गुड फ्राइडे सिनेमा
यो कथा भारतको मुम्बई सहरको हो।
फिल्मको सुरूआत एक फिल्म समीक्षकको हत्या घटनाबाट सुरू हुन्छ। उनको हत्या भयानक तरिकाले भएको हुन्छ। निधारमा चक्कुले उल्टो त्रिभुजजस्तो चिह्न बनाइएको हुन्छ।
यो घटना अनुसन्धानको जिम्मा अरविन्द माथुरले लिन्छन्।
यसबीच फिल्ममा अर्का पात्रको प्रवेश हुन्छ। उनको फूल पसल हुन्छ, सबैले उनलाई ड्यानी भनेर बोलाउँछन्।
एक दिन ड्यानीको भेट कला पत्रकार निला मेननसँग हुन्छ। ड्यानी अनौठा स्वभावका हुन्छन्। आफैसँग बोल्ने बानी हुन्छ। उनलाई निला पहिलो भेटदेखि नै मनपर्छ। बिस्तारै उनीहरूबीच प्रेम सम्बन्ध सुरू हुन्छ।
निलाकी आमाले पनि उनलाई मनपराउँछिन्।
अर्कातिर अरविन्द समीक्षकको हत्या अनुसन्धानमा केन्द्रित हुन्छन्। तर घटना सुल्झिनुको साटो उल्झिन्छ, किनभने केही दिनपछि, अर्का समीक्षकको शव रेलवे ट्र्याकमा भेटिन्छ। उनको शव ट्र्याकको दुईतिर चेपिएको अवस्थामा फेला पर्छ। निधारमा चक्कुले तारा चिह्न बनाइएको हुन्छ।
समीक्षकहरूको हत्यारा एकै व्यक्ति भएको अनुमान अरविन्दले गर्छन्। उनले यो पनि पत्ता लगाउँछन्, नकारात्मक समीक्षा गर्नेको मात्र हत्या भएको छ।
तर उनको अनुमान गलत हुन्छ। कसरी, यसका लागि फिल्म 'चुपः रिभेन्ज अफ द आर्टिस्ट' हेर्नुपर्छ।
कथा यहाँसम्म आइपुग्दा दर्शकले हत्यारा को हो भनेर थाहा पाइसक्छन्। यसपछि पनि हत्याको शृंखला चल्छ। हत्याराले किन यसो गरिरहेका छन् भन्ने चाहिँ रहस्यमै रहन्छ।
फिल्मले यस्तो मोड लिन्छ जुन हत्याराकै लागि मुस्किलको समय हुन्छ।
आखिर समीक्षकहरूको हत्या किन भइरहेको हुन्छ? उनीहरूले त्यस्तो के लेखेका हुन्छन् जसले हत्यारालाई उत्प्रेरित गर्छ?
हत्याराको जीवनको पछाडिको कथा के हुन्छ?
उसले आफ्नो मुस्किल समयमा के निर्णय लिन्छ?
उसले हत्या गर्दा विशेष चिह्नहरू किन बनाउँछ?
यस्तै रहस्यले भरिएको हिन्दी फिल्म हो चुपः रिभेन्ज अफ द आर्टिस्ट। सन् २०२२ मा ओटिटीमा रिलिज भएको यो अपराध थ्रिलर फिल्म हो।
आर. बाल्कीको लेखन र निर्देशन रहेको यो फिल्ममा सनी देओल, दुलकर सलमान, श्रेया धन्वन्तरी र पूजा भट्ट प्रमुख भूमिकामा छन्।
यो फिल्मले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। विशेष गरी फिल्मको कथा र दुलकर सलमानको अभिनयको खुब प्रशंसा गरिएको थियो।
हेर्नुहोस् युट्युबमाः