गुड फ्राइडे सिनेमा
साइकोलोजिकल थ्रिलर फिल्मको यस्तो विधा हो, जसलाई नरूचाउने दर्शक कमै हुन्छन्। यस्ता फिल्मले दर्शकलाई बाँधेर राख्छ। फिल्म अवधिभर अब के हुन्छ भन्ने उत्सुकता कायम राख्छ।
आज हामी तपाईंलाई यस्तै फिल्म सिफारिस गर्दैछौं – अथिरनः प्यारका कर्म।
मलयालय भाषाको यो फिल्मको कथा एक घरबाट सुरू हुन्छ जहाँ चार जना व्यक्तिको मृत्यु भएको हुन्छ।
एक दिन लक्ष्मी आफ्नो दाइको घरमा आउँछिन्। त्यहाँ उनले आफ्ना तीन जना दाइ र भाउजूको मृत्यु भएको देख्छिन्। छेउमै हुन्छिन् नित्या।
उनी हातमा धागोको टुक्रा खेल्दै बसिरहेकी हुन्छिन्। उनको मानसिक अवस्था ठीक हुँदैन। यस्तो अवस्थामा उनी नै हत्यारा ठहरिन्छिन्।
लक्ष्मीले नित्यालाई एक मानसिक अस्पतालमा छाड्छिन्। त्यसपछि फिल्मको कथा ५ वर्षपछि धकेलिएको छ। मनोचिकित्सक डा. कन्नन नायर एक मानसिक अस्पतालमा निरीक्षण गर्न आएका हुन्छन्। नित्या त्यहीँ हुन्छिन्।
यो अस्पताल घना जंगलको बीचमा हुन्छ। अस्पतालमा केही बिरामी, केयरटेकर रेनुका र डाक्टर बेन्जामिन बस्छन्। बेन्जामिन त्यहाँको डाक्टरसँगै मालिक पनि हुन्।
नायरले अस्पतालका सबै बिरामी अवलोकन गरेपछि डाक्टर बेन्जामिनमाथि प्रश्न गर्छन्। बेन्जामिनको उपचार विधि ठीक नभएको उनी बताउँछन्। उनको रेकर्डमा पाँच जना बिरामी हुन्छन् जसमा नित्यालाई सामेल गरिएको हुँदैन।
तर उनले त्यहाँ अर्का बिरामी पनि भएको थाहा पाउँछन्।
नित्या एउटा बन्द कोठामा हुन्छिन्। बेन्जामिनले नित्यालाई आफ्नी छोरी भनेर चिनाउँछन्। तर नित्या उनकी छोरी नभएको प्रमाण डा. नायरको हात पर्छ। यी प्रमाण जम्मा गर्दै गर्दा उनीमाथि हत्याको प्रयास भइरहन्छ।
नित्याले आफ्नो विगत बिर्सिसकेकी हुन्छिन्। अरू बिरामीले नित्यालाई अस्पतालबाट लैजानू भनेर डा. नायरलाई अनुरोध गर्छन्।
आखिरमा नित्याप्रति उनीहरूले किन दयाभाव देखाएका हुन्छन्?
के डा. नायर नित्यालाई त्यहाँबाट लैजान सफल हुन्छन्?
नित्याले हत्या गरेका चार जनाको सत्यकथा के हुन्छ?
यसका लागि फिल्म अथिरनः प्यारका कर्म हेर्नुहोला।
सन् २०१९ मा प्रदर्शन भएको यो फिल्मलाई केही समीक्षकले ५ मा ४ स्टार रेटिङ दिएका थिए। केहीले फिल्मको प्रस्तुति र निर्माणमा आलोचना गरे पनि कथावस्तुमा यसले प्रशंसा पाएको थियो। साइकोलोजिकल थ्रिलर कथा रूचाउने दर्शकलाई अथिरनले निराश पार्दैन।
फिल्ममा साई पल्लवी, फहद फासिल, अतुल कुल्कर्णी, रेन्जी पानिकेर लगायत कलाकारको अभिनय छ।
फिल्म हेर्न watch on youtube मा क्लिक गर्नुहोस्।