गुड फ्राइडे सिनेमा
दीपक रौनियारको निर्देशनमा बनेको 'सेतो सूर्य' अर्थात् 'ह्वाइट सन' आठ वर्षपछि युट्युबमा रिलिज भएको छ।
शुक्रबार सेतोपाटीको गुड फ्राइडे सिनेमामार्फत् प्रिमियर गरिएको यो फिल्म पहिलो पटक युट्युबमा उपलब्ध भएको हो।
बाँसुरी फिल्म्सले रिलिज गरेको सेतो सूर्य नेपाली फिल्मको इतिहासमा उत्कृष्टको सूचीमा पर्छ। सन् २०१६ मा रिलिज भएको सयो फिल्मले राष्ट्रिय र अन्तर्राष्ट्रिय समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो।
फिल्मको सुरूआत शंखध्वनी बजेर हुन्छ। एउटा शव उठाउनै लाग्दा छोरा सुरजले भित्रबाट एउटा झन्डा लिएर आउँछ। 'बुबाको अन्तिम इच्छा थियो' भन्दै त्यो झन्डा शवमाथि ओढाइदिन्छ। शव उठाउनै लागेका ठूलो छोरा चन्द्रलाई त्यो सह्य हुँदैन। थुतेर फालिदिन्छ।
बाबुको शव छेउमा दुइटा छोराको घम्साघम्सी पर्नै लागेका बेला गाउँले अलमलमा पर्छन्। एउटा छोरा सेनामा काम गरेर गाउँमा जमेको, अर्को माओवादी भएर वर्षौं बाहिरै बसेको।
गाउँलेले सम्झाएपछि अन्ततः शवमा फेरि झन्डा ओढाइन्छ। तर दुई छोराबीचको विवाद सकिँदैन। शव बाटैमा पसारो लाग्छ। दुइटै छोरा दुईतिर लाग्छन्।
सेतो सूर्य (ह्वाइट सन) को कथा त्यसैमा अगाडि बढेको छ।
भेनिस फिल्म फेस्टिभल, टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभलमा प्रिमियर गरेर यो फिल्मको प्रदर्शन यात्रा सुरू भएको थियो। त्यसपछि थुप्रै विश्वप्रसिद्ध महोत्सवहरूमा देखाइएको छ।
२७ औं सिंगापुर इन्टरनेसनल फिल्म फेस्टिभलमा यसले ५५ हजार डलरसहित सर्वोत्कृष्ट अवार्ड जितेको थियो। फ्रिवर्ग इन्टरनेसनल फेस्टिभलमा चार वटा अवार्ड र भेनिस फिल्म फेस्टिभलमा एउटा अवार्ड जितेको थियो। त्यस्तै पाम स्प्रिङ फिल्म फेस्टिभलमा पनि अवार्ड जितेको थियो। यसबाहेक इन्टरनेसनल फिल्म फेस्टिभल, गोल्डेन हर्समा मनोनयनमा परेको थियो।
सेतो सूर्य ९० औं अस्कर अवार्डका लागि नेपालबाट पठाइएको थियो। तर मनोनयनमा परेन।
पश्चिमा दर्शकमाझ अत्यन्त रुचाइएकै यो फिल्मका प्रत्येक पात्र र भोगाइले हामी प्रत्येकका भोगाइको प्रतिनिधित्व गर्छन्। हरेक पात्र आफ्नै परिस्थितिमा जेलिएको छ। र, परिस्थितिले नै उनीहरूभित्र द्वन्द्व पनि गराइरहेको हुन्छ।
अनि त्यसैले सिनेमालाई रोचक तरिकाले अगाडि बढाउँदै लैजान्छ।
यो फिल्ममा दयाहाङ राईले चन्द्रको र रवीन्द्रसिंह बानियाँले सुरजको भूमिका निर्वाह गरेका छन्। यसबाहेक सूमी मल्ल, दीपक क्षेत्री, गणेश न्यौपाने, आशा मगराती, अमृत परियार, प्रमोद अग्रहरी, देशभक्त खनाल लगायतको अभिनय छ।