गुड फ्राइडे सिनेमा
यो चार जना दाजुभाइको जीवनमा आउने उथलपुथल र उतारचढावको कथा हो।
साजी, बोनी, बबी र फ्र्यांकी केरलाको कोचीस्थित कुम्बलंगी गाउँमा बस्छन्। उनीहरूको जीवन सहज हुँदैन। सानो घरमा अस्तव्यस्त जीवन बाँचिरहेका हुन्छन्।
साजीका बुबाले बोनीकी आमालाई बिहे गरेका हुन्छन्। त्यसपछि बबी र फ्र्यांकी जन्मेका हुन्छन्।
उनीहरूका बुबाको मृत्यु भएपछि आमाले पनि छाडेर जान्छिन्। त्यसपछि घरको हर्ताकर्ता साजी हुन्छन्। तर उनको रिसको पारा चाँडै तात्ने समस्या छ। विशेषगरी बबीसँगै उनी झगडा गरिरहन्छन्।
उनीहरूको झगडा र बेहोरा देखेर फ्र्यांकीलाई दिक्क लाग्छ। बोनी भने बोल्न नसक्ने हुन्छन्। फ्र्यांकी बोनीसँग भने मिल्छन्।
बबी आफ्नो घर नजिकैका बेबीलाई मनपराउँछन्। बेबीलाई बिहेको प्रस्ताव राखिरहन्छन्। बेबीले घरपरिवार भेटेर कुरा गर्ने भनेपछि बबी साजीलाई लिएर पुग्छन्। बेबीका दाइ सम्मीले बेरोजगार र गरिब बबीसँग आफ्नी बहिनीको बिहे नगरिदिने भन्छन्।
यसपछि साजीले बबीलाई जागिर खान भन्छन्। बबीले काम पनि थाल्छन्।
उता बोनी एक अमेरिकीको प्रेममा परेका हुन्छन्। बेबी र सम्मीले चलाइरहेको होमस्टेमा ती अमेरिकी महिला पर्यटक बनेर आएकी हुन्छिन्।
यस्तैबीच एक दिन साजी र फ्र्यांकीबीच झगडा पर्छ। बोनीले त्यही क्रममा साजीलाई हिर्काउँछन्। साजी घर छाडेर हिँड्छन्। उनी आफ्ना साथी विजयसँग मिलेर रक्सी पिउँछन्।
मदिराले लठ्ठ साजी आत्महत्या गर्न तम्सिन्छन्।
यसपछि फिल्म 'कुम्बलंगी नाइट्स' को कथाले नयाँ मोड लिन्छ।
साजीको अवस्था के होला? विजयको भूमिका उनको जीवनमा के हुन्छ?
साजीका भाइहरूको जीवन कसरी अगाडि बढ्छ? के अमेरिकी महिलासँगको बोनीको प्रेम सफल होला? बबी र बेबीको नि?
मलयालम फिल्म कुम्बलंगी नाइट्समा दाजुभाइको जीवनको उतारचढावलाई सुन्दर तरिकाले देखाइएको छ।
श्याम पुश्करनको पहिलो निर्देशनमा बनेको यो फिल्मले समीक्षकहरूबाट निकै प्रशंसा पाएको थियो।
सन् २०१९ मा रिलिज भएको कुम्बलंगी नाइट्सलाई थुप्रै सञ्चारमाध्यमले 'दशककै उत्कृष्ट मलयालम फिल्म' भनेका छन्।
बक्सअफिसमा पनि राम्रो कमाइ गरेको यो फिल्मले थुप्रै अवार्ड पनि जितेको छ।