गुड फ्राइडे सिनेमा
बलिउड अभिनेता अमिताभ बच्चनले केही समयअघि एक संवादमा आफ्नो पुरानो फिल्म सम्झे।
उक्त फिल्ममा केही हास्यास्पद त्रुटि भए पनि दर्शकहरूले माया गरेर माफ गरिदिएको अमिताभले बताए।
त्यो फिल्मको एउटा दृश्यमा तीन जना दाजुभाइले एकसाथ आफ्नी आमालाई रगत दिएको देखाइएको छ। दृश्य कस्तो छ भने, तीन दाजुभाइ अस्पतालको बेडमा लम्पसार सुतेका छन्। उनीहरूको शरीरबाट रगत निकालिँदैछ। तीनै जनाको रगत एउटा बोतलमा जम्मा हुन्छ र त्यही बोतलबाट आमाको शरीरमा पठाइन्छ।
'यसरी तीन जनाको रगत एकठाउँ जम्मा गरेर अर्को व्यक्तिको शरीरमा पठाउने विधि मेडिकल साइन्सले कल्पना पनि गरेको छैन होला,' अमिताभले हाँस्दै भने।
उनले सुटिङकै बेला निर्देशक मनमोहन देसाईलाई यस्तो 'हावादारी' दृश्य नराखौं भनेर सुझाएका थिए।
देसाई मानेनन्।
उल्टो अमिताभलाई सम्झाउँदै भनेछन्, 'अमित, हेर्दै जाऊ यही दृश्यमा दर्शकहरूले ताली पिट्ने छन्।'
'नभन्दै त्यस्तै भयो,' अमिताभले आफ्नो सम्झना साट्दै भने, 'तीन दाजुभाइले आमालाई रगत दिइरहेको त्यो दृश्य पर्दामा आउनासाथ दर्शकहरू खुसीले ताली पिट्न थाल्थे। उनीहरूलाई त्यसले हदैसम्म भावुक बनायो।'
त्यही फिल्मको अन्तिम गीत पनि 'हावादारी' भएको र त्यसका केही शब्द संशोधन गर्न सल्लाह दिएको अमिताभ सम्झन्छन्।
'फिल्मका तीनै जना हिरो भेष बदलेर भिलेनको अड्डामा पुग्छन् र गीत गाउन थाल्छन्,' अमिताभले भने, 'तर गीतको बोलमा तीनै जनाले चिच्याई चिच्याई आफ्नो नाम भनिरहेका हुन्छन्।'
तपाईंहरूले अहिलेसम्म बुझिसक्नुभयो होला, हामी कुन फिल्मको कुरा गर्दैछौं?
अमिताभ बच्चनले आफै मजाक उडाएको त्यो सुपरहिट फिल्म हो — अमर अकबर एन्थनी।
अमिताभको करिअरलाई आजको मुकाममा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका फिल्ममध्ये यो पनि एक हो। यसमा अमिताभसहित विनोद खन्ना, ऋषि कपुर, नितु सिंह, परबीन बाबी, शबाना आजमी, निरूपा रोय, प्राण, जीवन लगायतको मुख्य भूमिका छ।
सानैमा हराएका तीन दाजुभाइ कसरी छुट्टाछुट्टै माहोलमा हुर्कन्छन् र अन्तिममा कसरी भेटिन्छन् भन्ने नै फिल्मको मूल कथा हो। यो फिल्म यति हिट भयो, बलिउडमा यस्तै विषयवस्तुको फिल्म बनाउने लहर नै आयो। अहिले पनि थुप्रै हिन्दी फिल्ममा 'अमर अकबर एन्थनी' को प्रभाव भेटिन्छ।
निर्देशक मनमोहन देसाईले फिल्मी स्वतन्त्रता उपयोग गर्दै थुप्रै हास्यास्पद दृश्य राखेका भए पनि यो फिल्मले दिने धार्मिक सहिष्णुताको सन्देश निकै गम्भीर छ। यसका तीन नायक तीन धर्म मान्छन् — हिन्दु, इस्लाम र क्रिश्चियन।
आमालाई रगत दिएको जुन दृश्यको हामीले माथि कुरा गर्यौं, त्यो जतिसुकै हावादारी भए पनि त्यसले दिने बलियो सन्देश भनेको सबै मान्छे बराबर हुन् र सबै मान्छेको रगत एक हुन्छ भन्ने हो।
हेर्नुहोस् अमिताभ बच्चनको सुपरहिट फिल्म 'अमर अकबर एन्थनी' युट्युबमा —