गुड फ्राइडे सिनेमा
कोही कलाकारको अभिनय यति दमदार हुन्छ, त्यसले फिल्मको स्तरमा एक इँटा थपिदिन्छ। यस्तै कलाकार हुन् विनय पाठक र रणवीर सुरी।
यी दुईको कुशल अभिनयले रोचक बनाउन सफल फिल्म हो '४२० आइपिसी'।
ठगी अपराध र अदालती कारबाहीको कथा भन्ने फिल्ममा रोहन मेहरा र गुल पनागको पनि उत्तिकै सुन्दर प्रस्तुति छ।
फिल्म वंशी केशवानी (विनय पाठक) को कथामा केन्द्रित छ। उनी एक चार्टर्ड एकाउन्टेन्ट हुन्। सरकारी कर्मचारी सन्दीप भोस्लेको परिवारको बैंकिड हिसाब किताबको लेखाजोखा वंशीले राख्छन्।
वंशीको परिवार सामान्य हुन्छ। उनी श्रीमती पूजा (गुल पनाग) र एक छोरासँग बस्छन्।
चार्टर्ड एकाउन्टेन्ट भए पनि उनी आर्थिक समस्यासँग जुधिरहेका हुन्छन्। उनको घर धितोमा राखिएको छ। बैंकका मान्छेले बारम्बार किस्ता तिर्न ताकेता गरिरहेका हुन्छन्। लामो समयसम्म किस्ता नतिरेपछि घर खाली गर्न बताइएको हुन्छ।
यही समस्या गनथन गर्दागर्दै उनको घरमा सिबिआई अधिकारीहरू छापा मार्न आउँछन्। वंशी र पूजाले विन्तीभाउ गर्दै किन आएको, घरमा केही छैन भनेर भनिरहन्छन्। तर सिबिआईका मान्छे केही नभनी, नसुनी खोजतलास गर्छन्।
उनीहरूले घरमा केही भेट्दैनन्। अन्तिममा वंशीलाई लिएर जान्छन्।
सिबिआई कार्यालयमा पुगेपछि बल्ल वंशीले आफू किन समातिएँ भन्ने थाहा पाउँछन्।
उनका ग्राहक सन्दीप भोस्ले सरकारको १२ सय करोड भारू ठगी र भ्रस्टाचार आरोपमा पक्राउ परेका हुन्छन्। वंशीले उनको पारिवारिक खाताको हिसाब किताब हेर्ने हुँदा पक्राउ गरिएको हुन्छ।
पछि उनले सफाइ पाउँछन् र उनको नियमित दैनिकीमा फर्किन्छन्।
केही महिनापछि उनी फेरि पक्राउ पर्छन्। यसपालि उनीमाथि चेक चोरीको आरोप लाग्छ। उनले काम गर्ने निर्माण कम्पनीका मालिक निरज सिन्हाका तीनवटा चेक हराएका हुन्छन्। खोज्दै जाँदा ती चेक वंशीको अफिसमा, उनकै फाइलमा भेटिन्छन्।
यसपछि वंसीलाई जेल चलान गरिन्छ। उनको मुद्दा अदालतमा जान्छ।
उनको मुद्दा लड्ने वकिल वीरबल चौधरी (रोहन मेहरा) हुन्छन्। त्यस्तै निरज सिन्हाका तर्फबाट लड्ने वकिल हुन्छन् शवक जम्शेदी (रणवीर सुरी)।
यसपछि फिल्म अदालतको कारबाहीमा अगाडि बढ्छ। वीरबल वंशीलाई निर्दोष सावित गर्न लागि पर्छन्। यस क्रममा उनले यस्ता तथ्य फेला पार्छन्, जसले उनलाई चकित पार्छ।
के वंशी आफैले चेक चोरी गरेका थिए? नभए कसले गरेको थियो?
के वंशी निर्दोष सावित भएर छुट्छन् वा उनी अझ ठूलो मुद्दामा फस्छन्?
के उनका वकिल वीरबलले सत्यतथ्य थाहा पाइसकेपछि पनि उनका लागि लडिरहन्छन्? वा उनले पनि नयाँ चाल चल्छन्?
विपक्षी वकिल शवकको यसमा के भूमिका हुन्छ?
आखिर वंशीको यथार्थ के हुन्छ?
यसका लागि फिल्म ४२० आइपिसी हेर्नुहोला।
रोचक र रहस्यमयी कथा मनपर्ने दर्शकलाई यो फिल्म राम्रो खुराक हुन सक्छ।
हेर्नुहोस् युट्युबमाः