सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हाम्रो स्कुलको वार्षिक परीक्षा चैत २ गतेबाट हुने तय भएको थियो। एकाएक फागुन २७ बाट सुरू हुने सूचना आउँदा हामी सबै अलमलमा पर्यौं। पछि सर-म्यामहरूले त्यसको कारण बताएपछि बुझ्यौं।
चीनबाट सुरू कोरोना भाइरस संसारभरि फैलिरहेकाले त्यसलाई रोक्न परीक्षा चाँडै सकेर स्कुल बन्द गर्नू भनेर सरकारले भनेको रहेछ। परीक्षा अगाडि सरेपछि कस्तो हुने होला भनेर डर लाग्यो। पहिलेदेखि नै तयारी गरेकाले राम्रोसँग परीक्षा सकियो।
परीक्षाको नतिजा कहिले आउने हो थाहा छैन। चाँडै सबै ठीक भएर नतिजा हेर्न पाए हुन्थ्यो जस्तो लागिरहेको छ। साथीहरूसँग भेटेर कुरा गर्न मन लागिरहेको छ। अहिले कोरोनाका कारण बाहिर हिँड्न डुल्न पाइँदैन। यो सबै हामीलाई सुरक्षित राख्न गरिएकाले अप्ठ्यारो मानेकी छुइनँ।
परीक्षा सकिएपछि बिदाका लागि भनेर बाबामामुसँग गएर एकता बुक्सबाट विभिन्न प्रकारका नौवटा किताब किनेर ल्याएँ। मलाई पाठ्यपुस्तक बाहिरका किताब पढ्न मनपर्छ। मैले किनेका किताब नेपाली कथा, उपन्यास, अंग्रेजी कथा र विज्ञानसम्बन्धी ज्ञान दिने प्रकारका छन्। किताबहरू पढ्दा नयाँ-नयाँ कुरा थाहा पाइन्छ। ज्ञान बढ्छ। समय पनि बित्छ। मैले अहिलेसम्म ४ वटा किताब पढेँ।
कल्लुः यो प्रेमचन्द्रले लेखेको र विष्णुकुमारले अनुवाद गरेको कथाको किताब हो। यसमा कल्लु नाम गरेको एउटा कुकुरको कथा छ। त्यो कुकुर ज्ञानी र निकै इमानदार छ। उसले आफ्ना घरका मानिसलाई अप्ठ्यारो परेको बेला सुरक्षा दिन्छ।
लेखकले किताबमा कुकुरले आफ्नो कर्तव्य पालना गर्दाको अनुभव लेखेका छन्। मैले यस्तो प्रकारको कथा पढेकी थिइनँ। कथा पढ्दा मलाई जनावरहरूले कसरी सोच्छन् होला? कसरी व्यवहार गर्छन् होला? भन्ने खुलदुली भयो।
मनको लड्डुः यो कपिलमणि ज्ञवालीले लेखेको कथाको संगालो हो। यसमा विभिन्न शीर्षकमा २५ वटा कथा छन्। कथाहरूले बालबालिकालाई नैतिकवान र अनुशासित बन्न प्रेरित गर्छन्।
कथाहरूमा मलाई मन परेको शीर्षक 'शिक्षा' हो। त्यसमा कथाकारले 'रिसाउनु मानिसको कमजोरी हो। रिसले मानिसभित्रको ज्ञान, वुद्धि र विवेकमा ह्रास पुर्याउने' कुरा लेखेका छन्।
बाल–विज्ञानः यो किताब डा. तीर्थबहादुर श्रेष्ठ र विमललाल श्रेष्ठले लेखेका हुन्। यसमा विज्ञानका विभिन्न रमाइला विषय समेटिएका छन्। यो पुस्तक म चाख मानेर पढ्दैछु। केही समयमा पढिसक्छु होला।
मलाई विज्ञान मनपर्ने विषय हो। किताबमा ग्रहगण र तारा, बीजबिरुवा, पशुपन्छी, हावा, पानी र माटो, हाम्रो शरीर र स्वास्थ, विज्ञान र प्रविधिसम्बन्धी ९८ वटा चाखलाग्दा विषय छन्। मैलै यो किताबबाट सूर्यमा १३ लाख पृथ्वी अटाउन सक्छ भन्ने थाहा पाएँ। त्यस्तै, चन्द्रमामा हाम्रो साढे १४ दिनको एक दिन र साढे १४ रातको एक रात हुने रहेछ। यस्ता चाखलाग्दा विषय यसमा छन्।
बेलः ब्युटी एन्ड द बिस्ट (Belle: Beauty & the Beast): यो कथा एउटी सुन्दर र बुद्धिमान केटीबारे लेखिएको छ। उसको नाम बेल हो। ऊ एउटा गाउँमा बस्छे। ऊ अरूभन्दा धेरै फरक छे। उसलाई किताब पढ्न मनपर्छ।
