युवा पुस्तामाझ चर्चित नेपाली गायक एकदेव लिम्बूले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गरेको गीतले चर्चा पाइरहेको छ।
यी दुईको सहकार्यमा शुक्रबार 'झिम झिम' शीर्षकको गीत सार्वजनिक भएको थियो। यो गीत यतिबेला स्रोता/दर्शकको मन जित्दै युट्युब ट्रेन्डिङमा समेत अगाडि आइरहेको हो।
युट्युब ट्रेन्डिङमा संगीत विधातर्फ यो गीत पहिलो नम्बरमा आएको छ। आइतबार दिउँसोसम्म गीतलाई ५४ लाखभन्दा बढीपटक हेरिएको छ। 'झिम झिम' मा हिन्दी र नेपाली गीतको मिश्रण छ। यसमा संगीत रजत नागपालको छ भने शब्द एकदेव लिम्बु र राना सोटलको हो।
यो रोमान्टिक गीतको भिडिओमा ऋत्विक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन्। भव्य र आकर्षक बनाइएको भिडिओलाई स्नेहा शेट्टी कोहलीले निर्देशन गरेकी हुन्।
'झिमझिम' ले संगीतमार्फत दुई देशलाई जोड्ने काम गरेको धेरैले बताएका छन्। नेपाल र नेपाली भाषालाई प्रवद्र्धन गर्नमा पनि गीतले भूमिका खेलेको प्रतिक्रियाहरू युट्युबमा देखिन्छन्।
एकदेवको पछिल्लो गीत 'झिम झिमाउने आँखा' विश्वव्यापी चर्चामा रहेको थियो। जसलाई ६ महिनामै युट्युबमा ३ करोड २६ लाखभन्दा बढी पटक हेरिएको छ।