८० र ९० दशकका हिट गायक। उनीहरूका हिट गीत। गायक र गीत दुवैलाई नयाँ पुस्तामाझ चिनाउनका लागि आशिष स्याङदेनले एउटा कार्यक्रमको परिकल्पना गरे– रिवाइन्ड। रेभोल्युसन टिभीका कार्यकारी निर्माता स्याङदेन जसले दुई दशक लामो समय रेडियोमा बिताएका थिए।
पुराना गीतहरूलाई नयाँ संगीत संयोजन गरेर स्रोता-दर्शकमाझ पस्किने सोचअनुरूप यतिबेला ८ वटा गीत सार्वजनिक भइरहेका छन्।
ओल्ड दरबारले प्रायोजन गरेको कार्यक्रमलाई गीत संगीत क्षेत्रसँग नजिक रहेका पाभेल उदासले निर्देशन गरेका छन्।
विगतका केही प्रतिष्ठित गीतहरू र गायकहरूलाई वर्तमानमा ल्याउने गरी प्रस्तुत गरिएको 'रिवाइन्ड' को यो संस्करणमा सबै गीतहरू कम्तिमा २० वर्ष पुराना छन्।
सागर झै गहिरो (सुनिल उप्रेती), एक नजर हेर्दैमा (हरिश माथेमा), अनजान मायालु (सञ्जय श्रेष्ठ), तिम्रा नयन (धीरज राई), कान्छीको अल्लारे जोवन (विधान श्रेष्ठ), जिन्दगीको के भरोसा (कर्ण दास), रित्तो सडकमा (जोन), लजालु मुस्कानले ( विजय गुरूङ), चरी भरर (मनोज श्रेष्ठ) र आत्मा (नरेन लिम्बू) गरेर १० वटा गीत यो संस्करणमा समावेश गरिएको छ।
गीतहरूको नयाँ संगीत संयोजन मनोज कुमार केसी र मन्जिल विक्रम केसीले गरेका हुन्। मनोज चर्चित नेपाली बाण्ड १९७५ एडी का गिटारिस्ट पनि हुन्। गीतको मिक्सिङ मास्टरिङ पनि उनैले गरेका हुन्। यस कार्यक्रमका डिओपी बिजु कर्माचार्य हुन्। कार्यक्रमको भिडिओ सम्पादन पनि उनले गरेका हुन्।
निर्देशक पाभेल उदासले ८० र ९० दशकका गीतहरूलाई नयाँ स्वरूप दिएर रिलिज गर्ने आइडिया रोचक लागेकाले जोडिएको बताए।
'स्कुल र कलेज पढ्दै गर्दा सुनेका गीतहरू फेरि सुन्दै जाँदा जोस्टाल्जिक फिल भयो। त्यही अनुभव सायद नयाँ पिँढीलाई पनि होला भनेर यो कार्यक्रमलाई निर्देशन गर्ने उत्साह आयो' उनले भने, 'हामीले धेरै समयको गृहकार्य अनि अथक प्रयासपछि मेटरलाइज भएको प्रोजेक्ट हो। हामी अर्को सिजनको पनि तयारी गरिरहेका छौं।'
गायक कर्णदासले कलाकार र स्रोताबीचको दूरी यस्ता कार्यक्रमले घटाउने बताए। 'जिन्दगीको के भरोसा गीत २०५५ सालमा मध्यान्ह समूहबाट रिलिज भएको थियो। त्यो बेला गीतबाट हामीले धेरै माया पाएका थियौं। अहिलेको नयाँ भर्सनमा आफ्नै किसिमको मिठास छ। मेरो लागि यो एउटा यादगार पल भयो' उनले भने, 'धेरैपछि दर्शक श्रोतामाझ प्रस्तुत हुन पाउँदा खुसी लागेको छ। कलाकार र श्रोताबीचको दूरी घटाउन कार्यक्रमले खेलेको भूमिका पक्कै पनि सराहनीय छ।'
गायक हरिश माथेमाले पनि धेरैपछि फरक खालको शोको अनुभव गर्न पाएको भन्दै खुशी व्यक्त गरे। '३५ वर्ष पुरानो एक नजर हेर्दैमा गीत नयाँ संगीत संयोजनमा पफर्म गर्न पाउँदा प्राउड फिल भएको छ। यस्तो कार्यक्रम अझै आइरहनुपर्छ जस्तो लाग्छु,' उनले भने।
'रिवाइन्ड' को यो संस्करणमा अझ २ वटा गीत सार्वजनिक हुन बाँकी छन्।