गुड फ्राइडे सिनेमा
हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मन पर्छ भन्ने थाहा हुँदैन। तर रहस्यमयी र थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।
राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
रहस्यमयी र थ्रिलर विधामा दक्षिण भारतीय फिल्महरू पनि अग्रपंक्तिमा छन्। सामान्य अभिनय, सिनेमाटोग्राफी र कम बजेटमा बनेका भए पनि यो विधाका दक्षिण भारतीय फिल्महरू दमदार कथा पस्किन सफल छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले यस्तै तमिल फिल्म सिफारिस गरेका छौं।
यो फिल्मको रवि पात्रले हेर्ने संसार उही हो तर उनका आँखाले देख्ने तरिका अलग छ। उनी पाइपबाट हेरेजस्तो देख्छन्।
टनेल भिजन समस्याबाट ग्रसित उनको दृष्टि खुम्चिँदै गएको छ। यो समस्या हल गर्न उनले आँखा प्रत्यारोपण गर्नुपर्छ। यसका लागि उनलाई तीन लाख बीस हजार नगद चाहिएको छ।
एक्लै बस्ने रविमा आफ्नो छिमेकी श्वेतालाई लुकीलुकी हेर्ने बानी हुन्छ।
तर एक दिन उनले श्वेताको कोठा अगाडि विजय प्रकाश नामको व्यक्तिलाई डराइरहेको अवस्थामा देख्छन् र श्वेतालाई मृत अवस्थामा।
सुरूमा रविले विजय प्रकाशलाई हत्यारा ठान्छन्। तर विजयले आफू हत्यारा नभएको र आफू त्यहाँ भएको कसैलाई नभन्न रविलाई आग्रह गर्छन्।
यसका लागि उसले रविलाई चाहिएजति पैसा दिने बताउँछन्।
रविले आँखा उपचार गर्न चाहिने रकम तीन लाख बीस हजार माग्छन्।
यहाँनेर समस्या समाधान हुनुपर्ने हो तर हुँदैन। प्रहरी हत्याको छानबिन गर्ने क्रममा विजयसँग निरन्तर सोधपुछ गर्छ। अर्कोतिर रवि आफै पनि श्वेताको नजिक रहेका केही व्यक्त्तिहरूसँग ठोक्किन पुग्छन्। रविसँग पनि केही व्यक्ति ठोक्किन आइपुग्छन्।
श्वेता किन मारिइन्? उनलाई कसले मार्यो?
फिल्मको केन्द्रमा यो प्रश्न भए पनि श्वेताप्रति आकर्षित देखिएको रविसँग उनको कुनै सम्बन्ध थियो थिएन?
रविको आँखाको उपचार होला कि नहोला? हत्यारा पत्ता लगाउन रविले कस्तो भूमिका खेल्लान्?
यस्ता जिज्ञासा मेटाउन फिल्म 'कुत्तरमे थन्डनाइ' हेर्नुहोला।
सरलजस्तो लाग्ने यो फिल्म बिस्तारै जटिल लाग्न थाल्छ। फिल्मको सबभन्दा रोचक पक्ष यही हो।
यो फिल्म रूसी लेखक फ्योडोर दोस्तोभ्स्कीको उपन्या 'क्राइम एन्ड पनिशमेन्ट' (अपराध र सजाय) मा आधारित छ। फिल्मको नाम कुत्तरमे थन्डनाइको अर्थ पनि यही हो।
हेर्नुस् युट्युबमाः