शिल्पी थिएटरमा हेरेका 'माधवी' र 'हिँउको यात्रा' नाटकले मेरो मनमा खैलाबैला मच्चाइदिएका थिए।
'विमोक्ष' ले फेरि त्यस्तै गरिदियो।
घिमिरे युवराजकृत 'विमोक्ष' को शिल्प र शैली मेरा लागि सर्वथा नौलो हो। नाटकको विषय औसत नै हो भन्दा फरक नपर्ला तर प्रस्तुतिमा जुन कल्पना र कला छ त्यो सम्भवतः नेपालमा नयाँ प्रयोग भएको हुनुपर्छ।
फिल्ममा विगतको स्मृति वा संस्मण अर्थात फ्ल्यासब्याक दृश्यहरू अनवरत हेरिएका हुन्। वर्तमान हेर्दाहेर्दै फ्याट्ट फ्ल्यासब्याक आइदिन्छ। कति फिल्म त फ्ल्यासब्याकमै सकिन्छन्।
नाटकमा त फ्ल्यासब्याक र वर्तमानको संयोजन निकै कठिन काम रहेछ। यही कठिन काम भएको रहेछ विमोक्षमा।
एक नारीको वृद्धावस्था र उनको यौवनावस्था एक साथ देखाउने शिल्पी टिमको शिल्प मेरा लागि सर्वथा नौलो हुने नै भयो।
नाटकको मञ्चमा चार जना देखा पर्छन्। पत्राहरू अरू पनि छन् तर परोक्ष, देखा नपर्ने खालका।
ती चार जना पनि प्रकारान्तरले नाटकको कथानकमा दुई जना मात्रै हुन्। दुई जना चाहिँ स्मृतिका प्रतिविम्ब।
रश्मिदेवी बस्नेत माने मुमाहजुर। रश्मिदेवी मुमाहजुरको अधबैंसे स्मृति। कमल घिमिरे माने दीप दर्नाल। दीप आजको अधबैंसे पुरुष, कमल दीपको कलकलाउँदो युवावस्थाको स्मृति।
आहा! कथानकका वर्तमान पात्र र तिनका स्मृतिका प्रतिविम्बको क्या कलात्मक प्रस्तुति! क्या शिल्प! क्या शैली!
यी सबैको पच्चीस वर्ष हाराहारीअघिको स्मृति र वर्तमानको नाट्य संयोजन! तब पो हेर्नु नाटक!
एक सैनिक अधिकृत अर्थात कर्नेल श्यामकुमार बस्नेतकी जेठी श्रीमती हुन् रश्मिदेवी। कर्नेल सैनिक सेवाका सिलसिलामा अधिकांश समय ब्यारेकमै अर्थात घरबाहिर हुन्थे।
घरबाहिर पनि उनलाई इच्छापूर्तिको कुनै अभाव थिएन। घर आउँदा आज्ञाकारी श्रीमती छँदै थिइन्। बस्तीमा उनी आउनुको हलचलको शान झन् बेजोड थियो।
उनी कहिलेकाहीँ घर आउँथे। मन लागेको जति गरेर जान्थे।
आजका दीप दर्नाल चाहिँ ती व्यक्ति हुन् जसले नाम कमल घिमिरे भनेर कर्नेलको घरमा डेरा लिएका थिए।
आज पनि जातका हिसाबले केही मानिस किनारामा छन्, किनारामा पारिएका छन्। कानुनमा जेसुकै लेखेको होओस्, काठमाडौं उपत्यकाको घना बसोवास क्षेत्रमा पनि तिनले डेरा पाउन जातथर ढाँट्नु पर्छ।
दीप दर्नाल कमल घिमिरे हुनु परेको पनि काठमाडौंमै हो।
नेपाली समाजमा व्याप्त छुवाछुत, यौनकुण्ठा र त्यसभित्रको मनोविज्ञान नै विमोक्ष कथानकको सार हो। रश्मिदेवीका लागि श्यामकुमार बस्नेत श्रीमानभन्दा बढी एक कर्नेल थिए।
त्यसैले त रश्मिदेवीको एउटा संवाद छ– चिसोतातो जे भए पनि लोग्नेस्वास्नीबीच हुने काम भयो। त्यही मौकामा दुई छोरीहरू जन्मिए। बिस्तारै मायाममता छोरीहरूतिर बढ्दै गयो। उनी मेरा लागि झनझन् श्रीमान कम र छोरीहरूका बाबु बढी भए।
बहिनीले मलाई यसो भन्थी भनेको अर्को एउटा संवाद छ– दिदीहजुर, तिमी कसरी बस्न सक्छ्यौ चिडियाखानाजस्तो यो घरमा! सबैले माया गरेजस्तो देखिने तर कैदीको जस्तो जिन्दगी!
