बलिउड फिल्मकी चर्चित पटकथा लेखक भवानी अय्यर यति बेला काठमाडौंमा छिन्। 'ब्ल्याक', 'लुटेरा', 'राजी', 'साम बहादुर' लगायत फिल्मकी पटकथा लेखक भवानी शिक्षा फाउन्डेसन नेपाल र कथासथाले आयोजना गरेको स्क्रिप्ट लेखन कार्यशालाको प्रशिक्षकका रूपमा नेपाल आएकी हुन्।
'गो टेल इट अन द माउन्टेन' शीर्षकको यो कार्यशालामा १६ जना लेखकलाई फिल्म लेखन सिकाएकी भवानी आफै भने कुनै कार्यशाला नलिई यो क्षेत्रमा आएकी थिइन्।
भवानी सानैदेखि कथाकार बन्न चाहन्थिन्। लजालु र अन्तर्मुखी स्वभावकी उनमा बेजोड कल्पनाशक्ति थियो।
'६–७ वर्षकी हुँदादेखि नै मलाई कथावाचक बन्न मन छ भन्ने थाहा थियो। कहिले म काल्पनिक साथीहरूसँग कुरा गरिरहेकी हुन्थेँ त कहिले अलौकिक संसारबाट पुतलीहरू आएको कल्पना गर्थेँ। हुँदो नहुँदो, लौकिक/अलौकिक सबै कुरा कल्पिन्थेँ। जसरी पनि कथा नै भनिरहेकी/सोचिरहेकी हुन्थेँ। कथाको हिस्सा बनिरहेकी हुन्थेँ,' भवानीले भनिन्।
किताबहरू पढ्न पनि उत्तिकै रूचि राख्ने भवानीलाई लेखन क्षेत्रमा उनका बुबाले मार्गदर्शन दिएका थिए। कहिले बुबा उनलाई कथाहरू लेख्न भन्थे, त कहिले चिठी।
उनका बुबा कामको सिलसिलामा विभिन्न ठाउँ यात्रा गरिरहन्थे। भवानी बुबालाई एकदम धेरै सम्झिन्थिन्। बुबाले भने उनलाई चिठी र कथाहरू लेख्न भन्थे। कहिले एउटा पात्रको कथा लेख्न भन्थे, कहिले दुई वा चार पात्रको। कुनै घटनालाई एउटा पात्रले कसरी हेरिरहेको छ वा कुनै पनि घटना कसरी व्याख्या गर्ने भन्ने उनलाई बुबाले सिकाइरहे।
'यो एकदम अर्गानिक किसिमको सिकाइ थियो जुन मैले सानै उमेरबाट अभ्यास गर्न पाएँ,' उनले भनिन्।
भवानीको मामाघरका हजुरबुबा तमिल कवि थिए। उनले पनि लेखनमा प्रेरित गरिरहे। घरको माहोल नै लेखनप्रति सौहार्दपूर्ण भएपछि भवानीको लेखन यात्रा सहज बन्यो। तैपनि उनी आनुवंशिक इन्जिनियर बन्छु भनेर विज्ञान पढ्न थालिन्। उनलाई 'कूल' लाग्ने यो विषयमा 'टप' समेत गर्थिन्। नियतिले उनलाई पुनः लेखनमै फर्कायो।
सन् २००० तिरको कुरा हो। भवानीले पढ्दापढ्दै विज्ञापन एजेन्सीमा पार्ट–टाइम काम थालिन्। त्यहाँ उनले कपी–एडिटिङ सिकिन्।
पछि उनले बलिउडका खबरहरू छापिने चर्चित पत्रिका 'स्टारडस्ट' मा कपी–एडिटरका रूपमा काम थालिन्। बिस्तारै लेखनलाई पनि निरन्तरता दिइन्। स्टारडस्टमा काम गर्न थालेको वर्ष दिन नहुँदै भवानीको बलिउड कलाकारसँग निकटता बढ्न थालिसकेको थियो।
एक दिन उनले अहिलेका चर्चित फिल्म निर्देशक अनुराग कश्यपको अन्तर्वार्ता लिइन्। त्यसयता कश्यप उनका साथी भए। उनीहरूको भेटघाट बाक्लिन थाल्यो। भवानीका कथाहरू कश्यपले खोजीखोजी पढ्न थाले।
उनका कथाले कश्यपलाई यति प्रभावित बनाए, उनले भवानीलाई भनिरहन थाले, 'तिमीले त फिल्म लेख्न थाल्नुपर्छ।'
भवानीले त्यति बेलासम्म फिल्म लेख्नेबारे सोचेकी थिइनन्। फिल्म कसरी लेख्नुपर्छ भन्ने पनि थाहा थिएन।
उनलाई थाहा भएको यत्ति थियो — मलाई लेख्न आउँछ र म यसैका लागि बनेकी हुँ!
