गुड फ्राइडे सिनेमा
कहिलेकाहीँ सानो कुराले पनि ठूलो समस्या निम्तिन सक्छ। यस्तो समस्याकै कारण राम्रो बानीबेहोरा भएको मान्छेलाई पनि सनक चढ्न सक्छ। अनि यो सनकले नराम्रो घटना हुन सक्छ।
यसकै उदाहरण हो तमिल भाषाको फिल्म 'पार्किङ'।
थ्रिलर विधाको यो फिल्म रामकुमार बालकृष्णननले निर्देशन गरेका हुन्। पहिलो निर्देशन भए पनि उनले यो फिल्म दमदार बनाउन सफल भएका छन्। त्यसैले समीक्षक र दर्शक दुवैले पार्किङ खुबै रूचाए।
पार्किङको कथा एक नवदम्पती नयाँ घरमा सरेसँगै सुरू हुन्छ।
२८ वर्षीय ईश्वर आइटी क्षेत्रमा काम गर्छन्। उनी गर्भवती श्रीमती आथिकासँगै नयाँ डेरामा आउँछन्।
सो घरको तल्लो तलामा ग्राम पञ्चायतमा काम गर्ने सरकारी अधिकारी इलमपारूथी आफ्नी श्रीमती सेल्भी र किशोर उमेरकी छोरी अपर्णाका साथमा बस्छन्।
ईश्वरले नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन् भने इलमपारूथी पुरानो सोचका हुन्छन्। तैपनि दुई परिवारबीच तालमेल मिल्छ।
एक दिन ईश्वरले नयाँ कार किनेर ल्याउँछन्। इलमपारूथीको एउटा पुरानो मोटरसाइकल हुन्छ। दस वर्षसम्म पार्किङको पूरै ठाउँ ओगटेर बसेका इलमपारूथीलाई ईश्वरको कारले ठाउँ खाएपछि जलन हुन थाल्छ।
उनीहरूबीच पार्किङको ठाउँलाई लिएर सानातिना विवाद भइरहन्छन्।
यसबीच एक दिन इलमपारूथीले सनकमा नयाँ कार लिएर आउँछन्। अब त्यो घरमा दुइटा कार अटाउने ठाउँ हुँदैन।
यसपछि त्यहाँ कसको कार पार्किङ गर्ने भन्ने निहुँमा दुई जनाबीच हानाथाप सुरू हुन्छ।
यो प्रतिस्पर्धा दिनदिनै बढ्दै जान्छ। यही क्रममा ईश्वरले इलमपारूथीलाई थप्पड लाउँछन्।
यहाँसम्म विवाद घर र टोलमै सीमित थियो। तर यो झगडापछि इलमपारूथीको अहम र इगोको पारो यति चढ्छ, उनले सोच्दै नसोचेको कदम चाल्छन्।
उनी आफ्नी छोरीलाई लिएर प्रहरीकहाँ जान्छन् र ईश्वरविरूद्ध उजुरी दिन्छन्।
यसपछि कथा झन् गम्भीर हुँदै जान्छ। दुर्घटना र तनाव बढ्दै जान्छ।
फिल्मले यस्तो मोड लिँदै जान्छ, दर्शकलाई नै कसरी यस्तो भयो भनेर अचम्म लागिरहन्छ।
सानो कुरामा सुरू भएको विवादकै जगमा उभिएर समाजका नजरमा भलाद्मी भएका यी दुई पुस्ताका पुरूषहरूले अकल्पनीय कदम चाल्छन्।
उनीहरूको हर्कतले दुवैको पूरै परिवारलाई कस्तो पार्छ?
यो जान्न फिल्म नै हेर्नुहोला।