वर्ष २०८० मा सयौं गीत सार्वजनिक भए। त्यसमध्ये धेरै गीतहरू न चर्चामा आए, न युट्युबमा राम्रो भ्युज पाउन सके।
केही गीतहरू भने स्रोता-दर्शकमाझ निकै चर्चामा रहँदै युट्युबमा भ्युज पनि निकै लोभलाग्दो पाए। जसमध्ये सबभन्दा धेरै भ्युज पाउने गीत बन्यो– गायिका शान्तिश्री परियारको 'अरेली काँडैले'। ७ महिनाअघि सार्वजनिक गीतले ६ करोड ८८ लाख भ्युज पाएको छ। सम्भवतः यो नेपाली गीतको इतिहासमा वर्षदिन नपुग्दै धेरै भ्युज पाउने पहिलो गीत हुनसक्छ।
नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत रहेको यस गीतमा शान्तिश्रीको एकल स्वर छ। भिडिओमा प्रकाश सपूत र अञ्जली अधिकारी प्रस्तुत छन्।
यसवर्ष सार्वजनिकमध्ये धेरै भ्युज पाउनेको दोस्रो स्थानमा गायक सुशान्त केसीको गीत 'सारंगी' छ। ९ महिनाअघि सार्वजनिक गीतलाई अहिलेसम्म युट्युबमा ४ करोड ५३ लाख बढी पटक हेरिएको छ। यसको भिडिओमा सुशान्त अभिनेत्री आना शर्माका साथ प्रस्तुत छन्।
वर्षको अर्को हिट गीत हो – प्रकाश दूतराजको 'रिमै'। ५ महिनाअघि सार्वजनिक गीतलाई युट्युबमा अहिलेसम्म ३ करोड ७४ लाख बढी पटक हेरिएको छ। प्रकाशकै शब्द, संगीत रहेको यो गीत उनले मेलिना राईसँग मिलेर गाएका हुन्। भिडिओमा प्रकाश केपिना गोतामेका साथ प्रस्तुत छन्।
गायक ओसिस थापाको गीत 'भिखारी' लाई ३ करोड ३७ लाखभन्दा बढी पटक हेरिएको छ। उनकै शब्द र स्वर रहेको गीतको भिडिओमा आकाश नेपाली र सरिता कठायत प्रस्तुत छन्। यो ९ महिनाअघि सार्वजनिक गीत हो।
युट्युबमा धेरै हेरिने वर्षको अर्को गीत हो– 'काले केटाले'। आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको यो फिल्मी गीत हो। 'ऐंचो पैंचो' फिल्ममा समावेश यो गीत ८ महिनाअघि सार्वजनिक भएको थियो। यो अवधिमा ३ करोड ३२ लाखभन्दा बढी पटक हेरिएको गीतको भिडिओमा ‘ऐंचो पैंचो’ का कलाकारहरू अभिनेत्री स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौलासँगै मोडल एलेक्स विश्वकर्मा (पारस) प्रस्तुत छन्।
गायक सुजन चापागाईँको गीत 'फूलथुंगे रानी' वर्ष २०८० को अर्को हिट गीत हो। हर्क साउदको शब्द, सुजनको संगीत र स्वर रहेको गीतको भिडिओलाई ३ करोड ११ लाख बढी पटक हेरिएको छ।
निकै पुरानो नेपाली गीत 'बादल वर्षा विजुली' को विदेशीले बनाएको कभर भिडिओलाई ९ महिनामा ४ करोड ५५ लाख बढीले हेरेको देखिन्छ। आनन्द कार्की र प्राश्ना शाक्यको स्वर रहेको यो गीत टिकटकका कारण फेरि चर्चामा आएको थियो।
बाल गीत 'पानी मुनी माछा' लाई ११ महिनाको अवधिमा ३ करोड ९६ लाख बढी पटक हेरिएको छ। यो गीत पदम बिसी र प्रशन्न बिसीले गाएका छन्।
उर्गेन दोङ र अन्नु चौधरीले गाएको 'सैया', एलिना चौहान र खेम सेञ्चुरीले गाएको 'कट्टा हान्दिन्छु', खेम सेञ्चरी र सुनिता बुढा क्षेत्रीले गाएको 'कमाउने नी हो', हेमन्त शर्मा र अस्मिता अधिकारीले गाएको 'उता परेली झिमझिम भो', टेक बिसी र एन्जिला रेग्मीले गाएको 'चस्मा लगाउली', समीक्षा अधिकारीले स्वर दिएको प्रकाश सपूतको गीत 'जाले रुमाल फाट्यो', सज्जनराज वैद्यको 'सुन कान्छी' लगायतका गीतहरूले पनि युट्युबमा राम्रो भ्युज पाएका छन्।
करोड बढी भ्युज पाउने अरू पनि थुप्रै गीतहरू छन्। वर्षको अन्त्यतिर भने भूपू पाण्डेको गीत 'पिरै पिर' चर्चामा छ। यो गीतले भ्युज पनि राम्रो पाइरहेको छ।