ऊ राम्रो मान्छे छ। तर, रक्सी पिउँछ। थाहा छैन अब कति राम्रो बाँकी रहन्छ।
म मदिरापान गर्नेको संगतमा हुर्किएँ। बढ्दै जाँदा संगती फरक परे। तर, मदिराको हकमा भने होइन। खै किन हो मलाई हुर्काउने कसैले पनि रक्सी नखाने मिलन मन पराए। जसकारण आज यो आलेख तयार गर्ने आँट गर्दैछु।
मलाई पत्रकारिताको चेत इलामले विकास गरायो। लेख्न र पढ्न इलाममा सिकेँ। कति जानेँ अरुले भन्लान्। तर, परिचयमा लेखक जोड्न भने मेरो उचाई पुग्दैन। अनौठौ संयोग त के छ भने ज-जसले मेरो औँलो समातेर डोहोर्याए। उनीहरू सबै मदिरापान गर्छन्।
मलाई कहिलेकाहीँ लाग्छ, कसैको जिन्दगीबाट रक्सी निकाल्यो भने के बाँकी रहला। जान्ने कवि तर रक्सी खाने। जान्ने पत्रकार तर रक्सी खाने। जान्ने शिक्षक तर रक्सी खाने। सबै जान्ने तर रक्सी खाने। महान् मान्छे तर रक्सी खाने। कोही कोही त यति खाने, उसको प्रोफेसन पत्रकार, शिक्षक, कवि जे भए पनि जँड्याहा लाग्छ। फगत जँड्याहा।
उसको जिन्दगीबाट रक्सी निकाल्दिन पाए, प्रभावशाली कवि, प्रभावशाली पत्रकार, प्रभावशाली शिक्षक, सबैले पत्याउने मान्छे र महान मान्छे बाँकी रहन्थ्यो होला। रक्सीका लागि समाचार र रक्सीकै लागि कविता लेख्दैनथ्यो होला। घरमा सम्मानित बाबु, सम्मानित लोग्ने र बाहिर असल साथी हुन्थ्यो होला। केही नभए पनि उसलाई लाग्ने जँड्याहाको ‘ट्याग चाहिँ पक्कै हट्थ्यो होला!
एक पटक इलाममा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता भयो। कोही पनि इलामे पत्रकारले त्यसको मियो पत्ता लगाउन सकेनन्। ऊ बेला देशका सिद्धहस्त पत्रकार समेत इलाममा थिए। तर, खास समाचार आएन। सम्मेलन सकिन लाग्दा नागरिकमा एउटा दमदार लेख आयो। बुद्धिचाल शब्द ‘दारु’ भएको थियो, खेलाडी ‘फिडेमाष्टर’। सात दिनदेखि मदिराले पेट भर्दाको अफबिट कुराकानी लेख भएर आएको थियो। पढ्ने जोकोही लेखसँग प्रेमिल हुन्थे। यदि लेखनीमा साँच्चै तागत हुन्छ भने त्यो सगरमाथा थियो। लेखक थिए, एक युवा पत्रकार। त्यतिबेला लेख पढेर मलाई दारु र लेखनीको तागत हेक्का भयो।
रक्सी एक प्रकारको मन्द विष हो। रक्सी सेवनकै कारण विश्वभरि हरेक वर्ष ३३ लाख मानिस मर्छन्। रक्सी सेवनका कारण मानिस रोगाउन सक्छ। रक्सी सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसको क्षतिको अवस्था भयावह छ। २०-३९ वर्ष उमेर समूहका मानिसमा हुने मृत्युमध्ये २५ प्रतिशत रक्सी सेवनका कारण हुने विभिन्न तथ्याङ्कमा उल्लेख छ। यस्ता विषय नखाने भन्दा खानेलाई धेरै थाहा हुन्छ। तर, सचेत किन हुँदैनन् मैले कहिल्यै बुझ्न सकिनँ।
