२०८० सालभरि आठ वटा नेपाली फिल्म दर्शकहरूले रूचाए।
'जारी', 'नांगो गाउँ', 'परदेशी २', 'पशुपति प्रसाद २ः भष्मे डन', 'दिमाग खराब', 'दयारानी', 'महाजात्रा' र 'डिग्री माइला' राम्रो कमाइ गर्ने फिल्मको सूचीमा परे।
यो वर्ष भने हिट नेपाली फिल्मको संख्या ह्वात्तै बढेको छ।
धेरै राम्रो कमाइ गर्ने फिल्महरू 'बोक्सीको घर', 'छक्का पञ्जा- ५', '१२ गाउँ' र 'पूर्णबहादुरको सारंगी' बने। 'पुजार सार्की', 'खुस्मा' र 'बेहुली फ्रम मेघौली' ले पनि राम्रै व्यापार गरे। 'मनसरा', 'फर्की फर्की', 'घर ज्वाइँ' र 'ज्वाइँ साब' ले पनि घरेलु बजारबाटै लगानी सुरक्षित गरे। विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेका 'शाम्बाला' र 'गाउँ आएको बाटो' ले पनि दर्शक तान्न सफल भए।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको 'ह्रस्व दीर्घ' ले पनि सन्तोषजनक व्यापार गरिरहेको छ।
यसरी हेर्दा, यो वर्ष सात महिना अवधिमा १४ वटा फिल्मले दर्शक र पैसा दुवै कमाएको देखिन्छ। यीमध्ये सबभन्दा धेरै चर्चा 'पूर्णबहादुरको सारंगी' को छ। यतिबेला तेस्रो सातामा चलिरहेको यो फिल्मले हालसम्मकै धेरै कमाउने नेपाली फिल्मको रेकर्ड बनाइसकेको छ।
अहिले सिनेमा हलहरूमा नेपाली फिल्मले दर्शकको भरपुर साथ पाएको निर्माता, निर्देशक तथा वितरक अशोक शर्मा बताउँछन्।
'हलहरूमा एकदमै उत्साहजनक माहोल छ,' शर्माले भने, 'फिल्म चल्नु त खुसीको कुरा भयो नै, फिल्म राम्रो छ भनेर सन्देश जानु नेपाली सिने उद्योगका लागि एकदमै राम्रो कुरा हो।'
गत वर्ष चैतमा 'महाजात्रा' आएदेखि नै नेपाली फिल्मको माहोल राम्रो देखिएको उनले बताए।
'महाजात्रा, छक्का पन्जा- ५ त सिक्वेल भएकाले चल्छ भन्ने थियो। तर बोक्सीको घर, १२ गाउँ र पूर्णबहादुरको सारंगीले पाएको साथ दर्शकको साथ एकदमै सकारात्मक कुरा हो। ह्रस्व दीर्घले पनि राम्रो ओपनिङ गर्दा थप उत्साह बढेको छ,' उनले थपे, 'ओटिटी प्लेटफर्मबाट पनि नेपाली फिल्मले कमाइरहेका छन्।'
पछिल्लो समय सिनेमा हलमा त नेपाली फिल्मले हिन्दी फिल्मलाई समेत पछि पारेका छन्। पूर्णबहादुरको सारंगीसँगै हिट बलिउड सिक्वेल फिल्म 'सिंघम अगेन' र 'भूल भुलैया-३' चलेका थिए। भारतमा हिट भएका यी फिल्म नेपालमा भने नेपाली फिल्मकै कारण ओझेल परे।
त्यस्तै पूर्णबहादुरको सारंगीका दर्शक नघटेपछि कात्तिक ३० गते प्रदर्शन हुने भनिएको फिल्म 'मिसिङः केटी हराएको सूचना' को रिलिज मिति सारियो। राम्रो चलेको दक्षिण भारतीय फिल्म 'कंगुवा' पनि सो समयमा नेपालमा प्रदर्शनमा आएन।
'नेपाली फिल्मको लहर यस्तो भयो कि हिन्दी फिल्म प्रदर्शन नै गरिएन। अहिले पनि नेपाली फिल्मकै दबदबा छ। ह्रस्व दीर्घ नयाँ भए पनि पूर्णबहादुरको सारंगीले दर्शक तानिरहेको छ। यसैले गर्दा सिंघम अगेन जस्तो ठूलो फिल्म पनि वितरकहरूले हटाउनुभयो,' नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सकी जेनरल म्यानेजर तृप्ती गिरीले भनिन्।
