गुड फ्राइडे सिनेमा
संसारको सिनेमा इतिहासमा प्रभावशाली निर्देशकको सूचीमा पर्ने नाम हो आन्द्रे तार्कोभस्की। उनका फिल्मका मुख्य विशेषता दृश्य परिकल्पना, सुस्त गतिमा कथा अगाडि बढ्ने, प्रकृतिको संयोजन लगायत हुन्।
उनले थुप्रै पटक कानमा अवार्डहरू जितेका छन्। भेनिस फिल्म फेस्टिभलमा पहिलो फिल्मबाटै अवार्ड पाएका थिए। आज पनि उत्कृष्ट निर्देशकको सूचीमा रसियाली तार्कोभस्कीको नाम छुट्दैन।
उनैले बनाएका तीन वटा फिल्म हालसम्मकै १०० उत्कृष्ट फिल्मको सूचीमा परेका छन्।
यिनै तीनमध्ये एक हो 'मिरर'।
सन् १९७५ मा रिलिज भएको 'मिरर' मूलधारका अरू सिनेमाभन्दा अलग छ। कथामा मात्र होइन, कथा भन्ने र प्रस्तुत गर्ने शैलीमा पनि।
फिल्मले तीन फरक कालखण्डको कथा भन्छ- युद्धअगाडि, युद्धका दौरान र युद्धपछाडिको समय।
तीनै कालखण्डका एक मुख्य पात्र एलेक्सी हुन्। यो कथा उनैले दर्शकलाई सुनाइरहेका हुन्छन्। तर कथा सुनाइरहेका एलेक्सी पर्दामा देखिँदैनन्।
मिररले एलेक्सीको भावना, सोच र यादहरूलाई समेटेको छ। तर उनीसँगै अरू पात्रका कथा पनि जोडिएर आउँछन्।
एलेक्सी बालक, युवा र चालीस वर्षको हुँदा उनको जीवनमा गाँसिएका सम्झना र मानिसहरूको कथा मिररले देखाउँछ।
यी तीन कालखण्डलाई फिल्मले रङ संयोजन र परिवेशबाट प्रस्ट्याएको छ। यसको कुनै क्रम वा सिलसिला भने छैन।
मिररलाई समीक्षकहरूले 'एक्स्ट्रा-अर्डिनरी' फिल्म भनेका छन्। कालजयी यो फिल्मको प्रस्तुतिको अहिले पनि प्रशंसा हुन्छ।
आज गुड फ्राइडे सिनेमामा हेर्नुहोस् मिरर। रसियन भाषाको यो फिल्म अंग्रेजी सबटाइटलमा हेर्न सकिन्छ। त्यस्तै अरू भाषामा डबिङ पनि फेला पार्न सक्नुहुन्छ।
(गुड फ्राइडे सिनेमाका अरू फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्)