गुड फ्राइडे सिनेमा
कुनै अपराध कतिसम्म सफायाका साथ हुन सक्छ? कसैले अपराधका निम्ति कति योजना बनाउन सक्छ?
त्यो पनि पेसेवर अपराधीले होइन, एक सामान्यभन्दा सामान्य आम मान्छेले?
यसको जबाफ दिन्छन् शम्भुनाथ मिश्राले।
शम्भुनाथ भारतको ग्वालियरको एक गाउँमा आफ्नी श्रीमती मन्जुसँग बस्छन्। पाका उमेरका उनीहरू दुवै खुसी र प्रेमिल देखिन्छन्।
शम्भुनाथ 'मनोहर कहानियाँ' पत्रिकामा छापिने कथाहरू पढ्न खुब मनपराउँछन्। स्कुलका अवकाशप्राप्त शिक्षक उनी वरिपरिका बालबच्चालाई भेला पारेर घरमै ट्युसन पढाउँछन्।
मन्जुलाई घुँडाको समस्या छ जसले सताइरहन्छ।
उनीहरूका एक छोरा छन् जो विदेशमा बस्छन्। छोरालाई विदेश पठाउँदाको ऋणले मिश्रा दम्पतीलाई थिचेको छ।
यही ऋणका साहु हुन् पाण्डे।
पाण्डे गुन्डागर्दी गर्ने व्यक्ति हुन्। बेला बेला शम्भुनाथसँग पैसा माग्न घरै आउँछन्। मिश्रा परिवार शाकाहारी हुन्छ। उनीहरूलाई सताउन पाण्डे रक्सी र मासु बोकेर आउँछन्। कहिलेकाहीँ युवतीहरूलाई पनि ल्याउँछन् र मिश्रा दम्पतीको कोठामै यौनसम्पर्क राखेर जान्छन्।
यो सबै टुलुटुलु हेरेर बस्नेबाहेक मिश्रा दम्पतीसँग विकल्प हुँदैन। पाण्डेको ऋण तिर्ने पैसा उनीहरूसँग हुँदैन। विदेशमा भएका छोराले पनि उनीहरूको समस्या बुझ्दैनन्।
पाण्डेबाट अपमानित र प्रताडित हुनु उनीहरूको नियतिझैं बनेको छ।
तर एक दिन यो नियति भंग हुन्छ।
परिस्थिति यस्तो आइपर्छ जुन शम्भुनाथले सायदै कल्पना गरेका हुन्छन्।
शम्भुनाथले मात्र होइन, दर्शकले पनि गरेका हुँदैनन्। यो फिल्ममा एकाएक यस्तो मोड आउँछ जसले दर्शकको मथिंगल हल्लाइदिन्छ। ज्यान र मन सिरिंग बनाउँछ।
तर सामान्य देखिने शम्भुनाथले त्यो घटनालाई यसरी समेट्छन्, त्यसले फिल्मलाई रोचक बनाएको छ।
हामी कुरा गर्दैछौं फिल्म 'वध' को।
सन् २०२२ मा रिलिज भएको वध अपराध थ्रिलर कथा हो। शम्भुनाथको भूमिकामा सञ्जय मिश्रा र मन्जुको भूमिकामा निना गुप्ता छन्। यी दुई दिग्गज कलाकारको दमदार अभिनयले फिल्मलाई अझ शक्तिशाली बनाएको छ।
फिल्मको अघिल्लो भाग अलि सुस्त लागे पनि दर्शकलाई अँठ्याएर राख्न सक्छ। वधको ब्याकग्राउन्ड म्युजिक र प्रतिबिम्बात्मक दृश्यहरूले पनि धेरै कथा भन्छ।
बक्सअफिसमा नचले पनि यसले समीक्षकहरूबाट निकै प्रशंसा पाएको थियो। त्यस्तै फिल्म फेयर अवार्डका आधा दर्जन विधामा मनोनीत वधले दुइटामा अवार्ड जित्यो।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
हेर्नुस् युट्युबमाः