भवानीको यो विश्वासमा कश्यपले इँटा थपिदिए।
कश्यपले उनलाई अर्का जल्दाबल्दा फिल्म निर्देशक विक्रमादित्य मोटवानीसँग चिनजान पनि गराइदिए। मोटवानीले फेरि अर्का चर्चित फिल्म निर्देशक सञ्जय लिला भन्सालीसँग चिनजान गराइदिए।
त्यति बेला भन्साली फिल्म 'देवदास' ले दिएको सफलतामा मगनमस्त थिए। अर्को फिल्मको लेखक खोजीमा पनि थिए। उनलाई दुइटा कथामा काम गर्न मन थियो — अमेरिकी लेखक हेलन केलरको जीवनमा आधारिक फिल्म र 'बालिका बधु' को रिमेक फिल्म।
'एक दिन भन्साली सरले मलाई ३० मिनेट कुरा गर्ने समय दिनुभएको थियो, हामी भने चार घण्टासम्म गफियौं,' भवानीले भनिन्, 'केही महिनापछि मैले फिल्म ब्ल्याकको स्क्रिप्टमा काम गर्न थालिसकेकी थिएँ। त्यसपछि मैले लेखनबाहेक कतै हेर्नुपरेन।'
त्यसयता उनले 'लुटेरा', 'राजी', 'साम बहादुर', 'गुजारिस, 'काफिर' लगायत फिल्ममा काम गरिन्। अहिले पनि यो कामलाई निरन्तरता दिइरहेकी छन्।
भवानीले पहिलो फिल्म 'ब्ल्याक' दुई महिनामै लेखेकी थिइन्। त्यसमा उनले सुन्न, देख्न र बोल्न नसक्ने एक महिला पात्रलाई कसरी एक शिक्षकले आफ्ना कुरा अभिव्यक्त गर्न सिकाए भन्ने देखाइएको छ। उमेर र अनुभवले अपरिपक्व भए पनि त्यो बेला २२ वर्षीया भवानीमाथि सञ्जय लिला भन्सालीले यसरी विश्वास गरे, उनको आत्मबल र आत्मविश्वास दुगुना भयो।
'देवदासजस्तो चर्चित फिल्म बनाइसकेका निर्देशकले मजस्तो अनुभव नै नभएको मान्छेलाई विश्वास गर्नु भनेको चानचुने थिएन,' भवानीले भनिन्, 'मैले उहाँसँग धेरै सिक्न पाएँ।'
फिल्म लेखनको यो अनुभवले उनलाई सिकाएको अर्को पाठ थियो — आफूले लेखिसकेको कुरा कुन रूपमा बन्छ, त्यसको पीर नलिने। त्यो बन्ने प्रक्रियामा रमाउने।
उनले आफ्नो पहिलो स्क्रिप्ट बुझाइसकेपछि निर्माण टिमका मान्छेले त्यसलाई काटे, कोरे र पुनर्लेखन गरे। त्यो कुरा उनलाई मनपरेन। आफ्नो स्क्रिप्ट सच्याउनुपर्ने वा बनाउनुपर्ने भए आफैले गर्ने हो भन्ने उनलाई लागेको थियो। आफ्नो कामको बेइज्जत भएजस्तो लागेर दुःखी भइन्। बिस्तारै यो सबै फिल्म निर्माणको एउटा प्रक्रिया हो, लेख्ने काम एक जनाले गरे पनि यो सहकार्य हो भन्ने बुझ्दै गइन्।
पहिलो फिल्म लेखेको केही समयमै छायांकनमा गएको थियो। तर उनले लेखेका कतिपय फिल्म बन्न वर्षौं लागेको छ। जस्तो, 'लुटेरा' बन्न ९ वर्ष र 'काफिर' बन्न १३ वर्ष लागेको थियो।
'कुनै पनि कुराको आफ्नो निश्चित समय हुन्छ। यो एक प्रक्रिया हो,' उनले भनिन्, 'फिल्मको कथाले लिनुपर्ने समय लिन्छ र त्यसलाई स्वीकार गर्ने मान्छे पनि खोज्छ। जस्तो, फिल्म लुटेराकै स्क्रिप्टलाई धेरै फिल्म निर्माताहरुले मन पराएका थिएनन् र त्यसले फिल्मको स्वरूप पाउनै नौ वर्ष लागेको थियो। कहिले कथाहरू यत्तिकै थन्किन्छन्। त्यो पनि एउटा प्रक्रिया नै हो। हामी दुःखी भएर लेख्न छाड्ने र आफ्नो लेखाइमा राम्रो फिल्म बन्यो भनेर मात्तिने गर्न हुँदैन। लेखकको धर्म लेख्ने हो, त्यसलाई निरन्तरता दिइरहनुपर्छ।'