यी संवादले रश्मिको मनोविज्ञानको प्रष्ट चित्र दिन्छन्।
रश्मिभित्र यौनकुण्ठाको ताल जमेर हिउँ भएको थियो। कर्नेल रहँदासम्म जमेरै बस्यो। उनको मृत्युपछि ताल पग्लियो। त्यसमा पौडिन आए कमल। खासमा आएका होइनन्, रश्मिदेवीद्वारा ल्याइएका थिए।
आज मुमाहजुर स्मृतिका तिनै पाना पल्टाउँछिन्।
दीप ती पाना बन्द गर्न चाहन्छन् अर्थात उनी कमल घिमिरे बिर्सन चाहन्छन्। मुमाहजुर त्यही कमललाई स्मृतिमा ल्याउँछिन्।
यो द्वन्द्वका संवाद र दृश्यहरू संयोजनको कलात्मक शिल्प र शैली विमोक्षको खास विशेषता हो।
आज पनि दलित भनिएका मानिसहरूप्रति हाम्रो समाजको दृष्टिकोणको सपाट पात्र हुन् दीप दर्नाल।
यो आजको समाजसँग उनका अनेक प्रश्नहरू छन्– सारा गाउँलेको आङ मेरा आमाबाबुले सिलाएको लुगाले ढाकिएर इज्जतिलो बने तर उनीहरूको आङ सधैं अछुतो भयो, किन?
मेरा आमाबाबुले गरेकै काम तपाईंका छोराछोरीले गरेर फेसन डिजाइनर भए, मेरा आमाबाबुले खेतको गह्रामा बसेर केराको पातमा खानु पर्यो, किन?
मेरा हजुरबाले बजाएको नर्सिंगाको डाँडाकाँडा थर्काउने आवाज दलितहरूको चित्कार थियो, यो समाज किन बुझ्दैन?
आज पनि मन्दिरै मन्दिरको सहरमा देवताहरू निर्लज्ज बसेका छन्, किन?
उनी आफू दीप दर्नालको साटो कमल घिमिरे हुनु परेको पीडाले आज पनि पिरोलिनुसम्म पिरोलिएका छन्। यो समाज किन कुरा बुझ्दैन?
यस्ता अनेक प्रश्नको जवाफ मागेर विमोक्ष खोज्छ विमोक्षले, विमोक्ष अर्थात मोक्ष, मुक्ति।
मुमाहजुर कर्नेलकी श्रीमती हुनुको शानमान र त्यसमा पिल्सिएर बसेको जवानीको कुण्ठाबाट मुक्ति खोज्छिन्। खासमा कर्नेलको मृत्युपछि कमलसँगको रासलीलाले कुण्ठामुक्त भएकी थिइन्।
यही कुरा दीप दर्नाललाई बुझाउनु उनको एउटै धोको थियो। मर्नुअघि यति गर्न चाहन्थिन्। उनले यसैमा आफ्नो विमोक्ष देखेकी थिइन्। यसैमा आफ्नो मुक्ति खोज्दै थिइन्।
आखिर गरेरै छाडिन्।
लेखक घिमिरे युवराज र निर्देशक प्रवीण खतिवडाले साँच्चै एउटा अनुष्ठान नै गरेका रहेछन्। र, सिंगो शल्पी टिमले।
लेखकका अनुसार नाटकको विषय बर्जित प्रेम र जातीय विभेद हो। पढेका र हेरेका नाटकले हुटहुटी लाएर 'विमोक्ष' लेखिएको हो। यसपटक यस्तै भयो।
हो, यसपटक गज्जब भयो प्रिय साथी। लेखन तथा प्रस्तुति र शिल्पका दृष्टिले अजोडी नाटक आयो।
निर्देशक प्रवीणका अनुसार लेखकले प्रेम, प्रणय, सम्पत्ति, प्रतिष्ठा, जात, धर्म आदिका आडमा व्याप्त सामाजिक–राजनीतिक चेतमाथि कटाक्ष गरेका छन्।
प्रवीणले भने झैं एउटा कृतिका रूपमा विमोक्ष नाटक साँच्चै सुन्दर छ।
पात्रहरूको भावनाको सम्मान र न्यायका हिसाबले मुमाहजुरका रूपमा सगुना शाह, रश्मिदेवीका रूपमा पवित्रा खड्का, दीप दर्नालका रूपमा घिमिरे युवराज, कमल घिमिरेका रूपमा सागर खाती कामीले बेजोड अभिनय गरेका छन्।
नाटक हेर्नु मेरो औधी रूचिको विषय होइन, बिस्तारै बानी पर्दैछु। पढ्नमा पनि निकै पछाडि छु। धेरै वर्षअघि राष्ट्रिय नाचघरमा गीती नाटक 'मुनामदन' हेरेको थिएँ।
२०६४ मा स्थापित शिल्पी थिएटरले मञ्चन सुरू गरेपछि म नाटकमा केही अभ्यस्त भएको हुँ। साथी घिमिरे युवराजको आग्रहमा उनको मन राख्ने उद्देश्यले जाँदाजाँदै बानी परेको हो।
आजकाल त अरू नाटकघर पनि फाटफुट पस्न थालेको छु।
युवराजकै निम्तोमा प्रथम प्रदर्शनमै विमोक्ष हेर्ने मौका पाएँ।
शिल्पीको टिमले भन्छ– नाटक राम्रो लागे साथीहरूलाई भनिदिनू होला, नराम्रो लागेको कुरा हामीलाई भनिदिनूहोला।
मैले चाहिँ एक पटक दोहोर्याउने निर्णय गरेको छु।