गायक तथा अभिनेता प्रकाश सपुतले तीज गीत 'नाइँ भनेसी नाइँ' सार्वजनिक गरेका छन्। शुक्रबार राति युट्युबमा सार्वजनिक यो गीतको कथानक भिडिओमा रेखा थापा, सिम्रन खड्का, संजोग रसाईली लगायतको अभिनय छ। प्रकाश स्वयंले पनि यसमा अभिनय गरेका छन्।
'बदला बरिलै २' का रूपमा सार्वजनिक गीतमा पछिल्लो पुस्ताका दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन्।
प्रकाशले तीज कोसेलीका रूपमा यो गीत ल्याएका हुन्। यसमा शब्द तथा संगीत प्रकाशको छ भने संगीत संयोजनको काम श्यामश्वेत रसाईलीले गरेका हुन्।
म्युजिक भिडिओमा विरलै अभिनय गर्ने रेखाको यो करिअरकै दोस्रो म्युजिक भिडिओ हो। यसको विषयवस्तुका कारण आफूले अभिनय गरेको रेखाले बताएकी छन्। भिडिओमा गायिकाद्वय समीक्षा र एलिना पनि देखिएका छन्।
यो गीतमा प्रकाशले जबरजस्तीकरणी विरूद्दको आवाज उठाएका छन्। गीत सार्वजनिक गर्दै प्रकाशले भनेका छन्,'यो तीज गीत 'नाइँ भनेसी नाइँ (बदला बरिलै २)' जबरजस्तीकरणी विरूद्दको एउटा आवाज हो। हामीलाई विश्वास छ तपाइले पनि आवाजमा आवाज मिसाउनु हुनेछ।'
प्रकाशले पाँच वर्षअघि सार्वजनिक 'बदला बरिलै' मा पनि जबरजस्तीकरणी विरूद्दको आवाज उठाएका थिए। त्यसमा देवी घर्तीको स्वर र केकी अधिकारीको अभिनय थियो।
'बदला बरिलै २' को भिडिओको कुरा गर्दा यसको परिकल्पना तथा निर्देशन प्रकाश सपुतको हो। यसमा छायांकन बुद्ध थापा र सम्पादन प्रविन भट्टको छ।
भिडिओः