सानैदेखि नाच्न भनेपछि हुरूक्क हुन्थे सुनिल क्षेत्री।
नाच्न पाएपछि भोकतिर्खाको समेत पत्तो पाउँदैन थिए। तीन कक्षामा पढ्दै गर्दा उनी स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा नाच्थे। नृत्यमै आफ्नो भविष्य कल्पना गर्थे।
यसरी सपना देखेर हुर्किएका सुनिलले नाचको कुनै औपचारिक प्रशिक्षण लिएनन्। उनको रहर र रनाहाले नै उनी आज सफल कोरियोग्राफर तथा निर्देशक बन्न सफल भएका छन्।
लोकदोहोरीका भिडिओमा कोरियोग्राफी तथा निर्देशन गरिरहेका उनको पछिल्लो चर्चित काम 'बोक्सीको घर' को 'बुझिनँ मैले' बोलको गीत हो। यो गीतमा सुनिलको कोरियोग्राफीमा केकी अधिकारीले नृत्य गरेकी छन्।
'यो गीतको नृत्यले प्रशंसा पायो। तारिफ सुन्दा धेरै खुसी लाग्यो,' सुनिलले भने।
त्यसयता उनले हिट फिल्म 'छक्का पन्जा ५' र '१२ गाउँ' को गीतमा कोरियोग्राफी गरे।
हालै उनले सन्तोष सेनको नयाँ फिल्म 'बलिदान' मा पनि कोरियोग्राफी गरिसकेका छन्। यो फिल्मको गीतमा सुनिल आफै पनि देखिनेछन्।
सुनिल भारतको दिल्लीमा जन्मिएका हुन्। उनका बुबा दिल्लीको एक स्टिल कारखानामा काम गर्थे। दुई दिदीका भाइ सुनिल तीन वर्षको उमेरमा आमाबुबासँगै नेपाल फर्किए। उनीहरू नेपालगञ्जमा बस्न थाले। त्यहाँ तीन वर्ष बसेपछि रूपन्देही सरे।
उनको परिवारको आर्थिक अवस्था कमजोर थियो। सुनिल पाँच कक्षामा पढ्दै गर्दा उनका बुबाको मृत्यु भयो। आमाले रक्सी बेचेर जेनतेन परिवार चलाइन्।
सुनिललाई पढाइमा खासै रूचि थिएन। एसएलसीमा फेल भए।
'बुबाको मृत्युपछि परिवारको जिम्मेवारी चाँडै मेरो काँधमा आयो। पढाइमा पनि रूचि नभएकाले राम्रो गर्न सकिनँ। मैले कलाकारितामा लाग्ने सोचेँ,' उनले भने।
२०६१ सालतिर उनी काठमाडौं आए। सशस्त्र प्रहरी बलमा आवद्ध भए र त्यसको सांस्कृतिक विभागमा भर्ना भए। पछि रेस्टुरेन्ट र बारमा पनि नाच्ने काम गरे।
'अरू हिरो बन्छु भन्ने सपना देख्छन्, मलाई भने जसरी पनि नाच्ने काम चाहिएको थियो। जहाँ भए पनि आफ्नो नृत्य प्रस्तुत गर्नु थियो,' उनले भने।
सुनिलले राम्रो नाच्छ भन्ने कुरा फैलिँदै गयो। उनलाई दुबईको बारमा समेत नाच्ने प्रस्ताव आयो। राम्रो अवसर भएकाले उनी सशस्त्र प्रहरीको जागिर छाडेर दुबई हानिए।
दुबईको बारमा उनी बलिउड गीतमा पनि नाच्थे। त्यहाँ उनले विभिन्न देशका मान्छे चिन्ने अवसर पाए। यसै क्रममा उनलाई भारतीय टेलिभिजन कार्यक्रम 'डान्स इन्डिया डान्स (डिआइडी)' मा सहभागी हुन प्रस्ताव आयो। उनी डिआइडीको चौथो संस्करणमा सहभागी भए। निर्णायक मण्डलमा बसेका बलिउड अभिनेता मिथुन चक्रवर्ती लगायत सबैले उनको प्रशंसा गरे।
तर बीचमै उनको दुर्घटना भएर खुट्टामा समस्या आयो। उनले डिआइडीको यात्रालाई पूर्णता दिन सकेनन्। त्यसपछि उनी नेपाल फर्किए।
खुट्टा चल्न थालेपछि उनी फेरि नाच्न थाले।
