पछिल्लो समय प्रायः राजनीतिक, सामाजिक र कमेडी फिल्म बनिरहेका छन्। यसै क्रममा एक्सन फिल्म 'पिताम्बर' को पोस्टर र टिजर सार्वजनिक भयो।
पोस्टर र टिजर सार्वजनिक भएसँगै पिताम्बरको तुलना दक्षिण भारतीय फिल्मसँग हुन थाल्यो। कतिपय दर्शकले यस्तो एक्सन फिल्म नेपालमा पहिलो पटक बनेको प्रतिक्रिया दिएका छन्।
यस फिल्मको कमान्ड सम्हालेकी छन् निर्देशक कृषा चौलागाईंले।
त्यसैले अहिले कृषाको मोबाइलमा समेत तारिफको ओइरो लागेको छ। म्यासेजमा प्रशंसकहरूले फिल्मप्रति उत्सुकता पनि देखाइरहेका छन्। यो फिल्म चैत २९ गतेदेखि हलमा प्रदर्शन हुँदैछ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्देशक कृषालाई डर छ — दर्शकले फिल्मप्रति जति आश राखेका छन्, त्यो पूरा नहोला कि!
'दर्शकले यति धेरै माया दिइरहनुभएको छ, मैले यस्तो साथ सहयोग पाउँछु भनेर सोचेकै थिइनँ। यसले मलाई जिम्मेवार बोध भइरहेको छ,' उनले भनिन्।
कृषाको रूचि विभिन्न विधाका फिल्ममा छ। एक्सन फिल्मप्रति भने झुकाव अलि बढी नै छ।
'मलाई लार्जर द्यान फिल्म बनाउन मज्जा लाग्छ। हामी फिल्म बनाउँदा दुःखका कुरामा बढी केन्द्रित हुन्छौं। तर फिल्म हेर्न जादा नसोचेको कुरा भयो भने रमाइलो हुन्छ,' उनले भनिन्, 'एक्सन फिल्म मलाई एकदमै मनपर्छ। आफूलाई मनपरेको कुरा त दर्शकलाई दिन सकिन्छ नि!'
पिताम्बर कृषाको निर्देशनमा बनेको दोस्रो फिल्म हो। यसअघि उनले फिल्म 'एैंचो पैंचो' निर्देशन गरेकी थिइन्। तर उनले एैंचो पैंचो भन्दा अगाडि नै पिताम्बर बनाउने सोचेकी थिइन्।
पहिल्यैदेखि नै उनलाई एक्सन फिल्मको हुटहुटी थियो। कथालाई कसरी प्रस्तुत गर्दा 'लार्ज' बन्छ भनेर उनले थुप्रै स्क्रिप्ट लेखकहरूसँग कुराकानी गरिन्। फिल्म भव्य बनाउन पनि सक्दो प्रयास गरेकी छन्। यो फिल्ममा भारतीय प्राविधिकका साथै तीन वटा क्यामरा प्रयोग गरिएको छ।
कलाकार छनोट पनि बलियो छ — प्रेमकथा फिल्ममा जमिरहेका अभिनेता प्रदीप खड्का, रंगमञ्चबाट आएका अभिनेता दयाहाङ राई र सौगात मल्ल।

आफ्नो बलियो प्रस्तुति दिने यी तीन अभिनेतालाई एकै फिल्ममा ल्याउँदा कस्तो हुन्छ भन्ने निर्देशक कृषालाई उत्सुकता थियो। उनलाई कलाकारले पनि सहजै साथ दिए।
फिल्मबारे कृषा भन्छिन्, 'यसमा मानव संवेदनालाई फरक तरिकाले देखाउने प्रयास गरेकी छु।'
यस फिल्मको एक घण्टाको प्रिक्वेल पनि तयार भइसकेको छ। दर्शकको चाहना बुझेर प्रिक्वेल ल्याउने उनी बताउँछिन्।
काठमाडौंमा जन्मे–हुर्केकी कृषाले १५ वर्षको उमेरमै फिल्म निर्माणमा हात हालेकी थिइन्। उनकी आमा फिल्म हेर्न रूचि थियो। कृषा पनि आमासँगै सानै उमेरदेखि फिल्म हेर्न जान्थिन्।
आमाले आफ्ना छोरालाई हिरो बनाउने सपना देखेकी थिइन्। उनले छोरालाई अभिनय प्रशिक्षण लिन पनि पठाइन्। कृषा भाइसँगै साथी जान्थिन्। तर भाइले के सिक्दै छ भन्नेमा उनको चासो हुँदैन थियो। उनी बाहिरै बसेर पर्खिन्थिन्।
कृषालाई भने साहसिक कुरामा रूचि थियो।
एसएलसी परीक्षा दिएपछि उनका साथीभाइ कोही कम्प्युटर सिक्न थाले, कसैले आरजे (रेडियो जक्की) को तालिम लिए। उनको ध्यान भने केटीहरूले जिम गरिरहेको दृश्यले खिच्यो। उनी जिम गर्न थालिन्।
जिमखानामा उनको भेट फिल्म निर्माताहरूसँग भयो। सुशील पोखरेल, योगेन्द्र श्रेष्ठ, मुकेश ढकाल लगायत थुप्रै निर्माता उनका साथी भए।
