गुड फ्राइडे सिनेमा
एक सयवटा भन्दा बढी फिल्ममा काम गरिसकेका अनिल कपुरले बलिउडमा ४५ वर्ष बिताइसकेका छन्। यो अवधिमा उनले कयौं हिट फिल्म खेलेका छन्।
हाल ६७ वर्षका अनिल अहिले पनि आफ्नो 'फिटनेस' का कारण चर्चामा छन्। फिल्मी करिअरमा उल्लेख्य विश्राम नलिइ निरन्तर काम गरिरहेका अभिनेता हुन् उनी।
उनी सन् १९७९ मा 'हम तुम्हारे' फिल्ममा सानो भूमिका खेलेर बलिउड प्रवेश गरेका थिए। पछिल्लो समय ऋतिक रोशन र दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्म 'फाइटर' मा देखिएका थिए।
गम्भीर कथाको चरित्र अभिनेतादेखि एक्सन, कमेडी, थ्रिलर, रोमान्स, हरर जस्ता सबै विधामा जमेका अनिललाई धेरैले 'गम्भीर अभिनेता' पनि भन्छन्। यसको कारण हो, उनी आफ्नो जुनसुकै भूमिकाका लागि पनि अत्यधिक मेहनत गर्छन्। सामान्य अभिनय वा मेहनतमै सकिने दृश्य वा भूमिकामा पनि उनको मेहनत रत्ति कम हुँदैन।
उनी हलिउडमा समेत आफ्नो प्रभाव छाड्न सफल भारतीय अभिनेता हुन्।
अनिलले आफ्नो करिअरमा थुप्रै अवार्ड पाएका छन्। दुइटा नेसनल अवार्डसहित तीन दर्जन अवार्डबाट सम्मानित अनिलको अभिनय रफ्तार अझै धिमा भएको छैन भन्दा फरक पर्दैन।
यिनै अनिलका सुपरहिट फिल्ममध्ये एउटा आज हामीले गुड फ्राइडे सिनेमामा सिफारिस गरेका छौं।
फिल्मको प्लट यस्तो छ-
शक्ति (अनिल) आफ्नी प्रेमिका अनिता (पूजा बत्रा) सँग लन्डनबाट भारत आउँछन्। आफ्नो सानो गाउँ घुम्दै गर्दा उनले जे दृश्यहरू देख्छन् र भोग्छन्, ती सबैका कारण उनलाई त्यहाँ बसिरहन मन लाग्दैन। उनी लन्डन फर्किने निधो गर्छन्।
उनका बुबा राजा ठाकुर (अमरिश पुरी) छोरो नजाओस् भन्ने चाहन्छन्। आफू गाउँको ठाकुर भएकाले पढेलेखेको छोराले गाउँका निम्ति काम गरोस् भन्ने उनको चाहना हुन्छ।
शक्ति भने अनितालाई लन्डन पठाइदिएर आफू केही दिनमा जाने तयारी गर्छन्। लन्डन फर्किर अनितासँग बिहे गर्ने उनको योजना हुन्छ।
तर एक दिन गाउँमा यस्तो घटना हुन्छ, जसले शक्तिको जीवन आनका तान बदलिन्छ।
शक्ति दोधारमा पर्छन्, एकपटक होइन बारम्बार।
के शक्ति लन्डन फर्किन सक्लान्? अनितासँग उनको बिहे होला? वा नियतिले उनको बाटो अर्कैतिर मोडेको छ?
यसका निम्ति हेर्नुहोस् फिल्म 'विरासत'।
१५ वटा अवार्ड जित्न सफल विरासत तत्कालीन समयको सुपरहिट फिल्म हो। कमल हसनले लेखेको विरासत तमिल फिल्म 'थेभर मगन' को रिमेक हो।
(फिल्म हेर्न watch on youtube मा क्लिक गर्नुहोला।)