गुड फ्राइडे सिनेमा
सुपरस्टार नभनिए पनि भारतीय अभिनेता इरफान खानका धेरै प्रशंसकका नजरमा उदाउँदा 'स्टार' थिए। टेलिशृंखलादेखि बलिउड-हलिउड फिल्म, जापानी मिनी-सिरिजसम्म उनले आफ्नो दमदार अभिनय देखाएर दर्शकको मन जिते।
सन् २०१८ अप्रिलमा उनको निधन भयो।
भारतीय सिनेमामा उनलाई यस्तो अभिनेताका रूपमा याद गरिन्छ, जो सानो भूमिका समातेर पर्दामा आए, र ठूल्ठूला भूमिकावालाहरूलाई मात खुवाए। उनको परिचयसँग उनले खेलेको पात्रको लम्बाइ कहिल्यै जोडिएन। भूमिका जतिसुकै छोटो होस्, उनी आफ्नो अभिनयबाट पात्रको वजन बढाइदिन्थे। कुनै कुनै फिल्म त उनकै कारणले पनि चर्चामा आयो, भलै त्यसमा उनको भूमिका सह-अभिनेताकै किन नहोस्!
'द वारियर, गुनाह, हासिल, मकबूल, चरस, लाइफ इन अ मेट्रो, पानसिंह तोमर, हैदर, डी-डे, किस्सा, द सङ अफ स्कोर्पियन्स, तलवार, पिकू, करिब करिब सिंगल, हिन्दी मिडियम, कारवां, ब्ल्याक-मेल' लगायत अधिकांश फिल्ममा उनले यादगार भूमिका निर्वाह गरेका छन्। दर्शक र समीक्षकको प्रशंसा बटुलेका छन्। उनको अन्तिम फिल्म भने 'अंग्रेजी मिडियम' हो।
इरफान हलिउडमा समेत भारतको प्रतिनिधित्व गर्ने अब्बल अभिनेताका रूपमा चिनिएका थिए।
आजगुड फ्राइडे सिनेमामा हामीले युट्युबमा सहजै हेर्न मिल्ने उनको फिल्म 'ब्ल्याक-मेल' सिफारिस गरेका छौं।
ब्ल्याक-मेल 'स्लिपर हिट' भएको फिल्म हो। अर्थात् सुरूमा खासै नचलेको तर पछि हिट भएको। यसमा इरफान खानका साथै कीर्ति कुलहारी, अरूनोदय सिंह र दिव्या दत्तको प्रमुख भूमिका छ।
फिल्ममा इरफानले तीस उमेर हाराहारीका देव नामको युवकको भूमिका निर्वाह गरेका छन्। सात वर्षअघि उनको बिहे भएको हुन्छ। उनकी श्रीमती गृहिणी हुन्छिन्। देव भने ट्वाइलेट पेपर बनाउने एक कम्पनीमा काम गर्छन्।
अफिसको काम र आफ्नै जिन्दगीमा पनि उनको कुनै लगाव हुँदैन।
यहीबीच एक दिन उनले आफ्नी श्रीमतीको अर्कैसँग सम्बन्ध भएको थाहा पाउँछन्। आँखैले सबै कुरा देख्दा पनि उनी केही गर्न सक्दैनन्। निरीह उनी श्रीमतीका ब्वाइफ्रेन्ड रन्जितको पिछा गर्छन्।
उनले थाहा पाउँछन् — रन्जित धनाढ्य परिवारका ज्वाइँ हुन्, डली वर्माका श्रीमान हुन्।
यसपछि देवले रन्जितसँग बदला लिने ठान्छन् ब्ल्याक-मेल गर्छन्।
रन्जितलाई देवका बारेमा केही थाहा हुँदैन। उनले देवले मागेजति पैसा दिन्छन्।
रन्जितले पैसा दिएपछि यो खेल सकिने गरी देवले चाल चलेका हुन्छन्। तर घटनाले यस्तो मोड लिन्छ, पैसा माग्ने र दिने सिलसिला रोकिँदैन।
देवले रन्जितलाई ब्ल्याक-मेल गर्न सुरू गरेका हुन्छन्, परिस्थिति यसरी उल्टिन्छ, देव नै चारतिरबाट ब्ल्याक-मेलमा पर्दै जान्छन्। यति मात्र होइन, देवकी श्रीमती, अफिका साथी पनि यसमा मुछिन्छन्।
अर्कातिर रन्जितको समस्या पनि थपिँदै जान्छ। श्रीमती र ससुराको चपेटामा परेका उनी हतासिएर अनेक गलत काम गर्न थाल्छन्। समस्याको ठूलो भूमरीमा पर्छन्।
अब यो गोलचक्करबाट देव कसरी उम्केलान्?
के उनले श्रीमतीलाई आफूले उनको अफेयर थाहा पाएको कुरा भन्लान्?
यो भूमरीमा रन्जितको के हुन्छ? उनकी श्रीमतीले सबै कुरा थाहा पाए के गर्लिन्?
यो सबै जान्न फिल्म ब्ल्याक-मेल हेर्नुहोला।