गुड फ्राइडे सिनेमा
इतिहासका कतिपय सत्य–तथ्य घटना पनि काल्पनिक कथासरह लाग्छन्। पहाड चिरेर बाटो निकाल्ने दशरथ माझीको वास्तविक जीवन पनि त्यस्तै एउटा कथा हो।
आफ्नी श्रीमतीको वियोगको पीडामा २२ वर्ष लगाएर पहाड फोडेर बाटो निकाल्ने अविश्वसनीय पात्र हुन्, दशरथ माझी।
भनिन्छ, दशरथ माझीले आफ्नी श्रीमतीलाई अस्पताल लाने क्रममा उनको गाउँ र अस्पतालबीचको पहाड बाधक बनेको थियो। यही पहाडका कारण उनकी श्रीमतीको समयमा उपचार हुन सकेन र मृत्यु भयो। यो घटनाले पारेको आघातपछि दशरथले पहाडसँग बदला लिने दुस्साहस गरे।
करिब २२ वर्षको अथक प्रयासपछि उनले पहाड फोडेर बाटो निकाले। उनको यो कामले पूरै गाउँको आवतजावतमा कायापलट ल्याइदियो। उनी राष्ट्रिय 'हिरो' बने।
निर्देशक केतन मेहताले बिहार गेलोर गाउँका यिनै पात्रको दुस्साहसमा आधारित फिल्म बनाए, 'माझीः द माउन्टेन म्यान'। फिल्ममा दशरथको भूमिकामा नवाजुद्दिन सिद्दिकी र उनकी श्रीमतीको भूमिकामा राधिका आप्टेको अभिनय छ।
काल्पनिक पात्रको चरित्रमा प्राण भर्ने अभिनेता नवाजुद्दिनले वास्तविक पात्र दशरथ बन्न दिलोज्यान लगाएका थिए। उनी दशरथले पहाड फोडेर बाटो निकालेको ठाउँमा घन्टौं टोलाएर बिताउँथे। चरित्रलाई पर्दामा ब्युँत्याउने उनको यो प्रयास दर्शकले महशुस गर्छन्। त्यसैले उनको अभिनयले सर्वत्र प्रशंसा बटुलेको थियो।
तथाकथित दलित समुदायको भएकाले गाउँमा ठालुको शोषण र जीवनमा पारिवारिक वियोग भोगेका दशरथ बनेका नवाजुद्दिन कलिलो उमेरदेखि वृद्ध अवस्थासम्म फरक हुलियामा देखिन्छन्।
भनिन्छ, मान्छेको निर्णय चट्टानजस्तै बलियो हुनुपर्छ। दशरथ माझीको निर्णय चट्टानभन्दा बलियो लाग्छ। फिल्मको कथाजत्तिकै बलियो छ, फिल्मको संवाद।
फिल्ममा भएका धेरैमध्ये एउटा चर्चित डायलग हो- शानदार, जबर्जस्त, जिन्दाबाद!
'माझीः द माउन्टेन म्यान' हेरिसकेपछि तपाईंले पनि पक्कै भन्नुहुनेछ- शानदार, जबर्जस्त, जिन्दाबाद!
भिडिओ हेर्न Watch on Youtube मा क्लिक गर्नुहोस्।