गुड फ्राइडे सिनेमा
आजको शुक्रबार तपाईं हल्काफुल्का र कमेडी फिल्म हेरेर रमाइलो गर्न चाहनुहुन्छ भने राम्रो विकल्प हो 'मालामाल विक्ली'।
बलिउडमा कमेडी फिल्म बनाउने नामी निर्देशकमध्ये एक हुन् प्रियदर्शन। तपाईंले प्रियदर्शनका अरू कुनै फिल्म नहेरेको भए पनि अक्षय कुमार, सुनील शेट्टी र परेस रावलको 'हेराफेरी' त पक्कै हेर्नुभएको छ।
हेराफेरी भनेको त्यही फिल्म हो जसले एक्सन हिरोका रूपमा नाम बनाएका अक्षय कुमारको करिअर नै कमेडीमा धकेलिदियो। अनि खलपात्रको भूमिकामा जमेका परेस रावललाई सुपर कमेडी अभिनेता बनायो।
तिनै प्रियदर्शनले निर्देशन गरेको, हेराफेरी जत्तिकै उम्दा कमेडी फिल्म हो मालामाल विक्ली जसमा परेस रावलकै मुख्य भूमिका छ। यसमा उनलाई बलियो साथ दिएका छन् अभिनेता ओम पुरी, असरानी र शक्ति कपुरले। त्यस्तै राजपाल यादवलाई पनि यही फिल्मले बलिउड कमेडीमा जमाएको हो।
यो फिल्ममा परेस रावल, ओम पुरी र राजपाल यादवको जस्तो कमेडीको त्रिकोणात्मक संगम अरू कुनै पनि बलिउड फिल्ममा देख्न पाइँदैन।
फिल्ममा लाहोली गाउँको सेट छ।
परेस रावलका चिठ्ठा बेच्ने मानिस हुन्छन्। उनको रोजीरोटी त्यसैबाट चल्छ। चिठ्ठावापत् कसैलाई बम्पर पुरस्कार पर्यो भने उनले कमिसन पनि पाउँछन्। तर उनले बेचेका टिकटबाट पचास, सय रूपैयाँभन्दा धेरै पुरस्कार नै परेको हुँदैन।
एक दिन भने उनकै जीवनमा बम्पर पुरस्कार आइपर्छ, उनले बेचेको टिकटबाट एक जना व्यक्तिले एक करोड रूपैयाँको लट्री जित्छन्।
यो खबर पाएपछि परेस रावलको खुसी हुँदै आफूले टिकट बेचेका मान्छेलाई सुनाउन जान्छन्।
तर जसै उनी ती व्यक्तिको घर पुग्छन्, परेस रावलले देख्छन्, पुरस्कार पर्ने मान्छे त खुसीले उहिल्यै मरिसकेका हुन्छन्।
अब परेसलाई एकछिन बित्यास पर्छ।
एक करोड रूपैयाँ पुरस्कार परेको छ,आफ्नो कमिसन पनि छ, तर लिने कसरी?
यहीँनिर उनले एक जुक्ति लाउँछन्।
उनको त्यो जुक्तिले काम गर्ला? उनले त्यो पैसा सजिलै पाउलान् वा अनेक हन्डर र झमेला खेप्नुपर्ला?
कि उनको जीवनमा एकपटक आएको अवसर पनि यसै खेर जाला?
यी सबैका लागि हेर्नुहोस् मालामाल विक्ली।
दर्शकलाई भरपुर मनोरञ्जन दिने यो फिल्मले पैसाको आशक्तिले कसरी मानिसलाई सताउँछ भन्ने सन्देश पनि दिएको छ।
तत्कालीन समयको सुपरहिट सूचीमा दर्ज यो फिल्म जम्मा सात करोड भारूमा बनेको हो। यसको कमाइ भने ४३ करोड भारू छ। समीक्षकहरूले पनि यो फिल्मको धेरै प्रशंसा गरेका थिए।
पछि प्रियदर्शनले यो फिल्म कन्नड, मलयालम, तेलगू भाषामा पनि बनाएका थिए।
हेर्नुहोस् युट्युबमाः