शनिबार माइतीघर मण्डलमा एउटा नाटक प्रदर्शन भयो– क्लाउन इन द चेयर।
अर्थात, कुर्सीमा जोकर।
शिल्पी नाटकघरले प्रदर्शन गरेको उक्त नाटकले प्रतीकात्मक रूपमा एउटा जोकरको हातमा कुर्सी पर्यो भने कस्तो हुन्छ भनेर देखाउन खोजेको थियो।
नाटक निर्देशक घिमिरे युवराज उक्त नाटकबारे बताउँदै भन्छन्, 'हामीले सत्तामा त्यस्ता मान्छे पुर्यायौं जो नाटकमा देखाइएको जोकर जस्ता छन्। उनीहरूसँग कुनै बाह्य खुबी र चेतनाको स्तर छैन।'
उनले अगाडि भने, 'आज जो सत्तामा छन्, उनीहरू पनि कुनै समय आम नागरिक थिए। तर सत्तामा पुग्ने बित्तिकै तानाशाही प्रवृत्ति देखाउन थाले। लोकतन्त्र त आम नागरिकको हितमा हुनुपर्ने हो। तर उनीहरूले आफ्नो स्वार्थका लागि मात्र काम गरिरहेका छन्। उनीहरूलाई खबरदारी गर्न पनि हामी सडकमा आएका हौं।'
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा माइतीघरमा 'प्रतिगमनविरूद्ध बृहत नागरिक आन्दोलन' क्रममा शिल्पीले आफ्नो सहभागिता जनाएको हो। यसअघिको शनिबार पनि युवराजले शंखघोष नै गरेर आन्दोलन सुरूआत गरेका थिए।
यो समय राज्य मात्र होइन, रंगमञ्च पनि कोरोना महामारीका कारण अस्तव्यस्त छ। महामारीका कारण धेरैले मानसिक र आर्थिक समस्याबाट गुज्रिनुपरेको छ। रंगमञ्चमा आएको शून्यतासँगै दैनिक खर्च, खाना, अध्ययन, डेराभाडाआदिको लागि संघर्ष गरेर बाँचिरहेका छन् नाट्यकर्मीहरू।
रंगमञ्चको अभिभावकत्व ग्रहण गरेको प्रज्ञा प्रतिष्ठानलाई रंगकर्मीहरूले विज्ञप्ति लेखे, बारबार गुहारे तर पनि उनीहरूको कुरामा ध्यान नदिइएको युवराज बताउँछन्।
रंगकर्मीहरूले रंगमञ्चमा लामो समयदेखि कर्म गर्न पाएका छैनन्। यो चिन्ताको भार छँदैछ। यसलाई एकातिर पन्छाएर उनीहरू देशका समस्याहरूमा बारम्बार किन नागरिकका नाममा सडकमा ओर्लन जरुरी ठान्छन्?
यसको सहजै जवाफ दिन्छन् युवराज, 'हाम्रो समस्या आफ्नै ठाउँमा छ। तर अहिले देश नै अर्कै मोडमा गइरहेको छ। यो समयमा हामीले हाम्रो समस्यालाई गौण राखेका हौं। कुनै दिन हाम्रो आक्रोश विष्फोट हुने ठाउँ पनि बन्न सक्छ माइतीघर मण्डल।'
यो ठाउँ धेरै पटक नागरिकको आक्रोश पोखिने ठाउँ बनेको छ। यसअघि गुठी विधेयक विरोध गर्ने काठमाडौंका गुठीयार वा स्थानीय हुन्, चाहे उखु बेच्दा ठगिएका तराईका किसान, आफ्नो आवाज लिएर माइतीघरै आइपुग्छन्। र, सिंहदरबारलाई आफ्नो सार्वभौमिकता सम्झाउँछन्। नेतालाई खबरदारी गर्छन्।
रंगकर्मी युवराज आफूले सडकमा प्रदर्शन गरेको प्रदर्शनको स्वरूपलाई खुला रंगमञ्च भन्न रूचाउँछन्। यसमा रंगकर्मी मात्र होइन, कलाकार र लेखकले पनि प्रतिगनविरूद्ध आवाज उठाएका थिए।
भौतिक रूपमा बन्द रंगमञ्चको मानक ठाउँ राणाकालीन सिंहदरबारको नाचघर हो, जसको निर्माण १९६० दशकमा भएको हो। यो २०३० सालमा जलेर ध्वस्त भयो। त्यसपछिका नाचघर र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्रेक्षालयहरू बन्द रंगमञ्चका रूपमा विकसित भए। २०५९ सालमा आरोहण गुरुकुल खुलेपछि बल्ल रंगमञ्चको आधुनिक युग सुरू भयो।
खुला रंगमञ्चका रूपमा भने २०३९ सालतिर अशेष मल्लले कीर्तिपुर विश्वविद्यालय प्रांगणमा प्रदर्शन गरेको 'हामी वसन्त खोजिराछौं' लाई पहिलो नाटकका रूपमा लिइन्छ।
शिल्पी यसरी सडकमा आएको पहिलोपटक भने होइन। ०६२–६३ को आन्दोलनदेखि नै हो। त्यो बेला भर्खरै खुलेको शिल्पी नाटकघरले 'नयाँ नेपाल' नामक नाटक प्रदर्शन गरेको थियो। एउटा शासक जो अराजक छ र आफ्नो मनमानी गर्छ, त्यसलाई देशबाट विस्थापन गर्न गरिएको संघर्ष त्यसमा देखाइएको थियो।
'त्यो बेला र अहिलेको राजनीतिक स्थिति उस्तै छ भन्दा फरक पर्दैन। हामीले सत्तामा रहेका ज्ञानेन्द्रलाई विस्थापन गर्यौं तर त्यस्ता मान्छेलाई पुर्यायौं जो कुर्सीमा बसेर जनतामाथि हँसिमजाक गर्छ।'
करिब डेढ दशक हुन लागिसक्यो युवराज यसरी सडकमा आउन थालेको। कस्तो चेतले उनलाई यहाँसम्म ल्यायो होला?
