अब्बल हुन् या मध्यम कलेज किनकि स्मार्ट मानिस अध्यापन गर्न आउन्न। र, यहाँ पैसा छैन। यदाकदा कोही स्मार्ट भेटिए पनि एक दुई कक्षा लिन्छन्, दिगो छैन।
केही नपाएर, जागिर नभएर टिचर बन्ने पनि छन्। तर टिचर बन्न सजिलो छैन। कुनै बेला कलेज मालिकको आफन्ती आयो पढाउन, जागिर चट। कारण नै चाहिन्न। नियुक्ति पत्र छैन। आयाराम गयाराम जस्तै छ।
हेलमेट टिचरको डायरी के हो त? बिहान उठ्यो, हेलमेट बोक्यो, कलेज कलेज चाहर्यो, यसो दाल रोटी जोड्ने हो। कताको वृत्ति विकास, कताको अनुसन्धान, कताको स्थायित्व, यसरी चलेको छ हाम्रो स्कुल, कलेज र विश्वविद्यालय।
६० सालतिर थालेको हेलमेट टिचर भएर यो शृङ्खला धेरै वर्ष चल्यो। कपाल फुल्यो तर न त्रिभुवन विश्वविद्यालय न पोखरा विश्वविद्यालयले चिन्यो किनकि यहाँ चिन्न त स्थायी र करार बन्नुपर्छ, सके पार्टीकै झोला बोक्नुपर्छ। म त्यो परिनँ। यो क्रममा करिब २ वटा तालिम लिएँ भाग्यवश। एक ठाउँमा प्रिन्सिपलसँग राम्रै हिमचिम थियो, अर्को ठाउँमा मागेर तोकेर पठाएको थियो।
एउटा कापी जाँच्ने, अङ्क दिने, मूल्याङ्कन विधिको थियो भने अर्को स्नातकोत्तरको पाठ्यक्रमको बारेमा। प्रायः तालिम र कार्यशालामा कर्मचारी नै पठाइन्छ। कति त थाहा हुन्थेन। अहिले जस्तो फेसबुक थिएन। टिचर पदेन बुद्धि हो कि टिचरले पनि अपग्रेड हुने, ज्ञान थप्ने वातावरण हुनुपर्छ। यस्तो अवस्थामा शिक्षाले के निकास देला?
शिक्षकको बिचमा कहिलेकाहीँ कुरा हुन्छ दुःख सुखका। त्यो बेला एक जना गुरुले कलेजलाई राम्रो मास्टर चाहिने होइन, कक्षामा उभिने भए मात्र पनि पुग्छ भन्नुहुन्थ्यो। कुरा सत्य हो नै, यसको प्रत्यक्ष प्रमाण ठुलो शैक्षिक बेरोजगारको सङ्ख्या होइन र?
हुन त म सबै शिक्षक, गुरु, सञ्चालक, मालिक, प्रिन्सिपलमा अगाध स्नेह लाग्छ। केवल प्रयास त हुँदै छ। आशा गरौँ केही परिणाम आउला। हुन पनि हो, हाम्रो देशमा सबैतिर प्वाल नै प्वाल छ, अनि शिक्षामा उत्पात राम्रो हुनुपर्छ भन्ने तर्क मेरो छैन।
हेलमेट टिचर धेरै प्रकारमा हुन्छन् जसमा धेरै वटा कलेज पढाउने, एउटै कलेजमा धेरै वटा क्लास लिने, दिउसो जागिर गर्ने बिहान मात्र पढाउने, पढाउने तथा कलेजको व्यवस्थापन पनि हेर्ने, सरकारी शिक्षक निजीमा पनि पढाउने, सरकारी जागिर खाने बिहान पढाउने जसमा उनीहरूले मासिक कर कट्टा गरी पिरियड गनेर पाउँछन्। अर्को थरी जो मासिक कोर्सको हिसाबले एकमुष्ट तलब पाउने हुन्छन्।
हेलमेट टिचरका दुःख धेरै छन्, नपढेको विषय पनि पढाउन तम्सिनु पर्छ। कनीकुथी गरेर क्लास लिनुपर्छ। पूर्णकालीन टिचर नै भएर बाँच्न कठिन छ। एकाउन्ट, फाइनान्स, म्याथ, इङ्लिस, फिजिक्स, केमेस्ट्रीजस्ता विषयको त बरु ट्युसन पनि चल्छ। सैद्धान्तिक अर्थात् थ्योरी पढाउने सरहरूको लागि ज्यादै पीडा छ। एकातर्फ थ्योरी पढाउने सरको कलेज वा विद्यार्थीले खासै महत्त्व दिँदैनन्। क्लास लिँदा समय भ्याउँदैन। अनि कता अपडेट हुनु। काठमाडौँको धुलो, साँघुरा सडक, जताततै भिड, धुलो हिलो पानीको अभाव बिहानदेखि यो कलेज, उ कलेज गर्दा लखतरान भएर कक्षामा जान्छन्।
विद्यार्थी उस्तै छन्, नपढी सर्टिफिकेट चाहिने सबै मिलेको छ। अस्ति केही दिन अगाडि सोल्टी होटेलको एक कार्यक्रममा हेल्थ कनक्लेभमा रुपेश्वर दासले म खुसी इन्जिनियर हो भन्दै थिए। तर यहाँ खुसी शिक्षक पाउन मुस्किल छ। हुन त कलेज सञ्चालकका आफ्नै पीडा होलान्।
'तिमी भन म बिर्सन्छु, सिकाऊ म सम्झन्छु, सहभागी गराऊ मैले सिक्छु' भन्ने बेन्जामिन फ्रान्कलिनको भनाइलाई जीवनमा ढाल्न के सम्भव होला त? हुन त हेलमेट टिचर भनेर व्यङ्ग्य गरे पनि धानेकै तिनीहरूले छ।
अधिकांश विवाहित रहेका हेलमेट टिचरको यावत समस्याहरू- परिवार, घर, सन्तान, श्रीमती, श्रीमान्, बाबुआमा, घर कामकाज, घर भान्सा, घर व्यवहारका पीडा छन् र पनि कक्षा कोठामा समयमै पुग्ने, खट्ने, विद्यार्थीलाई खुराक दिन खोज्ने नमात्तिएका र नआत्तिएका बिचरा हेलमेट शिक्षक न आफूलाई शिक्षा मन्त्रालयको लिस्टमा पाउँछ न त विश्वविद्यालय सूचीमा नै।
नाम भएको, नाम चलेका, स्थायी भनाउँदाहरू तलब बुझ्न कलेज जान्छन् तर हेलमेटेहरू दैनिक जान्छन्, सकेको जुट्छन्, खट्छन् र मेहनत गर्छन् र पनि व्यङ्ग्य उनैमाथि छ। हुनुपर्ने व्यङ्ग्य जसको माथि हो त्यो दगंदास छ। पढाउन पर्दैन। स्टाफ रुममा गयो, राजनीति गफ चुट्यो, हाजिर गर्यो र निजीतर्फ लाग्यो।