गुड फ्राइडे सिनेमा
सन् २००२। यो बेला जर्ज डेभिड स्कुल पढ्दै गरेका किशोर हुन्छन्। आफूले चर्चमा देखेकी किशोरी मेरीलाई मन पराउँछन्। एकै स्कुल र गाउँका भए पनि जर्जले मेरीलाई आफ्नो मनको कुरा भन्न सकिरहेका हुँदैनन्।
कहिले स्कुलमा त, कहिले बाटामा, कहिले घरै पुगेर त कहिले चिठी दिएर, अनेक गर्दा पनि मेरीलाई प्रेम प्रस्ताव राख्ने उनको प्रयास सफल भइरहेको हुँदैन।
एक दिन उनलाई मौका पर्छ। जसै उनी मेरीलाई मनको कुरा भन्न लागेका हुन्छन्, उनले थाहा पाउँछन् मेरी अर्कैलाई मनपराउँछिन्।
सन् २००५ को समय।
जर्ज कलेज पढ्ने भइसकेका छन्। उनी कलेजमा खासै अनुशासित हुँदैनन्। आफ्ना स्कुलदेखिका दुई साथीसँग मिलेर दादा पल्टेर बसेका हुन्छन्।
एक दिन जुनियर विद्यार्थीलाई चिढ्याउने क्रममा उनको भेट मलारसँग हुन्छ। विद्यार्थी भन्ठानेर जर्जले उनलाई पनि जिस्काउँछन्, तर मलार कलेजकी लेक्चरर हुन्छिन्।
यसपछि जर्जको व्यवहार बदलिन्छ। उनी मलारलाई मनपराउन थाल्छन्। मलारले पनि उनलाई मनपराउँछिन्।
तर एक दिन फेरि जर्जको प्रेमको डुंगा डुब्छ।
सन् २०१६। जर्ज तीस वर्षका भइसकेका हुन्छन्। प्रेमको असफलताको पीडा उनीभित्र गुम्सिरहेको हुन्छ। आफ्नो साथीसँग मिलेर बेकरी क्याफे चलाइरहेका हुन्छन्। एक दिन उनको क्याफेमा एउटी युवती आउँछिन्।
ती युवती उनीभन्दा उमेरमा केही सानी हुन्छिन्। सुरूमा जर्जले उनलाई चिन्दैनन्, तर ती युवतीसँग उनको धेरै पुरानो सम्बन्ध हुन्छ।
अनि तिनै युवतीमार्फत् जर्जको प्रेम जीवनको पूरा चक्र घुम्छ।
यो चक्र घुम्दा कस्ता कस्ता मोड आइपर्छन्? जर्जको असफल प्रेमको शृंखला कसरी चलिरहन्छ वा टुंगिन्छ?
यसका लागि हेर्नुहोस् मलयालम फिल्म 'प्रेमम'।
सन् २०१५ मा रिलिज भएको प्रेमम सुपरहिट फिल्म हो जुन एक साधारण युवकको प्रेमकथा वरिपरि घुम्छ। तर यो प्रेमकथा मात्र होइन, एक मानिसको जीवनका चरण र आरोह-अवरोहको पनि कथा हो। यसको प्रस्तुति, अभिनय र कथा अब्बल छ। त्यसैले समीक्षकहरूले यसलाई रेटिङमा 'फाइभ स्टार' सम्म दिएका छन्।
जम्माजम्मी चार करोड भारूमा बनेको यो फिल्मले ७३ करोड भारू कमाएको थियो। सन् २०१५ मा सबभन्दा धेरै कमाउने मलयालम फिल्म यही हो। त्यस्तै हालसम्मै धेरै कमाउने मलयालम फिल्मको सूचीमा प्रेमम नवौं स्थानमा पर्छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
हेर्नुहोस् युट्युबमाः
(गुड फ्राइडे सिनेमाका अरू फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्)