लोकरक ब्याण्ड नेपथ्यले इलाममा कन्सर्ट गर्ने भएको छ।
चैत ३ गते शनिबार बेलुका इलामको सुयर्बोदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदैछ।
'राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,' गायक अमृत गुरुङ भने।
शनिबारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो। इलाम नगरपालिका-६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ। सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीनतल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भइ सञ्चालनमा आउने लक्ष्य राखिएको छ।
कन्सर्टमा टिकटको मूल्य एक हजार एक सय रूपैयाँ राखिएको छ।
कन्सर्टका हकमा विदेशका ठूला सहरहरूमा आयोजना हुने गुणस्तरलाई नेपालका साना गाउँवस्तीसम्म पनि एकरूपता दिन आफूहरू सदैव क्रियाशील रहेको र करफोकमा पनि दर्शकले यसलाई महशुस गर्नसक्ने जानकारी नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका अर्पण शर्मा बताउँछन्।
'पूर्वाञ्चलका विभिन्न सहरहरूमा टिकटको खुला विक्री सुरू भइसकेको छ' शर्मा भन्छन्, 'त्यसबाहेक नेपथ्य कै वेबसाइटमार्फत अनलाइनबाटै पनि टिकट किन्न सकिने प्रबन्ध मिलाइएको छ।'
कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन्।