सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
म कक्षा दुईमा पढ्छु। अहिले कोरोना भाइरसले गर्दा बिदा भएको छ।
कोरोनाकोरोना भाइरस 'भिजिबल' हुन्छ। भिजिबल भनेको देखिने। तर नि, कोरोना भाइरस देखिँदैन, सानो हुन्छ। त्यही भएर कहिल्यै देखिँदैन। ठूलो भएको भए देखिन्थ्यो कि?
कोरोना ठूलो भएको भए दूरबिनले हेर्न सकिन्थ्यो होला। यसलाई माइक्रोस्कोपले साइन्टिस्ट (वैज्ञानिक) ले हेर्न सक्छन्। माइक्रोस्कोप साइन्टिस्टसँग मात्रै हुन्छ।
यो भाइरस एउटा मान्छेलाई लाग्यो भने ठूलो प्रभाव हुन्छ। मान्छेलाई सर्छ। मान्छेलाई नि सासबाट। एउटा मान्छेलाई लाग्यो भने अर्कालाई सर्छ। कोरोना भाइरस चाइनामा सर्प, भ्यागुतो र चमेराको मासु खाएर आएको हो रे।
एउटा मान्छेबाट अर्काेलाई सर्ने भएकाले सरकारले बाहिर नहिँड भनेको छ। कोरोना भाइरस के हो थाहा छैन। तर नेपालमा आइसकेको छ।
त्यो भाइरस यस्तो ठूलो हो, मान्छेले उतार्नै सक्दैन्। औषधि पनि छैन। मान्छे पनि धेरै मरेका छन्।
यो कोरोना भएका बेला मैले घरमा बसेर बाबासँग खेलेँ। टिभी हेरेँ। ब्याडमिन्टन खेलेँ। बाबासँग कति इन्टरभ्यु (अन्तर्वार्ता) दिएँ। बाबाले मोबाइलमा मेरो इन्टरभ्यु सोध्नुभयो।
हिजो फोनमा एउटा इन्टरभ्यु सोध्नु भएको थियो एकजना दिदीले। मैले फोनमा इन्टरभ्यु पनि दिएँ। दिदीले पूरै इन्ट्रोडक्सन (परिचय) दिइराख्नुभएको थियो। नाम पनि भन्नु भएको थियो। मैले बिर्सिएँ। नाम बाबालाई थाहा छ दिदीको।
अनि मैले आर्ट गरेँ। बाहुबलीको चित्र बनाएँ। जरायो बनाएँ।
सुजिता दिदीले चाउमिन पकाई। मामुले जेरी बनाउनु भयो। अनि बुनियाँ पनि बनाउनु भयो।
मैले बारी पनि खनेँ। कार्टुन हेरेँ। डोरेमन, नोविता, अगि एन्ड द कक्रोचेज, मोटुपत्लु अनि छोटा भिम, तारक मेहताका उल्टा चस्मा पनि हेरेँ।
कोराना भाइरस भएर रमाइलो भएको छ। परिवारसँग मोजमस्ती गरेर बसेको छु। खेल्यो, टिभी हेर्यो, सुत्यो, खायो। फेरि खेल्यो। टिभी हेर्यो। खायो। सुत्यो।
साथीको याद आएको छ। जोयसको याद आएको छ। कस्तो ज्ञानी थियो। मभन्दा पनि ज्ञानी थियो। जोयस भन्ने साथीले स्कुल छोडिहाल्यो।
ल यति नै। मलाई लेख्नभन्दा धेरै बोल्न मन लाग्छ।
बाहिर हिँड्दा माक्स लाउनु पर्छ है। घरमा बस्दा चाहिँ पर्दैन। साबुनपानीले हात पनि धुनुपर्छ।
धन्यवाद!
(हार्दिक न्यौपाने अक्षरा स्कुल, काडाघारीमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com
यी पनि पढ्नुस्ः