उनीहरू फिल्मको कुरा गरिरहन्थे। कृषा फिल्म निर्माण प्रक्रियाबारे जानकार थिइनन्। बिस्तारै फिल्मप्रति रूचि र जिज्ञासा बढ्दै गयो।
आफ्नो जिज्ञासा मेटाउन उनी 'घायल' फिल्मको छायांकन सेटमा पुगिन्। त्यहाँ उनले को हिरो–हिरोइन छ भन्दा पनि केमा खर्च हुँदो रहेछ, कसलाई कति पैसा दिने, एक दिनको खर्च कति हुँदो रहेछ भनेर नियालिन्।
घर आएर उनले एउटा फिल्म बनाउन कति खर्च लाग्ने रहेछ भनेर हिसाब गरिन्। त्यसपछि आमासँग घुर्की लगाउँदै पैसा मागिन्।
पैसा दिँदै आमाले भनिन्, 'हामीले तँलाई दिने पैसा यत्ति हो। यसले गरेर खाइस् भने भइहाल्यो। यो भन्दा बढी आशा नगर्नू।'
१५ वर्षकी त थिइन् कृषा। तैपनि आँट गरेर उनी फिल्म निर्माणमा होमिइन्।
उनले त्यति बेला चलेका अभिनेता राजेश हमाल र निखिल उप्रेतीलाई लिएर 'इन्साफ' फिल्म बनाइन्। चलेका अभिनेता लिएपछि उनले आफ्नो पैसा लगानी गर्नैपरेन। वितरकहरूले नै पैसा हालिदिए।
राजेश हमाललाई फिल्ममा लिँदाको अनुभव सुनाउँदै कृषाले भनिन्, 'उहाँलाई भेटेँ। उहाँले तपाईं पनि फिल्म बनाउने मात्रै भन्नुभयो। उहाँ एकदम कम बोल्नु हुँदो रहेछ।'
एक्सन फिल्ममा रूचि राख्ने कृषाको सिनेमा निर्माण यात्रा पनि एक्सन फिल्मबाटै सुरू भयो। फिल्म सफल पनि भयो। पहिलो कदममै सफलता हासिल गरेपछि कृषालाई फिल्म दुनियाँले झपक्कै तान्यो।

त्यसपछि उनले 'कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु, पलास' जस्ता फिल्म निर्माण गरिन्।
फिल्म निर्माण गर्दै जाँदा उनलाई आफै फिल्म खेल भनेर धेरैले सुझाव दिए। तर उनको झुकाव निर्देशनतिर मोडियो।
'आफूले चाहेको जसरी कथा भन्न पाइने, आफ्नो संसार बनाउन पाउने, आफ्नो तरिकाका पात्रहरू जन्माएर ती पात्रबाट आफ्नो कथा भन्न पाउने भएर फिल्म निर्देशनमा लागेँ,' उनले भनिन्।
निर्माताबाट निर्देशक हुँदासम्म कृषाले धेरै चुनौतीहरू खेपेकी छन्।
'मलाई सानी देखेर सेटमा निर्देशक भनेर पत्याउँदैनन्। धेरै पटक कतिले यो फिल्मको निर्देशक को हो भनेर सोधेका छन्,' उनले भनिन्।
आफू महिला भएकाले पनि कहिलेकाहीँ अरूले नपत्याएको जस्तो उनलाई लाग्छ। किनभने, अझै पनि धेरैलाई महिला निर्देशक हुन्छन् भन्ने नै लाग्दैन!
कृषाले हरेक नयाँ कामसँगै यस्ता विविध विभेद र समस्या भोगिरहेकी हुन्छिन्। खासगरी खुला ठाउँ वा बाहिरी सेटमा सुटिङ गर्दा समस्याहरू झेल्नुपरेको छ।
उनले पिताम्बर सुटिङ क्रममा भएको अनुभव सुनाइन्।
सुटिङ हेर्न आएका दर्शकलाई उनले फोटो र भिडिओ नखिच्न अनुरोध गरेकी थिइन्। तर दर्शकले मानेनन् र खटपट भयो। कृषाले भनेको नमानेपछि उनका पुरूष मेकअप आर्टिस्टले गएर भिडिओ बन्द गर्न अनुरोध गरे।
ती व्यक्तिले भिडिओ बन्द गरे र भने, 'म पनि भविष्यमा फिल्म बनाउने हो। यो फिल्मको निर्देशकलाई बोलाऊ!'
उनले कृषालाई निर्देशक हुन् भनेर सोच्दै सकेनन्।
त्यस्तै 'एैंचो पैंचो' को सेटमा पनि उनले 'एक्सन' भनेको सुन्दा दर्शकहरूले जिस्क्याएका थिए।
'त्यति बेला त फिल्म क्षेत्रमा महिलालाई हेर्ने नजर नै संकुचित थियो, चाहे त्यो हिरोइन होस् या क्यामरा पछाडि काम गर्नेहरू। अझ फिल्ममा काम गर्ने महिलाहरू खासै पढेलेखेका, राम्रो परिवारका हुँदैनन् होला भन्ने मानसिकता थियो,' उनले भनिन्।
अचेल भने बिस्तारै फिल्म क्षेत्रमा महिलालाई हेर्ने नजर फराकिलो भएको अनुभव कृषाले गरेकी छन्।
