बलात्कार पीडितले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने अभियानमा हिँडेकी छन् देवी खड्का।
उनले यो लक्ष्य आफ्नै भोगाइबाट लिएकी हुन्।
भर्खरै १७ वर्ष लागेकी थिइन् देवी। खेल्ने, कुद्ने उमेरमा उनी सामूहिक बलात्कारको सिकार भइन्।
उनका दाइ रितबहादुर खड्का माओवादी लडाकू थिए। त्यही कारणले २०५४ कात्तिक ११ गते प्रहरीले देवीलाई पनि माओवादी द्वन्द्वमा सामेल भएको आरोप लगाउँदै पक्राउ गर्यो। र, प्रहरी हिरासतमै डिएसपी सहितका अधिकारीहरूले उनीमाथि सामूहिक बलात्कार गरे।
सामूहिक बलात्कारमा परेकी देवीलाई प्रहरीले प्रेससामु उभ्याए र हुँदै नभएका घटनाक्रम बुनेर उनको मानहानि गरे।
आघातमा परेकी देवीले फर्किएर घर जाने हिम्मत गरिनन्।
उनी माओवादीको सांस्कृतिक समूहमा सामेल भइन् र नाचगान गर्दै लडाकूहरूको मनोबल बढाउने र पार्टी विचारधारा प्रचार गर्नेतिर लागिन्।
पहिले परिवारमा दाइ मात्र माओवादी थिए, प्रहरीको ज्यादतीपछि बहिनी पनि माओवादी बनिन्।
२०६२/६३ को जनआन्दोलनपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। द्वन्द्व सकियो, द्वन्द्वरत दुवै पक्ष एक भए। माओवादी पार्टी पटक पटक सरकारमा पुग्यो। तैपनि द्वन्द्व क्रममा बलात्कारजस्तो जघन्य हिंसाको सिकार भएकाहरूले न्याय पाएनन्।
न्याय त टाढाको कुरा, उनीहरूको आवाज सुनिदिने पनि कोही भएन।
यसबीच दोलखाकी देवी संविधानसभा सदस्य हुँदै राज्यकी एक प्रतिनिधि बनिसकेकी थिइन्। तर द्वन्द्वले दिएको घाउ भुलेकी थिइनन्।
द्वन्द्वकालमा बलात्कार पीडित भनेर सञ्चारमाध्यमले देवीको मात्र अनुहार सार्वजनिक गर्दै आएको थियो। उनलाई थाहा थियो, अरू पनि थुप्रै महिला यो हिंसाका सिकार छन्।
देवीले आफूजस्तै शारीरिक हिंसाका भुक्तमानीहरूको अगुवा बनेर न्यायको पक्षमा आवाज उठाउने हिम्मत कसिन्। त्यस क्रममा उनी पक्राउ पनि परिन्। तैपनि न्यायको निम्ति राज्यका निकायहरूको ढोका ढक्ढकाउन छाडिनन्।
२०७५ सालमा देवीको जीवनमा जोडिन आइपुगिन् पत्रकार सुबिना श्रेष्ठ।
ललितपुरकी सुबिना त्यति बेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'अलजजिरा' का लागि रिपोर्टिङ गर्थिन्। त्यसअघि 'द काठमाडौं पोष्ट' लगायतका स्थानीय सञ्चारमाध्यममा पनि काम गरेकी थिइन्। उनी पत्रकारिता सँगसँगै वृत्तचित्र निर्माणमा पनि सक्रिय थिइन्।
सुबिनाले पहिलोपटक पत्रकारका रूपमा देवीको अन्तर्वार्ता लिएकी थिइन्। त्यस क्रममा उनलाई देवीको भोगाइले यति छोयो, उनले भिडिओ स्टोरी मात्र होइन, वृत्तचित्र नै बनाउने निधो गरिन्।
देवीले पनि सुबिनालाई विश्वास गरेर उनको अगाडि आफ्नो मुटु खोलेर राखिदिइन्। आफूले सम्हालेर राखेको डायरी पनि जिम्मा लगाइदिइन्।
त्यसपछि सुरू भयो सुबिनाको वृत्तचित्र निर्माण यात्रा।
उनले देवीको जीवनमाथि लगभग १५ मिनेटको वृत्तचित्र बनाउने योजना गरेकी थिइन्। तर कुराकानी क्रममा एकदिन देवीले भनिन्, 'यो मेरो मात्र कथा होइन। मजस्ता सयौं महिला बलात्कार पीडित छन्। उनीहरू सबैले राज्यसँग न्याय माग्यो भने के होला?'
