पछिल्लो समय फिल्मबाट अभिनेता महेश त्रिपाठीले खुबै चर्चा पाइरहेका छन्।
फागुनमा रिलिज भएका फिल्महरू 'लाज शरणम्' र 'फेरि रेशम फिलिलि' मा उनको अभिनयको प्रशंसा भयो। 'लाज शरणम्' मा उनले सन्देश पात्रको भूमिका निर्वाह गरेका छन् भने 'फेरि रेशम फिलिलि' मा समलिंगी पात्र पुष्पाको। दुवै भूमिकामा उनी बलियो रूपमा प्रस्तुत भएका छन्।
दर्शकले महेशको खुलेर प्रशंसा गरेपछि दुवै फिल्मका निर्देशकले समेत खुसी व्यक्त गरेका छन्।
लाज शरणम् निर्देशक कुमार कट्टेलले भने, 'हाम्रो फिल्मको हिरो नै उहाँ हो। उहाँले फिल्मको कथा बोक्न सक्नुहुन्छ भन्ने विश्वास थियो। उहाँले जति मेहनत गर्नुभयो, त्यसको प्रतिक्रिया राम्रो आउँदा एकदमै खुसी छु।'
त्यस्तै फेरि रेशम फिलिलि निर्देशक निरोज महर्जन भन्छन्, 'महेश तारिफ योग्य कलाकार हुनुहुन्छ। उहाँले यस्तो चर्चा पहिल्यैदेखि नै पाउनुपर्ने हो। उहाँको मेहनत हेर्दा अझै कम हो कि जस्तो लाग्छ। उहाँले पाउनुभएको प्रतिक्रियाले एकदमै खुसी छु।'
महेशले आफू पनि दर्शकको मायाले एकदमै खुसी भएको र थप ऊर्जा मिलेको बताउँछन्।
यसअघि उनले 'हल्कारा', 'पशुपति प्रसाद २', 'चपली हाइट ३' लगायत फिल्ममा अभिनय गरिसकेका छन्। विक्रम सापकोटाको निर्देशनमा बनेको हल्काराबाट उनी अमेरिकाको 'ह्युस्टन फिल्म फेस्टिभल' मा उत्कृष्ट अभिनेता ठहरिएका थिए।
'कलाकार भएपछि धेरै दर्शकले चिनून् भन्ने हुँदो रहेछ। यसअघि पनि मैले फिल्मबाट राम्रै तारिफ पाएको थिएँ। तर आम दर्शकमाझ पुग्न सकिएको थिएन,' महेशले भने, 'अहिले दुवै फिल्मको भूमिकाका लागि माया पाइरहेको छु। अब अझै राम्रो गर्नुपर्छ भन्ने लागेको छ।'
पात्र अनुसार आफूलाई ढाल्न सक्ने खुबी भएका महेशले अहिले रिलिज दुवै फिल्मका लागि सामान्य भन्दा बढी मेहनत गर्नुपरेको थियो।


लाज शरणम्को सन्देश बन्न उनले २० किलो तौल घटाउनुपर्यो। उनको शरीर जुन अवस्थामा थियो, त्यति धेरै वजन कम गर्दा स्वास्थ्यमा जोखिम हुन सक्थ्यो।
तर महेश जोसिए। निर्माण टिमले महेशमाथि विश्वास गर्यो।
'म जे छु, त्योभन्दा निकै भिन्न चरित्र थियो। भिन्न परिवेश, भाषा, संस्कृति भएको चरित्रमा काम गर्न मजा आउँछ भन्ने लाग्यो,' उनले सुनाए।
उनले डाक्टरसँग सल्लाह लिँदै आफ्नो तौल घटाउन थाले। उनी २४ घण्टामा एक पटक मात्रै खान्थे — सागको तरकारी, एउटा अन्डा, सानो कचौरामा दही, प्रोटिन, कफी र पानी।
सात महिनासम्म उनको नियमित खानकी यही थियो।
तौल घट्दै जाँदा उनी आफ्नो लक्ष्य नजिक पुग्दै थिए। उनकी आमा भने विचलित हुन थालिसकेकी थिइन्। हरेक दिन अब त खानेकुरा खाऊ न भन्थिन्। आमाको कुराले महेशलाई पनि चिसिक्क हुन्थ्यो। तर आमालाई सम्झाउँदै उनले आफ्नो अडान छाडेनन्।
१२ किलोभन्दा बढी वजन घटेपछि चाहिँ महेशलाई नै गाह्रो हुँदै गयो। उनी कमजोर महसुस गर्न थाले। शरीर गल्दै गएजस्तो भयो।
यति हुँदा पनि उनी डगमगाएनन्।
सुटिङ सुरू हुनुभन्दा केही समय अगाडि महेश डोल्पा गए। फिल्म त्यहीँको परिवेशमा भएकाले त्यहाँको लवज टिपे। संस्कृति बुझे। तीन महिना बस्दा उनले डोल्पालाई आफूमा झल्काइसकेका थिए।
'म बसेको गाउँबाट अर्को गाँउ जाँदा त्यहाँका मानिसले मलाई डोल्पाकै भन्ठाने,' उनले सुनाए, 'त्यो मेरो पहिलो सफलता थियो।'
फिल्म निर्माण टिम डोल्पा आउँदा महेश त्यो टोलीमा थिएनन्। उनी गाउँमै भएकाले गाउँलेसँगै मिसिएर स्वागत गर्न बसे। निर्माण टिमले यसबारे पत्तै पाएको थिएन। केही समयपछि निर्देशक कुमार कट्टेलले शंका लागेर महेशलाई नियाले, अनि चिने।
महेशलाई देखेपछि कट्टेल निकै भावुक भएर भने, 'अब खिचे मात्र पुग्ने भएछ!'