भवानीलाई लाग्छ — कथा अनि पात्रहरू त हावामै उडिरहेका हुन्छन्। त्यसलाई क्षमतावान लेखकले पर्गेल्न र पक्डिन सक्छ। तपाईंले देख्ने हरेक पात्रसँग कथा हुन्छ। सबभन्दा राम्रो पात्र तपाईं स्वयं र तपाईंका अनुभव हुन्।
जस्तो, फिल्म लुटेराकी महिला पात्र पाखीलाई भवानीले आफ्नै प्रतिबिम्बमा उभ्याएकी थिइन्। पाखी लेखक हुन् र उनलाई दमको रोग छ। भवानी पनि लेखक हुन् र उनलाई सानो छँदादेखि दम छ।
'म पाखीमा आफूलाई भेट्छु। उनी कलाले भरिएकी छन्। उनको छुट्टै विचारधारा र संसारलाई हेर्ने तौरतरिका छ। उनी घर अगाडिको रूखलाई हरेक दिन हेरेर यसका सबै पात सकिएपछि मेरो जीवन पनि समाप्त हुन्छ भन्ने सोच्छिन्। त्यस्तो कल्पनाशील विचारधारा अनि स्वभाव बोकेकी पाखीमा म मेरो आफ्नै गुण भेट्छु,' भवानीले भनिन्, 'मलाई लाग्छ, तपाईंका हरेक पात्रमा तपाईंको केही न केही अंश हुन्छ। तिनले बोल्ने, अभिव्यक्त गर्ने, अनुभव गर्ने कुराहरू तपाईंकै हुन्। ती तपाईंभित्रै हुन्छन्। तपाईंकै अर्को स्वरूपमा बाहिर आउँछन्।'
भवानी पात्रहरू आफूले छान्ने भन्दा पनि तिनले आफूलाई छान्ने बताउँछिन्।
जब उनलाई कुन कथामा काम गर्ने भन्ने थाहा हुन्छ, उनी लेख्न बस्छिन्।
'तब पात्रहरू आफै मसँग कुरा गर्न थाल्छन्, आफ्ना कथा भन्न थाल्छन्,' उनले भनिन्, 'तपाईंसँग कथा छ भने कुरेर बस्नै पर्दैन। दिमागमा घुमिरहने विचारमध्ये कुनमा तपाईं काम गर्न चाहनुहुन्छ वा त्यसलाई कस्तो स्वरूपमा ढाल्नुहुन्छ भन्ने चाहिँ तपाईंलाई थाहा हुनुपर्छ।'
भवानीले लेखेका धेरै फिल्मका कथा वास्तविक पात्र र किताबमा आधारित छन्।
'ब्ल्याक' हेलन केलरको जीवनमा भइहाल्यो। 'राजी' हरिन्दर सिक्काको उपन्यास 'कलिङ शेहमत' मा आधारित छ। यो किताबकी पात्र एक भारतीय महिला जासुस हुन्। सन् १९७१ को भारत–पाकिस्तान युद्धअघि भारतलाई सूचना र जानकारी उपलब्ध गराउन उनले बुवाको अनुरोधमा पाकिस्तानी सैन्य अधिकारीसँग बिहे गरेकी हुन्छिन्। त्यस्तै, साम मानेकसाको जीवनमा आधारित छ 'साम बहादुर' सन् १९७१ को भारत–पाकिस्तान यद्धमा केन्द्रित छ।
भवानी आख्यान लेख्दा फुक्काफाल हुन्छिन्। गैरआख्यानमा सचेत र शसंकित बनाउने खुराकहरू बढी हुन्छन्।
उनका अनुसार बायोपिकमा काम गर्दा कल्पनाशीलताको दायरा धेरै फराकिलो बनाउन सकिँदैन। त्यसभित्रका तथ्य र पात्रको मनोदशामा सचेत हुनुपर्छ। पहिल्यै थाहा भइसकेको कथालाई फिल्ममार्फत बताउन, त्यसभित्रका स–साना विवरण केलाउन, अध्ययन—अनुसन्धानको उत्तिकै खाँचो पर्छ।
फिल्म साम बहादुर बनाउँदा उनीहरूले गरेको अध्ययन नै सात हजार पृष्ठभन्दा धेरै भएको थियो। उनीहरूले सेनाका विभिन्न अभिलेख खोजेर अध्ययन गरे। साम बहादुरको परिवार र उनका चिनजानका मानिससँग कुराकानी गरेर पनि जानकारी बटुले।
