लोकरक ब्याण्ड नेपथ्यको इलाममा कन्सर्ट सम्पन्न भएको छ।
शनिबार बेलुका इलामको सूर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा ब्याण्डले कन्सर्ट सम्पन्न गरेको हो।
कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना गरेको हो। इलाम नगरपालिका-६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ। सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीनतल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भइ सञ्चालनमा आउने लक्ष्य राखिएको छ।
गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत 'कोशीको पानी यो जिन्दगानी' बाट साँझको थालनी गरेका थिए।
कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गरे, 'सक्ने भए अलिअलि इलाम देशभरि लगेर छरिदिन्थेँ।'
यसपालाको कन्सर्टमा सधैं दोहोरिने नेपथ्यका सदाबहार हिट गीतहरूलगायत भर्खरै रिलिज भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ पनि प्रस्तुत गरिएको थियो।
इलामको गढीथुम्कामा निर्माणाधिन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट 'इलाम गुरुङ समाज' को प्रस्तुति थियो।
'कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए' आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, 'यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुशी लागेको छ।'
कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।