सुटिङ सुरू भयो। उँचो ठाउँ सुटिङ हुँदा महेश लेक लागेर ढले।
'त्यति बेला आमाका कुरा झल्झली सम्झिएँ,' उनले भने, 'मलाई अब म यहाँबाट काठमाडौं फिर्ता जान सक्दिनँ भन्ने लागिसकेको थियो।'
मनमा यस्तो भय आइरहे पनि उनले हारेनन्। आफूलाई समेटे र कामलाई निरन्तरता दिए।
लाज शरणम्को सुटिङ नसकिँदै महेशलाई फेरि रेशम फिलिलि निर्माण टिमले काठमाडौं बोलायो। उनले पहिले फेरि रेशम फिलिलि साइन गरे पनि सुटिङ ढिलो भएपछि लाज शरणम्को काममा गएका थिए।
फेरि रेशम फिलिलिका समलिंगी पात्र पुष्पाको चरित्र झन् संवेदनशील र महत्वपूर्ण थियो। काठमाडौं आउँदासम्म महेशको मनमस्तिष्कबाट सन्देश पात्र निस्किएको थिएन। शारीरिक र मानसिक थकान समेत भएकाले उनलाई पुष्पा पात्रमा ढल्न मुस्किल पर्यो।
'यो एकदमै संवेदनशील चरित्र थियो। यतिकै भूमिका निर्वाह गर्छु भन्दा पनि म त्यो चरित्रलाई न्याय गर्नमा सजग थिएँ। यो चरित्रले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई कत्ति पनि नकारात्मक असर नपुगोस् भन्नेमा मेरो ध्यान केन्द्रित थियो,' उनले भने।
अधिकांश फिल्ममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधि पात्रलाई कमेडीमा, होच्याउने वा मजाकका रूपमा मात्र प्रयोग गरिने भनेर बेलाबखत आलोचना हुँदै आएको छ। यो समुदायले पनि यसबारे असन्तुष्टि जाहेर गरिरहेको छ। तर फेरि रेशम फिलिलिमा यस्तो नभएको महेशको दाबी छ।
'फिल्म कमेडी भए पनि पुष्पालाई मजाक वा हलुका पात्र बनाइएको छैन। त्यस्तो भएको भए भए म यो भूमिका खेल्थिनँ,' उनले भने, 'फिल्म रिलिज भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले तारिफ गरिरहेको छ। यसले मलाई सन्तुष्टि दिएको छ।'
1657464733.jpg)
बिस्तारै सफलता, प्रशंसा र सन्तुष्टिको स्वाद चाख्दै आएका महेश बाल्यकालदेखि नै जिज्ञासु थिए।
उनको जन्म कास्कीको कास्कीकोट गाउँपालिकामा २०४५ सालमा भएको हो। पोखरा सहर नजिकै भए पनि त्यो बेला कास्कीकोट दुर्गम गाउँ थियो।
जब गाउँमा रेडियो र टेलिभिजन आए, महेश प्रविधि र सिनेमाको दुनियाँमा तानिए। सुरूमा त महेशलाई अरू केटाकेटी जस्तै जो देख्यो, त्यही बन्न मन लाग्थ्यो। कहिले शिक्षक बन्न मन भयो त कहिले डाक्टर। स्कुलमा नाटक खेल्दा र सिनेमा हेर्दा कलाकार बन्न मन लाग्थ्यो।
घरका जेठा छोरानाति महेशले स्कुल जानुअघि र आएपछि कुनै न कुनै काममा परिवारलाई सघाउनै पर्थ्यो। कहिले घाँस काट्थे त कहिले खेतबारीको काम गर्थे। यसबाहेक उनी कुनै अनौठो चिज भेट्यो कि, त्यसभित्र के होला भनेर खोलखाल पारिहाल्थे। खोलेर यसै फाल्थेनन्, फेरि जोडजाड पारेर दुरूस्तै बनाउँथे।
जिज्ञासु स्वभावकै कारण उनले एक दिन रेडियो खोले। त्यसको राज पत्ता लगाएर फेरि उस्तै बनाए। यसपछि गाउँघरका रेडियो पनि खोले, जोडे। बिस्तारै टेलिभिजनमा सरे। यसरी खित्रिकमित्रिक काम गर्दै महेशले निकै कुरा सिके।