इतिहाससँग जोडिएका फिल्ममा काम गर्दा त्यो समयको भूगोल, वातावरणबारे पनि ध्यान पुर्याउनुपर्छ। त्यस्तै राजनैतिक र धार्मिक विषयसँग जोडिने भएकाले निकै सजग हुनुपर्ने उनी बताउँछिन्।
यति धेरै ध्यान पुर्याए पनि कहिलेकाहीँ मानिसले त्यसलाई फरक तरिकाले बुझिदिन्छन्। फिल्मको आलोचना हुन्छ। कला भनेको खुला आलोचना र समीक्षाकै लागि बनेको भवानी स्वीकार गर्छिन्।
'कुनै पनि कलामा मान्छेले आफ्नो धारणा राख्नु राम्रो हो। त्यसले कलालाई झन् सुन्दर बनाउँछ। हामी लेखकले आलोचना वा प्रशंसा दुवै स्वीकार गर्नुपर्छ। आफ्नो काम र कलासँग इमानदार हुनुपर्छ,' उनले भनिन्।
भवानीको व्यावसायिक लेखन यात्रा पत्रिकाबाट सुरू भएको थियो। पछि उनले फिल्म र टिभी सिरिजहरू लेखिन्। 'अनन' नामको उपन्यास पनि लेखेकी छन्। लेखनमा जुनै आयाम भए पनि त्यसमा आफू रमाएको उनी बताउँछिन्।
पत्रिकामा काम गर्दा उनले जे लेखे पनि मान्छेहरूले भनेका कुरामै आधारित हुन्थ्यो। फिल्ममा भने उनले आफ्नो दिमागमा घुमिरहेको विषयवस्तुमा काम गर्न पाइन्। तैपनि निर्माता, निर्देशक, कलाकार लगायत विविध मान्छेसँग सहकार्य गर्नुपर्ने भएकाले लेखन अलि लचिलो हुनुपर्छ। उपन्यास भने एकदमै मुक्त र फुक्काफाल भएर लेख्न सकिने उनी बताउँछिन्।
'उपन्यास चाहिँ तपाईंले आफ्नै लागि लेख्नुभएको हो। त्यसमा बाँधिनुपर्दैन। साहित्यिक लेखनको अर्को राम्रो पक्ष भनेको यसको कुनै स्वरूप पनि हुँदैन। तपाईंले चाहेको स्वरूपमा आफ्नो लेखन ढाल्न सक्नुहुन्छ,' भवानीले भनिन्, 'तर मलाई स्क्रिप्ट लेख्नै रमाइलो लाग्छ।'

कुनै फिल्मबारे चर्चा हुँदा कि कलाकारको कुरा हुन्छ कि निर्देशक वा निर्माताको। लेखक प्रायः छायामै पर्छन्। भवानीले पनि यो कुरा महसुस गरेकी छन्। तर लेखकहरू प्रायः अन्तर्मुखी र पर्दा पछाडि नै रहन खोज्ने स्वभावका हुन्छन् जस्तो उनलाई लाग्छ।
'लेखकहरूलाई धेरै मान्छेले चिन्दैनन् भन्ने कुराले खासै फरक पार्दैन। आफूले काम गरेको फिल्म कसैले मनपराइदियो भने त्यो नै लेखकका लागि सन्तुष्टि हो। मलाई नचिने पनि फरक पर्दैन किनभने कलाकारको सम्बन्ध आफ्नो कलासँग मात्र हुनुपर्छ। मलाई म राम्रो लेखक हुँ भन्ने विश्वास छ। यो जताउन दोस्रो व्यक्तिको आवश्यकता पर्दैन,' उनी भन्छिन्, 'मान्छेले आफ्नो काम आफै मन पराउन सके मात्र अर्कोले पनि त्यसलाई मन पराउन सक्छ।'
भवानीको लेखनमा महिला पात्रहरू हुन्छन्। सशक्त रूपमा प्रस्तुत ती पात्रले आफ्नो बलियो धारणा पनि राख्छन्। उनी आफ्ना पात्रलाई कमजोर देखाउन चाहन्नन्। उनको अनुभवमा पुरूष लेखकले महिला पात्रलाई न्यायपूर्ण तरिकाले देखाउन सकेका छैनन्। त्यसैले महिलाको कथा महिलाले नै लेख्नुपर्छ भन्ने उनलाई लाग्छ।