'दुबईमा नाचिरहेका बेला उनलाई शाहरूख खानको फिल्म ह्याप्पी न्यू इयरको प्रस्ताव आयो। यो फिल्मको अवसर मलाई डिआइडीको मञ्चले नै जुराएको हो,' उनले भने।
फिल्ममा उनी कोरियन ग्रुपको डान्सरका रूपमा देखिएका थिए।
बलिउड अभिनेता शाहरूख खानसँगको पहिलो भेट याद गर्दै उनले भने, 'शाहरूख खानसँग भेट हुनु एउटा ठूलो अवसर थियो। त्यो अनुभव सम्झिँदा अहिले पनि हात खुट्टा काम्छ। पहिलो दिन सुटिङ सेटमा जाँदा शाहरूख खानले सबै जनासँग हात मिलाउनुभयो। मलाई उहाँको व्यवहार निकै सरल लाग्यो।'
बलिउड फिल्ममा अभिनय गरेपछि उनले उतै केही गर्छु भन्ने सोच बनाएका थिए। तर उनलाई त्यहाँको माहोल चित्त बुझेन। उनी फर्किए र यतै कामको खोजीमा लागे।
सात वर्षअघि उनले एक म्युजिक भिडिओको कोरियोग्राफी तथा निर्देशन गर्ने अवसर पाए। 'कसरी कसरी' बोलको त्यो गीत टंक बुढाथोकी र मेलिना राईले गाएका हुन्। गीत हिट भयो। सुनिलको कोरियोग्राफ्री तथा निर्देशन यात्रा अगाडि बढ्यो। उनको 'ओइ तिम्रो छ कि छैन कोही, लठ्ठै' गीतले पनि राम्रो चर्चा पायो।
काम राम्रै हुँदा हुँदै उनलाई केही व्यक्तिसँग चित्त दुखाइ भयो। उनले आधुनिक गीतको कोरियोग्राफी तथा निर्देशन गर्न छाडे। लोकदोहोरी क्षेत्रमा छिरे।
पहिलो लोकगीत 'बोके झार' बनाए, सफल भयो। लोकदोहोरी गीतमा पनि जमेपछि उनले आफ्नो दायरा फराकिलो बनाउने सोचे।
उनले फिल्म 'ची मुसी ची' मा अभिनय गरे। फिल्म चलेन। उनलाई फिल्मी काम पनि चित्त बुझेन। उनले कहिल्यै फिल्म नखेल्ने निधो गरे। यसैबीच एक फिल्ममा कोरियोग्राफीको प्रस्ताव आयो। उनले प्रस्ताव स्वीकार गरे र कसरी सट लिने भन्दै घोत्लिएर स्क्रिप्ट लेख्न थाले। केही समयपछि निर्माण टिमले अर्कै कोरियोग्राफरलाई लिए।
'फिल्म क्षेत्रप्रति विश्वास धर्मराउँदै गएको थियो। म्युजिक भिडिओ र लोकदोहोरीमै थिएँ,' उनले भने।
त्यही समय आसपास केकी अधिकारीले उनलाई 'बोक्सीको घर' का लागि फोन गरिन्। सुनिलले केही फरक तरिकामा 'बुझिनँ मैले' कोरियोग्राफी गरे।
'अहिले म्युजिक भिडिओ कम गरेर फिल्ममै केन्द्रित छु,' उनले भने।
सुनिल स्वतन्त्र भएर काम गर्न रूचाउँछन्। कुनै गीतको प्रस्ताव आएपछि दुई-तीन दिन गीत सुन्छन्। गीतको हरेक भाव नियाल्छन्। त्यसै अनुसार मोडल छनोट गर्छन्। सबै योजना बनाएपछि निर्मातालाई बजेट सुनाउँछन्। निर्माता सहमत भएमा काम गर्छन्।
'कहिलेकाहीँ काम गर्दै जाँदा सुरूमा भनेभन्दा बढी बजेट भयो भने म आफ्नो गोजीबाटै लगानी गर्छु,' उनले भने।
सोचेजस्तो काम गर्ने वातावरण नभएकाले उनी आफ्नो उपलब्धिमा भने खासै सन्तुष्ट छैनन्। प्रतिभाको कदर नभएको महसुस पनि उनलाई हुन्छ।
'सबै भाइरलको पछाडि दौडिएका छन्। राम्रो सिर्जना निकाल्न कसैको ध्यान नै छैन,' सुनिल भन्छन्।