देवीको यो भनाइले सुबिनालाई छोयो।
बलात्कार पीडित महिलामाथि वृत्तचित्र बनाउँदा देवीको कथा मात्र देखायो भने अधुरो हुन्छ भन्ने उनलाई लाग्यो। उनी देवीलाई समेत लिएर अन्य पात्रहरू खोज्न थालिन् र ती सबैसँग पालैपालो कुराकानी अघि बढाइन्। कतिलाई व्यक्तिगत भेटिन्, केहीसँग सामूहिक छलफल गरिन्।
कुराकानी गर्दै जाँदा चार सय घन्टा लामो रेकर्डिङ जम्मा भयो।
ती सबै रेकर्डिङ काट्दै, सम्पादन गर्दै र त्यसको सार खिच्दै सुबिनाले ८० मिनेटको वृत्तचित्र तयार पारिन् — देवी।
पाँच वर्ष देवी खड्कालाई पछ्याउँदै बनाइएको यो वृत्तचित्रमा उनको दिनचर्यादेखि द्वन्द्वकालमा बलात्कारको सिकार भएका थुप्रै महिलाको भोगाइ साझा गरिएको छ।
'हामीले नेपालभरका बलात्कार पीडित महिलाहरूको भोगाइ समेटेका छौं,' सुबिनाले भनिन्, 'फिल्मका मूल सूत्रधार भने देवी नै हुन्। उनकै आँखाबाट पीडित महिलाहरूको कथा चित्रण गरिएको छ।'
फिल्म निर्माण गर्दा देवीले जसलाई भेट्ने र जोसँग कुराकानी गर्ने भन्थिन्, उनलाई तिनै महिलासँग भेटाइन्थ्यो र संवाद रेकर्ड गरिन्थ्यो। देवीबाहेक अन्य महिलाको अनुहार भने देखाइएको छैन।
'अरूको अनुहार देखाउन हामीले आवश्यक ठानेनौं,' सुबिनाले भनिन्, 'देवी पात्रबाटै सबै महिला पीडितहरूको कथा सुन्न सकिन्छ।'
'माओवादीहरू शान्ति प्रक्रियामा आएको १८ वर्ष बितिसक्यो। यसबीच पटक पटक सत्तामा पुगिसके। तर माओवादी द्वन्द्वकै क्रममा हिंसाको सिकार भएका महिलाहरू आफ्नो घाउबाट बाहिर निस्कन सकेका छैनन्। आघातले बोल्ने मान्छेलाई पनि बोल्न नसक्ने बनाउँछ। देवी १४ वर्षअघि थेरापी गरिरहेकी थिइन्। १४ वर्षपछि थेरापी गर्न जाँदा पनि उनको पीडा र कष्ट उस्तै देखियो। उनी त्यो पीडाबाट निस्कन सकिरहेकी थिइनन्,' सुबिनाले भनिन्।
उनले माओवादी द्वन्द्वमा महिलाहरूको अवस्था कस्तो थियो भनेर दर्शाउन पुराना आर्काइभ भिडिओ फुटेज प्रयोग गरेकी छन्। माओवादी लडाकू भएका नाममा प्रहरीबाट पीडित महिला मात्र होइन, माओवादीबाट पीडित प्रहरीहरूको कथा-व्यथा पनि समेटेकी छन्।
'देवीकै पहलमा यौनहिंसामा परेका महिलाको मुद्दालाई सत्य निरूपण विधेयकमा सम्बोधन गर्न खोजिएको छ,' सुबिनाले भनिन्, 'युद्धकालमा बलात्कार पीडित भएका महिलाहरूको ३१४ वटा फाइल छ। तर ती फाइल खोलिएका छैनन्।'
यो वृत्तचित्र बनाउँदै गर्दा सुबिनाले पनि धेरै आरोप खेप्नुपर्यो। उनलाई धेरैले राजनीतिक एजेन्डाका रूपमा फिल्म बनाउन लागेको आरोप लगाए। कतिले देवीको कथा भजाएर व्यावसायिक लाभ लिन खोजेकोसम्म भने। तर ती आरोपलाई न सुबिनाले गम्भीर रूपमा लिइन्, न देवीले। उनीहरू बलात्कार पीडितहरूको पक्षमा आवाज उठाउने अभियानमा निरन्तर लागिरहे।
फिल्म निर्माण क्रममा सबै पीडित महिलाहरूको विश्वास जित्न भने निकै गाह्रो भएको सुबिना बताउँछिन्।
'दस-बाह्र वर्षका बालिकासमेत बलात्कारको सिकार भएका घटना सुन्दा हाम्रो आङ जिरिंग हुन्थ्यो। हामीलाई सुन्न त डर लाग्ने त्यस्ता घटना जसले भोग्नुभयो, त्यही भोगाइ सम्झी सम्झी सुनाउनुपर्दा कति गाह्रो भयो होला!' सुबिनाले भनिन्, 'यसको निम्ति उहाँहरूको विश्वास जित्न जरूरी थियो। विश्वास बढ्दै गएपछि उहाँहरू बिस्तारै खुल्दै जानुभयो।'