उनले थपिन्, 'यो सब नेपाली फिल्मको लहरले हो। अहिलेका फिल्मले नयाँ दर्शक बढाएका छन्। कतिपय त पहिलोपटक फिल्म हेर्न आउने दर्शक पनि छन्। यो माहोलले फिल्म उद्योग नै फेरिँदै गइरहेको छ भन्ने देखाएको छ।'
अब पनि अरू थुप्रै फिल्म प्रदर्शनका लागि तयार अवस्थामा छन्। तीमध्ये केही फिल्मले राम्रो व्यापार गर्ने आकलन छ।
यी हुन् यो वर्ष हिट भएका १४ नेपाली फिल्मः
बोक्सीको घर
वैशाख १४ गते प्रदर्शनमा आएको 'बोक्सीको घर' ले दर्शकको राम्रो साथ पायो। बोक्सी कुप्रथाबारे बनेको यो फिल्मले सुरूआतमै राम्रो प्रभाव पारेको थियो। फिल्मले ५१ औं दिन मनाउँदै गर्दा निर्माण टिमले १० करोड रूपैयाँ कमाएको जानकारी दिएको थियो।
यो फिल्मको 'बुझिनँ मैले' गीतले पनि फिल्मको चर्चा बढाउन सहयोग गरेको थियो। सुलक्षण भारतीले निर्देशन गरेको फिल्ममा केकी अधिकारी, सुलक्षण भारती, सुफला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायत कलाकारको अभिनय छ।
मनसरा
वैशाख २१ गते रिलिज 'मनसरा' ले एक सातामा ३ करोड २० लाख रूपैयाँ कमाएको निर्माण टिमले जनाएको थियो।
उपेन्द्र सुब्बाले निर्देशन गरेको यो फिल्ममा प्रवीण खतिवडा, मिरूना मगर, मेनुका प्रधान, दयाहाङ राई लगायत कलाकारको अभिनय छ। फिल्ममा अन्तर सांस्कृतिक-जातीय सम्बन्धको कथा देखाइएको छ।
पुजार सार्की
दिनेश राउतले निर्देशन गरेको फिल्म 'पुजार सार्की' जेठ १० गतेदेखि चलेको थियो। आर्यन सिग्देल, प्रदीप खड्का, अन्जना बराईली, परीक्षा लिम्बू, पल शाह लगायतको मुख्य भूमिका रहेको यो फिल्मले चर्चा र दर्शक राम्रै पाए पनि हालसम्म यसले कति कमाइ गर्यो भनेर सार्वजनिक गरिएको छैन।
फर्की फर्की
अनमोल केसी र जसिता गुरूङको फिल्म 'फर्की फर्की' जेठ १० गते, 'पुजार सार्की' सँगै रिलिज भएको थियो। यो फिल्मको कमाइ पनि निर्माताले सार्वजनिक गरेका छैनन्।
घर ज्वाइँ
असार २८ गते प्रर्दशनमा आएको 'घर ज्वाइँ' ले ५१ औं दिन मनाउँदै गर्दा निर्माण टिमले ६ करोड रूपैयाँभन्दा बढी कमाइ गरेको बताएको थियो। अनिल बुढा निर्देशित फिल्ममा दयाहाङ राई र मिरूना मगरको मुख्य भूमिका छ।
खुस्मा
असोज ३ गते प्रदर्शनमा आएको 'खुस्मा' ले ६ करोड रूपैयाँभन्दा धेरैको व्यापार गर्यो। यो फिल्ममा धिरज मगर र उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन्। अशोक थापा मगरले फिल्म लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा समावेश गीत 'रूकुम मैकोट' ले पनि निकै चर्चा पाएको थियो।
बेहुली फ्रम मेघौली
असोज १७ गते रिलिज फिल्म 'बेहुली फ्रम मेघौली' ले चार करोड रूपैयाँभन्दा धेरै कमायो। तर यो फिल्म सिनेमा हलमा दुई साता मात्रै चल्यो। दर्शक हुँदा पनि शो कम दिएको भन्दै निर्माताले फिल्म हलबाट उतारेर ओटिटी प्लेटफर्ममा ल्याए।
फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, रक्षा थापा, लोकेन्द्र लेखक, सिरू विष्ट, आमिर गौतम लगायत कलाकारको अभिनय छ। यो फिल्म सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन्।
छक्का पन्जा ५
दसैं फूलपातीमा रिलिज 'छक्का पन्जा-५' ले २० करोड रूपैयाँभन्दा धेरै कमाएको वितरकले बताएका छन्।
दीपाश्री निरौलाले निर्देशन गरेको छक्का पन्जा ५ मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी शीर्ष भूमिकामा छन्।
१२ गाउँ
फूलपातीमै रिलिज '१२ गाउँ' ले चार सातामा २५ करोड ५० लाख रूपैयाँ कमाएको वितरकको दाबी छ। विराज भट्टको निर्देशन तथा अभिनय रहेको यो फिल्मबाट उनका छोरा समीर भट्टले डेब्यु गरेका हुन्। बाबुछोरा सहित फिल्ममा सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोइराला, शुलेमान शंकर (इकु), कृष्ण भट्ट लगायत कलाकारको अभिनय छ।
ज्वाइँ साब
फूलपातीमै रिलिज अर्को फिल्म हो जितु नेपाल र नीति शाह अभिनीत 'ज्वाइँ साब'। छक्का पन्जा ५ र १२ गाउँसँग भिडे पनि यो फिल्मले सुखद व्यापार गर्यो। निर्माताले ५ करोड रूपैयाँ भन्दा बढीको व्यापार गरेको दाबी गरेका छन्।
बसन्त निरौलाले निर्देशन गरेको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, कमलमणि नेपाल, शिशिर वाङ्देल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ।
शाम्बाला
थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेको मीन भाम निर्देशित 'शाम्बाला' ले घरेलु बजारमा पनि दर्शकको साथ पायो। तर फिल्मको कमाइ निर्माण टिमले सार्वजनिक गरेको छैन।
'शाम्बाला' मा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायत कलाकारको अभिनय छ।
गाउँ आएको बाटो
नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' पनि थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेको फिल्म हो। दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका भएको यो फिल्मको कमाइ सार्वजनिक गरिएको छैन। तर दर्शकले यो फिल्म रूचाएका थिए।
पूर्णबहादुरको सारंगी
तिहारमा रिलिज भएको विजय बराल अभिनीत 'पूर्णबहादुरको सारंगी' ले त रेकर्डमाथि रेकर्ड बनाइरहेको छ।
बुधबारसम्म नेपाली बजारबाट यसले ३८ करोड रूपैयाँ हाराहारी कमाइसकेको छ। सरोज पौडेल निर्देशित फिल्ममा विजयसहित प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, देशभक्त खनाल, अलिशा बास्कोटा, भोलाराज सापकोटा लगायतको अभिनय छ।
ह्रस्व दीर्घ
कात्तिक ३० गते रिलिज नीता ढुंगाना निर्मित 'ह्रस्व दीर्घ' ले सोमबारसम्म ३ करोड ६५ लाख रूपैयाँ कमाएको थियो। बुधबारसम्म पाँच करोड रूपैयाँ कमाएको अनुमान छ।
चन्द्र पन्तले निर्देशन गरेको फिल्मको शीर्ष भूमिकामा नीता ढुंगाना र उनका श्रीमान ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी छन्। यसमा भारतीय कलाकारको पनि अभिनय छ।