०६२–०६३ को आन्दोलन चलिरहँदा शिल्पी नाटकघर पनि रंगमञ्चमा बामे सर्दै थियो। युवराजमा नाटकको नसा चढ्दै थियो। युवा जोस त थियो नै, त्यसमाथि उनलाई लाग्यो रे – नाटकबाट राजनैतिक परिवर्तन सम्भव छ। संसार नै यसबाट परिवर्तन हुन सक्छ।
तर समयसँगै उनलाई लाग्न थालेको छ, 'परिवर्तन सम्भव त छ। तर यो निकै लामो प्रक्रिया हो। ढिलो-चाँडो परिवर्तन सम्भव छ भन्ने लागेरै हामी यो लामो प्रक्रियामा सहभागी भइरहेका हाैं।'
०६२–६३ यता उनीहरूले जातीय हिंसा, यौन हिंसा या यस्तै राजनीतिक अस्थिरता, उनीहरू सडकलाई खुला रंगमञ्च बनाउन पछाडि परेका छैनन्। मान्छेले आन्दोलनमा सुन्दै आएको राजनैतिक भाषणभन्दा कलाको माध्यम नरम, सबैले बुझ्ने र प्रभावकारी हुन्छ भन्ने युवराजको बुझाइ छ।
भन्छन्, 'हरेक नागरिक आन्दोलनमा कलाका विभिन्न माध्यम सँगै प्रयोगमा आउनुपर्छ। यसले गम्भीर मुद्दालाई पनि सरल तरिकाले मान्छेलाई बुझ्न सघाउँछ।'
करिब ९ महिनादेखि रंगमञ्चमा नाटक देखाउन नपाउँदाको नैराश्यता पनि युवराजले सडकमै पोखे। कोरोना उत्कर्षमा रहँदा पनि उनको समूहले पाटन दरबार स्क्वायरमा केही नाटक प्रदर्शन गरेका थिए।
गत आइतबार भने धेरै समयदेखि अन्धकारले छाएको शिल्पीमा उज्यालो प्रकाश छिर्यो। त्यो दिन शिल्पी नाटकघरले '६ पात्रको एकालाप' नाटक मञ्चन गर्यो। एक दिनकै लागि सही, स्वास्थ्य सुरक्षा ध्यानमा राख्दै मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गर्दै नाटक देखाइयो। करिब २ सय जना अट्ने नाटकघरमा करिब ५० जना आएका थिए।
'यसबाट हामीले केही सीमित समुदाय अझै रंगमञ्च मिस गरिरहेका छन् भन्ने बुझ्यौं। उनीहरू नाटक हेर्न तयार छन् भन्ने थाहा पायौं,' युवराजले भने, 'नाटकघर नाटक हेर्ने ठाउँ मात्रै होइन, आम मानिसले आफ्नो काम, झन्झट वा व्यस्तताबाट बाहिर निस्केर सास फेर्ने ठाउँ पनि बनिसकेको थियो। त्यसैले, मान्छे फेरि नाटकघरमा जान तत्पर छन्।'
माघ १ देखि ११ वटा नाटकघर खोल्ने तयारी भइरहेको छ। ती नाटकघर एकै दिनमा खुल्ने भन्ने होइन, क्रमबद्ध खुल्न लागेका हुन्।
'शिल्पी नाटकघरबाटै सुरू हुन लागेको छ। त्यो दिन हामी '६ पात्रको एकालाप' नाटक नै देखाउन लागेका छौं। यो एक हिसाबले दर्शक कति उत्साहित छन् भनेर थाहा पाउने प्रयोगात्मक अभ्यास जस्तो पनि होला,' उनले भने।
सरकारले सिनेमा हल खुल्ने अनुमति दिइसकेको छ। रंगमञ्चले पाइसकेको छैन। तर रंगमञ्च पनि खुल्न आतुर भइसकेको बताउँदै युवराजले भने, 'सरकारले नीति ल्याउला र काम गरौंला भनेर अब हामी चुप बस्नेवाला छैनौं। रंगमञ्चलाई पनि सुरक्षा मापदण्ड अपनाउँदै चलाउन सकिन्छ जस्तो लाग्छ।'
योसँगै प्रतिगमनविरुद्ध अब के गर्ने भनेर कार्ययोजना पनि उनी बनाइरहेका छन्।