वृत्तचित्र तयार भएपछि सुबिनाले सबभन्दा पहिला देवी र उनको परिवारलाई देखाइन्। त्यसपछि १३ वटा जिल्लामा घुमेर त्यहाँका बलात्कार पीडित महिलाहरूलाई देखाइन्।
सबैको सहमतिपछि अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा सामेल गराउन प्रक्रिया अघि बढाइयो।
पहिलो पटक क्यानडाको महोत्सवमा देखाइएको यो वृत्तचित्र त्यसपछि न्युजिल्यान्ड महोत्सवमा देखाइएको थियो। फिल्मले उठान गरेको विषय त्यहाँका दर्शकले निकै रूचाएका थिए। तर सुबिना यो फिल्म नेपाली दर्शकहरूलाई देखाउन चाहन्थिन्। उनको त्यो चाहना यसपालि 'फिल्म साउथ एसिया' मा पूरा भएको छ।
फिल्म हेर्ने अधिकांश दर्शकबाट उनले राम्रो प्रतिक्रिया पाइरहेकी छन्। कतिपयले देवीको संघर्षमा साथ दिइरहेका श्रीमानको पनि तारिफ गरेका छन्।
'देवी खड्काले अहिले जुन सम्मान पाइरहेकी छन्, बलात्कार पीडित सबै महिलाले त्यही सम्मान पाउनुपर्छ। उनीहरू सबैले आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्छ,' सुबिनाले भनिन्, 'नेपालमा माओवादी द्वन्द्व बेला मात्र होइन, अरू समय पनि धेरै महिला यौनहिंसाको सिकार भएका छन्। यो क्रम अहिले पनि जारी छ।'
फिल्ममा एक पीडित महिला भन्छिन्, 'हाम्रो पीडा पार्टीले त सुनेन सुनेन, सरकारले पनि सुनेन।'
त्यसैले आफूहरूको पीडा संसारलाई सुनाउनु नै आफूहरूको उद्देश्य रहेको सुबिना बताउँछिन्।
'यौन हिंसाको सिकार हुँदैमा मान्छेको जीवन सकियो भन्नु गलत हो। हिंसाको सिकार भएका महिलाको इज्जत लुटियो भन्नु पनि गलत हो। इज्जत उनीहरूको लुटिएको होइन, उनीहरूलाई सम्मानपूर्वक बाँच्न नदिने समाजको लुटिएको हो,' उनले अगाडि भनिन्, 'समाजले यसलाई गम्भीरतापूर्वक लियोस्, हिंसामा परेका महिलाबारे छलफल होस् र उनीहरूलाई आत्मसम्मानपूर्वक बाँच्न दिने वातावरण बनोस् भन्ने उद्देश्यले हामीले यो फिल्म बनाएका हौं।'
वृत्तचित्रले पाएको प्रशंसाले सुबिनालाई जति सन्तुष्टि दिएको छ, त्यति नै मानसिक रूपमा आहत पनि छिन्। हृदय नै थिलथिलो पार्ने विषयवस्तुमा लगातार पाँच वर्ष काम गरेकीले उनलाई तत्काल कुनै नयाँ काम ऊर्जाका साथ गर्न सक्छु भन्ने लागेको छैन।
'यो फिल्म निर्माणले मलाई पनि व्यक्तिगत आहतमा पार्यो। उनीहरूको भोगाइ जति सुन्दै गएँ, म पनि त्यसैमा डुब्दै गएँ। मलाई यसबाट बाहिर निस्किन र नयाँ काममा हात हाल्न अझै केही समय लाग्छ होला,' सुबिनाले भनिन्।
यति हुँदाहुँदै देवी खड्का लगायत थुप्रै देवीहरूको पीडामा समाहित हुँदै उनीहरूको आवाजलाई दुनियाँसम्म पुर्याउन सकेकोमा सुबिनाले सन्तोषको सास फेरिरहेकी छन्।
वृत्तचित्रमा एक ठाउँ एक पात्र भन्छिन्, 'हामी समाजलाई च्यालेन्ज गरिरहेका छौं।'
देवीहरूको 'च्यालेन्ज' समाजले स्वीकार गरोस्, उनीहरूलाई न्याय दिओस् र सम्मानपूर्वक बाँच्न दिओस् — वृत्तचित्र निर्देशकका रूपमा सुबिना श्रेष्ठ यत्ति चाहन्छिन्।