'पात्र छनौटमा लैंगिक समानता हुनुपर्छ। तर कलामा कथा अनुसार महिला वा पुरूष पात्रलाई प्रस्तुत गर्नुपर्छ,' उनको भनाइ छ।
भवानीलाई आफूले लेखेका सबै पात्र प्रिय छन्, तिनमा उनी आफ्नै अंश भेट्छिन्। तर उनीहरूको मनोदशा वास्तविक होइन भन्ने चेतना उनमा छ। त्यसैले पात्रको मनोदशाले उनको मनस्थितिलाई आघात पुर्याउँदैन।
'जस्तो कुनै पात्र दुःखी छ भने म पनि दुःखी भइरहने हुन्न। त्यस्तो भइयो भने सन्तुलित कथा लेख्नै सकिँदैन भन्ने लाग्छ। पहिलो वा दोस्रो फिल्म लेख्दा सुरूसुरूमा यस्तो हुन सक्ला। किनभने पात्र अनुभव गरेर उसको भावना लेख्ने हो। तर काम गर्दै गएपछि बिस्तारै आफ्नो पात्रको मनोदशाबाट प्रभावित नहुन सिकिन्छ,' उनले भनिन्।
भवानीले प्रायः हिन्दीभाषी फिल्म लेखेकी छन्। तर उनको मातृभाषा हिन्दी होइन, तमिल हो। हिन्दी उनी बुझ्छिन् तर लेख्न र बोल्न सहज लाग्दैन। त्यसैले उनी अंग्रेजीमा स्क्रिप्ट लेख्छिन्।
कुनै लेखन अर्को भाषामा अनुवाद हुँदा त्यसको मर्म मर्ला वा वास्तविक आशय नआउला कि भन्ने चिन्ता धेरै लेखकलाई हुन्छ। भवानी भने यसको पिर लिन्नन्। अनुवादकको नजिक रहेर काम गर्ने भएकाले आफूले भन्न खोजेको कुरा कसरी आउँदैछ भन्ने उनलाई जानकारी पनि हुन्छ।
लेखनको लामो अनुभव र अभ्यासले सबै सहज बनाउँदै जाने उनको भनाइ छ।
'मलाई सजिलो लाग्ने काम नै लेखन हो। राम्रो लेखक बन्न हरेक दिन लेख्नुपर्छ। लेख्नुको विकल्प छैन,' उनी भन्छिन्, 'म दिनमा दुई–तीन घण्टा लेख्छु। कहिले त १५ घण्टासम्म लेखिरहेकी हुन्छु।'
राम्रो लेख्न उनलाई आफ्नो वरिपरि सामानहरू मिलेको हुनुपर्छ। त्यस्तै घुम्न, फिल्म हेर्न र किताब पढ्न उत्तिकै जरूरी ठान्छिन्। तिनले बुझाइ र सोचाइ फराकिलो बनाउने उनी बताउँछिन्।
मान्छेसँगको अन्तर्क्रियाले पनि लेखनलाई बलियो बनाउँछ। अन्तर्मुखी भवानीलाई भने मान्छे भेट्न खासै मन लाग्दैन। अर्कातिर कामको प्रकृतिले उनलाई यस्तो छुट दिँदैन। त्यस्तो बेला उनी आफ्नो स्वभाव भन्दा फरक भएर उपस्थित हुन्छिन्।
'यस्तो कार्यशाला गर्नु भनेको पनि मेरो सहजताबाट बाहिर आउनु हो,' उनले हाँस्दै भनिन्।
'गो टेल इट अन द माउन्टेन' कार्यशालामा विभिन्न कथाहरू आएका थिए। कुनै लोककथामा आधारित, त कुनै नेपालबारे। कुनै सामाजिक कथा त कुनै राजनैतिक। कुनै कथाले विगत, कुनैले वर्तमान त कुनै भविष्यमा केन्द्रित थिए।
'मैले नेपाली फिल्म अहिलेसम्म हेरेको छैन। कार्यशालामा आएका कथाहरू फिल्म बनेको हेर्न मन छ,' उनले भनिन्।
भवानीले लेखेका 'कमला और मिना', 'लोरी', 'जुनून', 'अकबर वीरबल', 'महारानी गायत्रीदेवी' लगायत फिल्म आउने तयारीमा छन्। त्यसबाहेक उनले ६७ वटा स्क्रिप्ट लेखेकी छन्, जुन फिल्म निर्माताको छनोटमा परिसकेका छैनन्। उनलाई थाहा छ, फिल्मका कथाहरूले लिनुपर्ने समय लिन्छन् र त्यसलाई स्वीकार गर्ने मान्छे खोज्छन्।