पछिल्लो समय जान्दिनँ। म इलाम हुँदा एक जना दाइ थिए। उनी रक्सी र कविता दुवैलाई प्रिय मान्थे। जति कविता शक्तिशाली थियो, रक्सीका लागि उनी त्यो भन्दा बढी शक्तिशाली थिए। अनौठो आदत थियो उनीसँग। उनी रक्सीका लागि लेख्दैनथे। तर, सम्भवतः रक्सीबिना लेख्दैनथे। रक्सी खाने ‘ती दाइ’को नाम भन्न उचित ठान्दिनँ, तर कवि भनेर उनलाई सबैले सम्मान गर्थे।
घाम लागेर, पानी परेर, जाडो भएर, गर्मी भएर, साथी भेटेर, एक्लो भएर या दुःख लागेर होस् वा रमाइलोमा। यो त सब भन्ने कुरा न हो। केबल बहाना न हुन्। र, यी केही भएनन् भने पनि रक्सी हुन्छ। पिउने आदत हुन्छै हुन्छ। पानी नहाली पिउन थाल्छ। ‘निड’ पिउँदा पानी छुटेजस्तो विस्तारो विस्तारो जीवनको ट्रयाकबाट के-के छुट्दै जान्छन्, उसलाई समेत हेक्का हुँदैन।
मैले कतै पढेको थिएँ। अमेरिकाको हकमा भने ५ प्रतिशत अल्कोहल भएको ३६० मिलिलिटर बियर, ७ प्रतिशत अल्कोहल भएको २४० मिलिलिटर बियर, १२ प्रतिशत अल्कोहल भएको १५० मिलिलिटर वाइन र ४० प्रतिशत अल्कोहल भएको ४५ मिलिलिटर जिन, भोड्का, ह्वीस्की वा रम सेवन गर्नु स्वास्थ्यका लागि न्यून जोखिम मानिन्छ। तर, शारीरिक र भौगोलिक बनोटका आधारमा यो नेपालीका लागि बढी नै हुन्छ। घरेलु रक्सीमा त ४० प्रतिशतभन्दा बढी अल्कोहल हुन्छ। अधिकांश नेपाली यसैलाई प्रिय मान्छन्। र, ठट्टामा भनिन्छ पनि ‘१० रुपैयाँको दारु खाएर १०० रुपैयाँको हल्ला हुन्छ।’
चिकित्सक सल्लाह दिन्छन्, हामी मान्दैनौँ। एक पेग रक्सीमा सय क्यालोरी हुन्छ। तपाईंले सीमाबाहिर गएर पिउनुभयो भने तीव्रताका साथ तौल बढ्छ। धेरै र खाली पेटमा रक्सी पिउँदा स्वास्थ्यमा धेरै खराब समस्या आइलाग्छन्। शिरदेखि गोडासम्म शरीरका विभिन्न भागमा यसले नकारात्मक असर पार्छ। रक्सी पिएको एक घन्टामै दिमागमा डोपामाइन हर्मोन रिलिज हुन्छ। डोपामाइनले रक्तसञ्चार बढाउँछ जसका कारण रक्तचाप बढ्छ। अनि मुटुको ढुकढुकी पनि यसले बढाउँछ।
रक्सीको असर बढ्दै जाँदा रगतमा चिनीको मात्रा कम हुन्छ, जसका कारण आँखा धमिलिन्छ र केन्द्रित हुन पाउँदैन। शरीरमा रक्सीको मात्रा बढ्दै जाँदा कार्टिसोल हर्मोनको स्तर बढ्छ। यसपछि तनाव पनि बढ्दै जान्छ।
रक्सी पिउने मानिसलाई हृदयघात र स्मरणशक्ति क्षयीकरणको समस्या हुन्छ। आँखा धमिलिने र रातो हुने समस्या आउँछ। मुखको क्यान्सर हुन्छ। गलामा रक्तश्राव हुन्छ। सास लिन समस्या हुन्छ। मुटुको ढुकढुकी अनियमित हुन्छ। कलेजो बिग्रन्छ र त्यहाँ बोसो जम्छ। अपच र एसिडिटीको समस्या आउँछ। हाड कमजोर भएर सजिलै भाँचिन्छ।
यसै पनि हामी वीर गोर्खालीले किन अर्काको कुरा मान्नु! भूपी शेरचनले भने जस्तै, ‘हामी बुद्धु छौँ, र त हामी वीर छौँ।’
