गुड फ्राइडे सिनेमा
कुनै कुनै सिनेमा यस्ता हुन्छन्, जसले मनोरञ्जनसँगै मिठो अनुभूति दिन्छन्। जीवन र जीवन अनुभवहरूलाई बेग्लै तरिकाले हेर्न सिकाउँछन्। नजरअन्दाज गरिएका सामान्य कुराहरूको पनि महत्त्व बुझाइदिन्छन्।
यस्तै सिनेमा हो '८ ए.एम. मेट्रो।'
यो दुई अनौठा साथीबीचको अनौठो कथा हो।
साथी पात्रमध्येकी एक हुन् इरावती।
उनी आफ्ना श्रीमान, एक छोरा र एक छोरीसँग बस्छिन्। उनको दैनिकी सामान्य हुन्छ। बिहान उठ्यो, खाना-खाजा पकायो, छोरीछोरालाई स्कुल पठायो, श्रीमानलाई अफिसका लागि बिदा गर्यो।
फुर्सदको समयमा उनले आफ्ना लागि खास गरी दुइटा काम गर्छिन्; कविता लेख्ने र स्वादिलो कफी बनाएर चुस्की लिने।
मिठो कफी पिउँदै कविता लेख्नु सोख हो।
एक दिन अचानक इरावतीलाई आफ्नी बहिनीको फोन आउँछ। गर्भवती उनकी बहिनी अस्पतालमा भर्ना भएकी हुन्छिन्। उनलाई बहिनीले अस्पतालमा आफू एक्लै भएको बताउँछिन्। श्रीमान अमेरिका गएको उनले बताउँछिन्।
इरावती र उनकी बहिनी रियाका आमाबुबा हुँदैनन्। त्यसैले इरावती नै बहिनीको हेरचाह गर्न हैदरावाद जानुपर्ने हुन्छ।
उनका श्रीमान कामको चाप छाडेर जान सक्दैनन्। इरावतीलाई एक्लै जाऊ भन्छन्। तर इरावतीलाई रेल चढ्न भनेपछि सातो जान्छ। सातो जाने मात्र होइन, उनको होसहवास नै उड्छ।
यसका पछाडि खास कारण हुन्छ।
कसैगरी विकल्प नभएपछि इरावती रेल चढ्छिन्। उनलाई चिडचिड पसिना आउँछ, दिमाग शून्य हुन्छ। दुई हातले ट्रेनको ह्यान्डल जोडले समात्छिन्। मन भुलाउन कविता लेख्छिन्। जसोतसो उनी हैदरावाद पुग्छिन्।
बहिनीले उनलाई आराम गर्न घर जान भन्छिन्। तर इरावतीको डर सकिएको हुँदैन। घर र अस्पताल आवतजावत गर्न दिनकै मेट्रो चढ्नुपर्ने हुन्छ।
उनी स्टेसन पुगे पनि चढ्ने हिम्मत हुँदैन। उनी रिंगटा लागेर ढल्नै लाग्छिन्। त्यही बेला उनी प्रितमसँग ठोक्किन्छिन्। प्रितमले उनलाई पानी दिन्छन्।
त्यसपछि उनीहरू सँगै मेट्रो चढ्छन्। इरावतीको डर कम भएको थिएन। प्रितम इरावतीलाई नियालिरहन्छन्।
भोलिपल्ट बिहान ८ बजे मेट्रो स्टेसनमा इरावती उस्तै हालतमा हुन्छिन्। प्रितम उनको नजिकै गएर कुराकानी गर्न सुरू गर्छन्।
यसपछि मेट्रोसँगै फिल्म ८ ए.एम. मेट्रोको कथा सुरू हुन्छ।
आखिर इरावती मेट्रो चढ्न किन डराउँछिन्?
इरावती र प्रितमको मित्रता कहाँसम्म पुग्छ?
दर्शकका यस्ता खुलदुली फिल्मले मेटाउँछ। योसँगै केही रहस्यहरू खुल्छन् जसले फिल्मका पात्रसँगै दर्शकलाई पनि अचम्मित बनाउँछन्।
आज गुड फ्राइडे सिनेमामा आज हामीले तपाईंहरूलाई यही फिल्म सिफारिस गरेका छौंः