एक दिन चप्पलको पांग्रा बनाएर त्यसमा मोटर जोडे, पांग्रा घुम्न थाल्यो। यसैबाट उनले एउटा हेलिकप्टर र सानो पानीजहाज बनाए। त्यो बेला उनी पाँच कक्षा मात्र पढ्थे। हेलिकप्टर र पानी जहाज बनाएको कुरा स्कुलभरि फैलियो।
आठ कक्षामा पढ्दै गर्दा उनले मोटर, ब्याट्री र अरू के के सामान जोडेर चल्न सक्ने उपकरण बनाए। हातखुट्टा भएको, टाउको यताउता हल्लाउने त्यो उपकरणले भुइँबाट सामान टिप्न सक्थ्यो। त्यो थियो महेशले बनाएको रोबोट। यसबारे विभिन्न पत्रपत्रिकामा समेत छापियो।
उनलाई शिक्षकहरूले इन्जिनियरिङ पढ्न सुझाए। इन्जिनियरिङ पढे पनि आविस्कारको क्षेत्रमा व्यावसायिक रूपमा जाने वातावरण उनले देखेनन्। अनुसन्धानकर्ता र आविष्कारक बन्ने रहर मर्दै गयो। महेश फिल्मी कलाकार बन्ने पुरानै सपनातिर फर्के।
खोज्दै जाँदा उनले नेपाल टेलिभिजनमा आउने टेलिसिरियलका कलाकारहरूको सहयोगीका रूपमा काम पाए।
'कलाकारलाई सहयोग गर्दै जाँदा उनीहरूले यो त पढेलेखेको मान्छे रहेछ भन्ने थाहा पाए,' उनले भने, 'पढाइले मेरो व्यक्तित्व अगाडि लग्यो।'

२०६५ सालमा उनले टेलिशृंखला 'जीवनचक्र' र 'आफन्त' मा अभिनय गर्ने मौका पाए। दुई वर्षसम्म यिनै सिरियलमा काम गरे। अभिनयबारे थप बुझ्न महेशले फिल्म विषय पढ्ने सोचे। पढ्नुअघि इन्जिनियरिङ पढ्दा छात्रवृत्ति दिएको अमेरिकी संस्थालाई खबर गरे। त्यसले फिल्म पढ्न पनि छात्रवृत्ति दिने भयो। अनि उनी अस्कर कलेज भर्ना भए।
विद्यार्थी छँदै उनले फिल्म 'नोभेम्बर रेन' मा अभिनय गर्न पाए। परीक्षामा पनि राम्रो नतिजा आयो। अनि उनले त्यही कलेजमा पढाउने अवसर पाए।
यसबीच महेशलाई फिल्मका अवसर आए, तर उनले काम गरेनन्। निर्देशक विक्रम सापकोटाले 'हल्कारा' मा मुख्य पात्रका रूपमा प्रस्ताव गरेपछि भने राजी भए।
सन् २०१८ मा, हल्कारा छायांकन गरेको एक वर्षपछि उनले 'चपली हाइट ३' मा प्रहरीको भूमिकामा अभिनय गरे। कोरोनाका कारण 'चपली हाइट–३' ढिलो प्रदर्शन भयो। महेशको अभिनयले सकारात्मक प्रतिक्रिया पायो। हल्कारा मार्फत त उनले अन्तर्राष्ट्रिय अवार्ड नै पाए।
यसरी आफ्नो अभिनय निर्खार्दै अगाडि बढेका महेश हाल फिल्म 'परान' को छायांकनमा व्यस्त छन्।
अहिले सिनेमा हलमा लागिरहेको फिल्म 'आउट लः दफा २१९' मा पनि उनको अभिनय छ। उनी अभिनीत अर्को फिल्म '११ः५५ (डु नट ट्रस्ट एनिवान)' चैत ८ गतेदेखि प्रदर्शनमा आउँदैछ।
लाज शरणम् र फेरि रेशम फिलिलिपछि उनलाई थुप्रै फिल्मका स्क्रिप्ट आएका छन्। तर राम्रोसँग विचार गरेर मात्र निधो गर्ने उनको योजना छ।
'दर्शकलाई निराश बनाएर काम गर्नु हुँदैन भन्ने लागेको छ। म हरेक चरित्रलाई न्याय गर्ने कोसिस गरिरहन्छु,' महेशले भने।