एकदिन उसको बुवालाई राक्षसले समात्छ र थुन्छ। बेलले बुवालाई छुटाउन आफू राक्षससँग बस्छे। राक्षससँग बस्दा उसलाई बुवाको धेरै याद आउँछ। राक्षसले बेललाई फकाउन धेरै प्रयास गर्थ्यो। विस्तारै बेल उसलाई माया गर्न थाली। एकदिन बेलले राक्षसलाई अंगालो हाली। राक्षस त राजकुमार भयो। त्यसपछि उनीहरूले बिहे गरे। यो कथा पढ्दा धेरै रमाइलो हुन्छ।
मसँग भएका अरू किताब अब विस्तारै पढ्छु। यसबीच मलाई मेरो बाबाले 'स्पाइनी ब्याबलर इभोलुसन' को अनलाइन कक्षामा भर्ना गराई दिनुभयो। यसबारे हामीले सेतोपाटी पढेर थाहा पाएका हौं।
अनलाइन कक्षाको पहिलो पाठ पढिसकेँ। यो कक्षा फुर्सदमा बसेका बालबालिकालाई निकै उपयोगी हुँदो रहेछ। त्यसमा कला, साहित्य, विज्ञान, गणित, शारीरिक अभ्यास, खेल र सामाजिक विषयहरूमा रमाइला क्रियाकलाप थिए। मलाई हाम्रो पढाइभन्दा यो कक्षा फरक लाग्यो।
मैले चित्रकलाको इतिहासबारे थाहा पाएँ। त्यस्तै हाम्रो भाषाको इतिहास पनि बुझ्ने मौका पाएँ। हाम्रो शरीरमा ११ वटा प्रणाली हुँदा रहेछन्। ती प्रणालीले राम्रोसँग काम गरे भने हामी स्वस्थ हुँदा रहेछौं।
क्यामराको सुरूआत सन् १५०० बाट भएको पनि थाहा भयो। पहिलो क्यामरा १८३९ मा बनेको रहेछ। त्यस बेलाको क्यामरा अहिलेको जस्तो थिएन। ठूलो बाकसजस्तो, बोक्न पनि गाह्रो हुने रहेछ। मलाई यो कुरा थाहा थिएन।
मलाई वैज्ञानिक न्यूटनका बारेमा पनि जानकारी भयो। उनी सन् १६४२ मा इंगल्यान्डमा जन्मिएका हुन्। उनी सानै छँदा उनको बुवाको मृत्यु भएको थियो भने आमाले अर्कैसँग विवाह गरिन्। उनलाई उनकी हजुरआमाले हुर्काइन्। उनलाई उनका साथीले डरछेरुवा भनेर जिस्काउँथे। उनी सानामा धेरै नपढ्ने तर विभिन्न प्रयोग गरिरहन्थे।
उनले मिहिनेत गर्यो भने जुनसुकै समस्याको सामाधन पनि गर्न सकिन्छ भन्ने सिकेका थिए। त्यही मिहिनेतले उनलाई संसारको प्रसिद्ध वैज्ञानिक बनायो। उनी २७ वर्षको उमेरमै प्राध्यापक भएका थिए। उनको मृत्यु ८५ वर्षको उमेरमा सन् १७२७ भयो। उनका बारेमा पढेर मलाई पनि पढाइमा अझै मिहिनेत गर्न प्रेरणा मिल्यो।
म बेलाबेला किबोर्ड पनि बजाउँछु। धेरै त आउँदैन तर सिक्दैछु। बन्द खुलेपछि संगीत कक्षा जाने भनेकी छु। बाबामामुले हुन्छ भन्नुभएको छ। मलाई गीत गाउन र नाच्न पनि मनपर्छ। घरमा बसेका बेला युट्युबमा गीत बजाएर नाच्छु पनि। मसँग बाबामामु पनि नाच्नु हुन्छ। मेरो बाबालाई नाच्न धेरै आउँदैन तर रमाइलो हुन्छ। मामु भने अलिअलि नाच्नु हुन्छ।
फुर्सद निकालेर हामी खेल्छौं पनि। मलाई मनपर्ने खेल भनेको स्क्र्याबल (Scrabble) हो। यसमा अक्षरहरू जोडेर शब्द बनाउनुपर्छ। प्रत्येक शब्दको अंक पाइन्छ। जसले धेरै अंक ल्याउँछ उसले जित्छ। यसबाट अक्षर बनाउने र सम्झने क्षमता बढ्छ। बाबा, मामु र म खेल्दा सधैं बाबाले जित्नुहुन्छ। एकदिन म पनि जित्छु भनेर प्रयास गर्दैछु।
मलाई यो बिदा कसरी बिताउने भन्ने चिन्ता थियो। तर बाबामामु पनि घरमै हुनुभएकाले अहिलेसम्म रमाइलो नै भएको छ।
अब कोराना नियन्त्रण भएपछि स्कुल पनि खुल्छ होला। चाँडै ठीक होस्। अनि मेरो रिजल्ट पनि आउँछ होला। अघिल्लो परीक्षामा त प्रथम भएकी थिएँ। अन्तिम परीक्षामा पनि राम्रो गरेको छु। राम्रै हुन्छ होला। त्यसपछि मेरो कक्षा ६ को पढाइ सुरू हुन्छ।
(अभिप्षा पोख्रेल फ्यूचर स्टार्स हाई स्कुल, जावलाखेलमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com