गायन रियालिटी शो 'नेपाल आइडल' को पाँचौं संस्करण जारी छ। शोको शनिबार प्रसारण एपिसोडमा उत्कृष्ट १४ प्रतिस्पर्धीको प्रस्तुति रह्यो।
करण परियार, सचिन विश्वकर्मा, मोहित भुजेल, सलोमी गुरूङ, प्रेरणा बिसी, प्रशान्त थापा, छिरिङ पाख्रिन, इशा सुवेदी, सुनिल वस्याल, मानव परियार, सुनिल विश्वकर्मा, ऋषभ पन्थी, प्रकाश बुढा र सन्तोष पुन शोमा उत्कृष्ट १४ मा पुग्न सफल रहे।
यीमध्ये ७ जना प्रतिस्पर्धीहरू प्रस्तुतिका आधारमा जजले दिएको नम्बरअनुसार सिधै उत्कृष्ट १२ मा छनोट भइसकेका छन्। जसमा करण परियार, सचिन विश्वकर्मा, मोहित भुजेल, सलोमी गुरूङ, प्रेणा बिसी, प्रशान्त थापा र छिरिङ पाख्रिन छन्।
बाँकी ७ जनाले भोटिङका लागि प्रतिस्पर्धा गरिरहेका छन्। भोटिङमा गएकामध्ये २ जना आउट हुनेछन् र आउँदो शुक्रबार उत्कृष्ट १२ को छनोट पुरा हुनेछ। सुरेश पौडेल निर्देशक रहेको शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन्।
निर्देशक पौडेल यसपटक पनि प्रतिभावान प्रतिस्पर्धीहरू नेपाल आइडलमा आएको बताउँछन्। 'अहिले प्रतिस्पर्धा गरिरहनुभएका सबै जना सिक्न चाहने, मेहनती, भेराइटी दिन खोज्ने हुनुहुन्छ। उहाँहरूलाई लिएर जजहरू पनि खुशी हुनुहुन्छ,'– उनले भने। टाइटल जसले जिते पनि गायक–गायिकालाई स्थापित गराउने आइडलको विशेषता भएको पौडेलले बताए। निशान भट्टराई, प्रताप दास, अस्मिता अधिकारी, रचना रिमाल त्यसको उदाहरण रहेको उनको भनाइ छ। यसपटक आइडलमा आएका प्रतिस्पर्धीहरू पनि सांगीतिक क्षेत्रमा चम्किने विश्वास रहेको उनले बताए।
सात प्रदेशसहित काठमाडौं समेत गरेर ८ स्थानमा भएको अडिसनमा यसपटक विगतमा भन्दा धेरै प्रतिस्पर्धीहरू आएको पौडेलले स्मरण गरे। अडिसनमा सहभागीमध्ये प्रि–थिएटर हुँदै १ सय ५२ प्रतिस्पर्धीबाट ४२ प्रतिस्पर्धीलाई थिएटर राउण्डमा छनोट गरिएको थियो। त्यसपछि पियानो राउण्ड हुँदै शो गाला राउण्डमा आइपुगेको हो।
शोको फिनाले असार ८ गते गर्ने तयारी छ। निर्देशक पौडेलले यसपटक फिनाले नेपालबाहिर गर्ने तयारी रहेको जानकारी दिए।
एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८:३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन्।