म सानो छँदा लोभलाग्दो स्वरका धनी प्रकाश पराजुली सुरका लागि रक्सी पिउँथे। इलामको क्याबुङ घर भएका उनी गीत गाएर जोकोहीलाई लठ्याउन सक्थे। तर, उनलाई रक्सीले लठ्यायो। नारायण गोपाल, भक्तराज आचार्य, रामभक्त जुजुजु र कुबेर राईका गीत गाउँदा दर्शक उनलाई स्टेजमै रहिराखोस् भन्ने चाहन्थें। आज उनीहरू कहाँ छन्, थोरैलाई थाहा होला।
म फिक्कल बस्दा एउटै गीत सुन्थें, ‘कुन सहरमा घुम्दै होला मलाई छुने मन, जहाँ-जहाँ जान्छु त्यही लाग्छ नयाँपन...।’ जसमा ज्ञानेन्द्र गदालको शब्द, बुलु मुकारुङको संगीतमा गायक थिए, लेखु विवश। मैले गाएक चिनेको थिइनँ। एक साँझ गीत मन पराउने साथीहरुको झुण्डमा मदिरामा लठ्ठिएका विवश भेटेँ। म झस्किएँ, उनी पनि प्रकाश पराजुली भइसकेका रहेछन्।
गीतको प्रसंग आउँदा अर्को एउटा प्रसंग छोड्दिनँ। सानै उमेर भए पनि ठूलै कार्यक्रम आँटेका थियौँ इलाम क्याम्पसमा। देशका एक बहुचर्चित गाएक बोलाएका थियौं। मैले काम गर्ने एफएममा पनि उनका गीत प्रतिदिन कमसेकम पनि १० वटा चाहिँ बज्थे होला। यति चर्चित गाएकको नाम लेख्दिनँ। तर, रक्सी खाएर उनै गाएकले गरेको हर्कत सम्झँदा हाम्रो नजरमा उनी साँझ रक्सी खाएर हल्ला गर्ने आम मान्छेभन्दा माथि उठ्न सकेनन्। आज पनि उनका गीत सुन्दा इलाम क्याम्पसको ‘भिज्वल’ दिमागमा आउँछ।
झापाका पत्रकार एक दाजू मेरा लागि अब्बल दर्जाका पत्रकार हुन्। झापाका पत्रकार झुण्डमा सम्पादकीय लेख्न सक्ने पत्रकार। कतिपय नाजुक पत्रिकाका नाजुक सम्पादकको अनुहार हेर्ने हो भने मैले लेखेको अत्युक्ति हुँदैन। उनी पनि पेशा र दारु दुबैलाई प्रेम गर्छन्। दारु शीर्षकमा थुप्रै आलोचना खेप्छन्। तर, उनका समाचारमा कसैले औँलो उठाउन सक्दैन। कतिपय उनका समाचार क्लिस्ट छन्, थोरैले बुझ्छन्। जतिले बुझ्छन् तारिफ गर्छन्।
दारु खाने दाजुसँग बसेर सितन सिध्याउँदा मनमा एक खालको औडाहा हुन्छ, छटपटी हुन्छ। भाउजूको फोन काटेर उनकै आँशु पिएजस्तो। छोराछोरीको सपनामाथि रक्सी खन्याएजस्तो। बाबुबाजेले मुस्किलले बचाएर ल्याएको खान्दानको अनुहारको सितन खाएजस्तो।
फरक संस्कृति, फरक संस्कार र फरक परिवेशमा हुर्किएकी भाउजू आफ्ना सपना त्यागेर फरक संस्कृति, फरक संस्कार र फरक परिवेशमा हुर्किएको दाजू अपनाउन आइपुगेकी छिन्। यो मिलनमा कमसेकम एक जनाको सपना तुहिनु त निश्चित थियो। पुरुषप्रधान समाजमा भाउजूले सहिदिइन्। हरेक साँझ दारु खाने मेरा दाजूले भाउजूको सपनामा टेकेर गज्जबको परिचय जोडिदिए, ‘जँड्याहा कि स्वास्नी।’
लेख भारी हुने भयमा मैले झन्डै तीन दर्जन नाम अटाउन सकिनँ। तर, सबैको जीवनबाट रक्सी निकालेर हेर्ने मन छ।