गायक एवं संगीतकार टंक बुढाथोकीले फिल्म बनाउने भएका छन्।
आफ्नो हिट गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन?' शीर्षकमा उनले फिल्म बनाउन लागेका हुन्। पाँच वर्षअघि टंक र बाल गायक अशोक दर्जीको स्वरमा सार्वजनिक सो गीतलाई स्रोता–दर्शकले निकै रूचाएका थिए।
फिल्मका लागि कथा लेखनको काम सकिएको छ। टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्। निर्माणमा एनआरएनए बिनय अधिकारीसँग टंकको सहकार्य रहनेछ।
सामाजिक कथामा फिल्म बन्ने र फिल्मबाट बाल गायक अशोक दर्जी र छोरा एआर बुढाथोकीलाई डेब्यु गराउन लागेको टंकले सेतोपाटीलाई बताए।
उनका अनुसार अशोक र एआर फिल्मका लागि वर्कशपमा बसिरहेका छन्। 'भविष्यमा फिल्म बनाउँछु भन्ने योजना पहिल्यैदेखि थियो। कोरोनाको समयमा सोच बन्यो। अहिले उपयुक्त समय लागेर निर्माणको कामलाई अगाडि बढाएको छु,' टंकले भने, 'सामाजिक कथामा कर्मर्शियल फिल्म बन्नेछ। अशोक र एआरसँगै अहिले दर्शकले रूचाउनुभएका अभिनेता–अभिनेत्री पनि जोडिनुहुनेछ।'
केही सातामा कलाकारहरू फाइनल गर्ने तयारी छ। फिल्मका लागि निर्देशकहरूसँग पनि कुरा भइरहेको टंकले बताए।