लोकप्रिय नेपाली लोकरक ब्यान्ड नेपथ्यले शनिबार साँझ बुटवलमा दर्शकको भव्य उपस्थितिमा प्रस्तुति दिएको छ। देशव्यापी यात्रामा रहेको नेपथ्यको यो दोस्रो कन्सर्ट हो।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कन्सर्टमा मुख्य गायक अमृत गुरूङले गीत मात्र पस्केनन्, आसन्न निर्वाचनमा सहभागिताका लागि अपिल समेत गरे। उनले नेपाली क्रिकेट टोलीको विश्वकप यात्राको शुभकामना समेत दिए। प्रस्तुतिको सुरूदेखि अन्तिमसम्मै दर्शकले तालमा ताल मिलाउँदै अमृतलाई उत्साहपूर्वक साथ दिए।
कन्सर्टका लागि जारी गरिएका साढे आठ हजार टिकट कन्सर्ट सुरू हुनुभन्दा केही घण्टाअघि नै बिक्री भइसकेका थिए। दुई घण्टापहिले ढोका खुल्नासाथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर 'मेला' झैं बनेको थियो। दर्शकदीर्घामा अनेक भावभंगीमा, जातीय पहिचान र आधुनिक पहिरनका रंगीविरंगी दृश्य देखिन्थ्यो। तीमध्ये ह्विचेयर गुडाउँदै आफ्ना निम्ति सुरक्षित स्थान खोजिरहेका दर्शक वसन्त न्यौपाने पनि भेटिए। उनलाई स्वयंसेवकहरूले तत्कालै सुरक्षित र उपयुक्त ठाउँमा पुर्याएका थिए।
'गीतले गर्दा मात्रै होइन, व्यवस्थापनसम्मका यस्ता अनेक प्रबन्धले नेपथ्य विशेष लाग्छ', २२ वर्षीय वसन्त भनिरहेका थिए।
पाल्पाबाट बसाइँ सरेर तिलोत्तमा शिवचोक आएका वसन्त चार वर्षअघि पनि नेपथ्यको बुटवल कन्सर्टमा उपस्थित थिए। त्यतिखेर उनको अवस्था सामान्य थियो। दुई वर्षअघि सिद्धबाबा स्विमिङ पुलमा डाइभ गर्दा स्पाइनल इन्जुरी भएपछि उनी ह्विलचेयरमा आश्रित भएका हुन्। हाल स्नातक अध्ययनरत वसन्तले भने, 'सानैदेखि मन पर्ने नेपथ्यको गीत सुन्ने मोहले यहाँसम्म आइपुगेँ।' कन्सर्टभर उनी रमाइरहेका देखिन्थे।
दर्शकदीर्घाको अन्तिम किनारामा विजया पाण्डे भेटिइन्। अगाडि विशाल मैदानमा लहरजस्तै फैलिएका मानिस थिए भने यता एक्लै उभिएकी विजया सुरूदेखि अन्तिमसम्मै रमाएर नृत्य गरिरहेकी थिइन्।
'मसँगै आएका छोरा र छोरीले त्यो विशाल भीडमा पस्ने आँट गरे', मणिग्रामकी फर्निचर व्यवसायी उनी भनिरहेकी थिइन्, 'मलाई चाहिँ आँट आएन र यतै रमाइरहेकी छु।'
आफू दुई दशकदेखि नेपथ्यको 'फ्यान' रहेको बताउने विजयाले सन् २०१५ मा जापानको टोकियोमा आयोजित नेपथ्य कन्सर्ट पनि अवलोकन गरेको सुनाइन्।
'हो रामा रामा' गीतबाट सुरू भएको कन्सर्टमा तीव्र लयका गीतहरू एकपछि अर्को गरी प्रस्तुत हुँदै थिए। त्यसै क्रममा अमृतले कर्णालीको सन्दर्भ निकाले।
'उहिलेको वैभवशाली कर्णालीमा पछि के बिग्रियो बिग्रियो, त्यो सिंगो भेग समय क्रममा पछाडि छुटेजस्तो भयो', उनले भने, 'अब राष्ट्र निर्माणको मूल प्रवाहमा मिलाएर उसको त्यो वैभव फर्काउनु छ है।' त्यसपछि उतैबाट संकन गरिएको लोकभाका 'टप्पा' मा आधारित गीत 'कर्नालीका छाइला' प्रस्तुत भयो।
कन्सर्टको मध्य अवधिसम्म पनि गेटमा भने दर्शकको प्रवेशक्रम जारी देखिन्थ्यो। परिसरभित्र 'लुम्बिनी बरिस्ता' को कफी स्टल चलाइरहेकी लक्ष्मी विश्वकर्मालाई ग्राहकको अर्डरबमोजिम कफी बनाउने व्यस्तताले छाडेको थिएन। 'पाएदेखि म पनि गएर हेरूँला भनेको', उनी सुनाइरहेकी थिइन्, 'आज चाहिँ मौका मिलेन।'
दर्शकहरू कोही ठूलो झन्डा बोकेर आएका थिए, कोही अनुहारमा रङ दलेर। कोही आफूले बनाएको गायक अमृतको तस्बिर बोकेर आएका थिए। आकाश विश्वकर्माजस्तै आफूले तयार गरेको स्केच बोकेर नृत्यरत दर्शक मात्रै पनि मैदानका तीन स्थानमा देखिएका थिए।
'बुटवलमा नेपथ्य कन्सर्ट आयोजना गर्दा ठूलो संख्यामा दर्शक जुटाउन मुस्किल पर्दैन', कार्यक्रम सकिएपछि स्थानीय आयोजक ब्याकअप इभेन्ट्सका सन्तोष टन्डन भन्दै थिए, 'प्रस्तुतिदेखि व्यवस्थापनसम्मको कुशलताका कारण सबै दर्शक सन्तुष्ट भएर फर्किएको देख्दा आनन्द महसुस हुन्छ।'
शनिबारको कन्सर्टमा अमृतलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
बुटवलपछि नेपथ्य टोली आइतबार नारायणगढ प्रस्थान गरिसकेको छ। त्यहाँस्थित 'क्याम्पा चौर' मा माघ २७ (मंगलबार) को बेलुकी ब्यान्ड प्रस्तुत हुनेछ। सो फराकिलो मैदानमा नेपथ्यले लगभग चार वर्षअघि पनि प्रस्तुति दिएको थियो। ब्यान्डले यो सहरमा पनि आफ्ना प्रशंसकबाट सदैव उच्च सम्मान पाउँदै आएको छ।
नारायणगढको प्रस्तुतिपछि यो शृंखलाको अन्तिम कन्सर्टका लागि नेपथ्य रमणीय पर्वतीय नगरी बन्दीपुरतर्फ प्रस्थान गर्नेछ। त्यहाँस्थित टुँडिखेलमा फागुन २ अर्थात् 'भ्यालेन्टाइन्स डे' को साँझ नेपाली लोकरक गुन्जिनेछ।
दर्शक सुविधालाई ध्यानमा राखेर कन्सर्टको टिकट अनलाइनबाटै काट्न सकिने व्यवस्था मिलाइएको छ।
हेर्नुहोस् बुटवल कन्सर्टका तस्बिरहरूः




